देउडा गीतहरूले केवल कालीकर्णालीको मानव सभ्यताको मात्र पाठ सिकाएका छैनन्, समग्र मेची–महाकालीका गीतसंगीतका झरनाहरूको रैवार (खबर) पनि बोकेका छन्।
साउन पुनी मालिका मेला वादै बद्रीनाथ
प्रत्येक साल साउन महिनामा मालिका देवीको स्थानमा मेला लाग्ने गर्दछ। बडिमालिका बाजुरा जिल्लाको हिमाली भेगमा पर्छ। बाजुरा र बझाङको सिमानामा घोडी लेकको अग्लो धुरामा पनि मालिका भगवतीको शक्तिपीठ छ। शुद्ध भएर, जुत्ता चप्पल नलगाएर देवीको दर्शन गर्ने प्रचलन थियो कुनै बेला। अहिले जुत्ता चप्पलको प्रयोग हुन्छ। साउन महिनाको पूर्णिमा तिथिमा मेला लाग्ने हुँदा तीर्थालु एक महिना पहिलेदेखि नै चोखो खाने, शुद्ध आचरणमा बस्ने गर्दछन्।
मालिकाका पुजारी त अझ माछा मासु नखाने, सकभर आफैंले पकाएर खाने कुलिन परिवारको ब्राह्मण हुनुपर्छ भन्ने बूढापाकाको भनाइ छ। यो मेला भर्न सुदूरपश्चिम र कर्णाली प्रदेशका हुम्ला, जुम्ला र कालीकोटका भक्तजन पनि जाने गर्दछन्। छिपिली देवी हुन्, मालिका। आफूले चिताएको वर दिने देवीका रूपमा पुजिने भएकाले यो भेगमा मालिका देवीप्रति ठूलो आस्था छ। डोटी जिल्ला प्रशासनले नेपाल सरकारका तर्फबाट मालिका देवीका लागि पूजा सामग्री बर्सेनि श्रद्धापूर्वक पठाउँछ। जो कोही मालिका माईस्थान पुग्न पनि भूगोलका कारण कठिन हुन्छ।
भारतका धेरै तीर्थस्थलमध्ये बद्रीनाथ पनि एक हो। बद्रीनाथ तीर्थस्थल पुग्न पनि मालिकाजस्तै कठिन छ। तर मालिका पुग्न झनै कठिन छ, देउडा गीतले यही भन्छ। डोटी, डडेल्धुरा, बैतडी, कालीकोट बाजुरा आदि जिल्लाका मानिस कामको खोजीमा भारतको उत्तराखण्डका प्रत्येक जिल्लाका साथै हिमाञ्चल प्रदेशमा पर्ने सिमला पनि बर्सेनि गइरहन्छन्। परिवारका लागि नुन, तेल, खाद्यान्नको जो हो गरेर घर फर्कन्छन्। बद्री, केदार जाने तीर्थालुलाई पिठ्यूमा बोकेर तीर्थ गराउनुपर्ने हुँदा भारी बोक्न न डराउने नेपालीलाई भारतीयहरू वीर गोर्खा भन्ने गर्छन्। बद्रीनाथमा तीर्थालुहरू वादै (सधैंभरि) गइरहने तर मालिकास्थानमा वर्षको एक पटकमात्र जाने भएकाले गीतले यसरी भाव व्यक्त गरेको हो।
वर्षामासमा गाउने देउडा गीतहरू प्रशस्तै छन्। कयौं काव्यहरू सिर्जना गर्न सकिन्छ वर्षामासका देउडा गीतमा। प्रशस्त पानी पर्ने, खोला, नदी र गाड (नदीभन्दा केही साना जलाधार)हरूमा पानीको मात्रा बढ्ने कतै बाढी आएर वस्ती बगाउने, कतै पहिरोले खेतीपाती नष्ट गर्ने हुँदा वर्षामासमा देउडा गीत प्रकृति र संस्कृतिबाट उम्रने गर्छन्।
संस्कृत साहित्यका कविले उपमा कालिदासस्य भारवे अर्थ गौरवम्... भने जस्तै देउडा गीतमा धेरै अर्थ र उपमाहरू छन्। व्याकरणीय हिसाबले पनि ह्रस्व र दीर्घ शब्दको अर्थ फरक हुन्छ। स्वर्ण वर्ण र व्यञ्जन वर्णको उच्चारण पनि फरक हुन्छ। सामान्य रूपमा देउडा गीतको अर्थ बुझिँदैन। अत्यन्त समृद्धशाली साहित्य पनि भएकाले देउडा गीतले भारी अर्थ बुझाउँछ। अर्थ खोतल्दै जाँदा कतै साहित्यका सप्तरंगी इन्द्रेणीले रंग्याएको देखिन्छ त कतै साहित्यका नवरसले रूप देखाएको हुन्छ देउडा गीतमा। प्रत्येक महिना र सालको वर्णन देउडा गीतमा पाइन्छ। कवि शिरोमणि लेखनाथ पौड्यालको अमरकृति ‘ऋतु विचार’ लिखित काव्य हो। तर देउडा गीत अलिखित सङ्लो साहित्य हो। जस्मा प्रकृति, संस्कृति र समग्र जीवनको वर्णन गरिएको पाइन्छ।
देउडा गीतले समाजको भाषा बोल्ने हुँदा मानिसले देउडा गीतलाई औधी मन पराउने गर्दछ। केवल सेती महाकाली र कर्णाली प्रदेशमा मात्र नभएर सीमा पारिका कुमाउ, गडवालमा पनि देउडा संस्कृति जनजनमा लोकप्रिय छ। भाषा, शैली र प्रस्तुतिमा फरक छ तर भाव पक्ष एउटै भएकाले नवपिँढीमा देउडा संस्कृति अझ मौलाएको पाइन्छ। वर्षामासमा गाउने देउडा गीतहरू प्रशस्तै छन्। कयौं काव्यहरू सिर्जना गर्न सकिन्छ वर्षामासका देउडा गीतमा। प्रशस्त पानी पर्ने, खोला, नदी र गाड (नदीभन्दा केही साना जलाधार)हरूमा पानीको मात्रा बढ्ने कतै बाढी आएर बस्ती बगाउने, कतै पहिरोले खेतीपाती नष्ट गर्ने हुँदा वर्षामासमा देउडा गीत प्रकृति र संस्कृतिबाट उम्रने गर्दछन्।
प्रत्येक बस्तीमा यी लोकभाका जिब्रोमा झुन्डिराखेका हुन्छन्। जुन लोकभाकासँग देउडा गीतसंगीतको पनि गहिरो साइनो जोडिएको पाइन्छ। शब्द र भावका हिसाबले देउडाले विशिष्ट पहिचान राख्दछ। कुनै बेला लोकगायक बमबहादुर कार्की र शिवा आलेले गाउनुभएको लोकगीत ‘भुइँमा छौ कि नीरमाया रुखको डालीमा भेटै नहुने, खोलापारि नीरमाया वारि म रुने’ गीतले नेपालीपनको जीवनशैली सरल तरिकाले उतारेको पाइन्छ। बुझ्न कठिन लाग्दैन, लय र संगीत पनि माधुर्य छ।
यसैगरी रेखा शाह र प्रेमराजा महतले गाएको लोकप्रिय भाका ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ले लोकसंगीतमा पुर्याएको उचाइलाई कम आकलन गर्न मिल्दैन। बुझ्न कठिन छैन, कर्णप्रिय संगीत सुनौं सुनौं लाग्छ। माटोलाई हृदयमा राखेको भावपक्षको अजम्बरी गीत हो यो। जस्ले नेपालको हावापानी र भूबनोटलाई पनि सरल तरिकाले अथ्र्याएको पाइन्छ। शब्दहरू सजिलै गलामा अटाएकाले सुन्दा मीठो लाग्छ। गण्डकी, लुम्बिनी र राप्ती अञ्चलमा यी र यस्तै किसिमका सयौं भाकाले जनजीवनलाई प्रत्यक्ष मनोरञ्जनको सूचना प्रवाह गरिराखेका देखिन्छन्।
कुनै बेला पाण्डव सुनुवार र बासुदेव मुनालले गाएको लोकप्रिय गीत ‘ओलखढुंगा डाँडैडाँडा मयूरको भाले, माया लाउने मायालु त सबै रुन थाले कठै, मैले के गर्ने ?’ र पुराना पिँढीका आदरणीय गायक लक्ष्मी जोशी र गंगा राणाले ‘रिटिङ रिटिङ न बजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो...’ र ‘खोलापारि मैं माया लाउदिनँ, वर्षा लाग्यो आइरन पाउदिनँ, ऐयाया आक्काका साइँलादाइ’ गीतले कसको मन छुँदैन र ? सहजै अनुमान गर्न सकिन्छ। नेपालमा बिनायो बाजाको लोकप्रियताको वर्णन गरिनुका साथै जवानीमा साइँला दाइ र सान्नानी भनेर बोलाइने खालका शब्द र आपसमा बाँडिने लोकपरम्परा, वर्षामासमा आउने पानी र खोलानालाको उर्लंदो भेलका कारणले भेट गर्न नसकिने बाध्यता आदि कुरा गीतमा सरल तरिकाले व्याख्या गरिएको पाइन्छ। यी र यस्तै नेपाली जनजीवनका सयौं गीत र संगीतभन्दा वर्षामासका देउडा गीतमा निकै फरकपन पाइन्छ।
देशको सिमाना एउटै छ, मान्छेका अनुहारमा नेपालीत्व पोतिएको छ। आत्मीयता गाँसिएको छ तर भाषा, संस्कृति र गीतसंगीतको धरातल भिन्दाभिन्दै छ। तीन करोड जनसंख्या भएको हाम्रो मुलुकमा यस्तो भिन्दाभिन्दै विशेषता किन ? प्रश्न आउँछ। भन्न मन लाग्छ– एकता कायम गर्न सक्ने नेपाली ऋषिमुनिका सन्तान हौं, दैविक शक्तिले बाँचेका छौं। नेपाल देवभूमि भएका कारण हाम्रो भाषाभाषिका फरक भएता पनि संस्कृतको देववाणीबाट रूपान्तरित हुँदै आएको नेपाली भाषा संसारका उत्कृष्ट भाषामध्येको सर्वाेत्कृष्ट मातृभाषा हो। जुन शैली, संस्कृति, गीत र गाथालाई नेपालको हिमालले बचाएको छ। सुदूरपश्चिम र कर्णालीको भाषा नेपालको खस भाषा हो।
जुम्लाको सिन्जाबाट यो भाषिक संस्कृति र सभ्यताको जन्म भएको हो। देशभरि गाइने गीतहरू त नेपाल आमाका गर्भबाट आएका स्वर लहरी र मांगलहरू हुन् :
बरिखा मासको लाउन्या छिटुवाको जामा
तेरो रिथि मेरो कली काँ ग्यो भैंसी आमा।
वर्षामासमा छिटुवाको जामा लगाउने चलन थियो, कुनै बेला। सेतो कपडालाई छिपेर टल्काउनुलाई छिटुवा कपडा भनिन्छ। छिटुवा कपडा खुबै लोकप्रिय छ सुदूरपश्चिममा अहिले पनि। दूध दिने भैंसीलाई आमा भनिन्छ। भैंसी जंगलमा एक्लो छ। गीतांगी कल्पना गर्दै दुःख पोख्छ भैंसी आमासँग– तिम्रो मालिक र मेरो प्रेमी कता पुगे होलान् ? ल आफैं अर्थ लगाउनुहोस् देउडा गीतका यी भाव पक्षको :
कर्णालिउँदो लेदो बग्दो भेरी बक्दो फिन
बाल्कालैका बौला दुःख कैको खाया रिन।
वर्षामासमा कर्णाली नदीमा बाढी आयो। हिमालको हुम्लादेखि मालको टीकापुर, चिसापानीसम्म लेदो बगाएर ल्यायो। धान पाक्ने फाँटहरू लेदोले पुरिदियो, खेतीमा असर गर्यो। अर्काे ठूलो नदी भेरीमा साबुनको झोलजस्तै फिन बगिरहेछ। असमानता छ, नदीहरूमा पनि। जनजीवनलाई बाल्यकालदेखि बौला दुःख (धेरै दुःख) व्यहोर्नु परेको छ। धानखेतीमा बाढी पस्यो, पेट पाल्न मुस्किल पर्यो। जीवनभर अनेकन दुःख किन दोहोरिरहेछन् ? मिल्दोजुल्दो गीत :
पहाड पड्कन्या धारा जलेवा नान्नाकी
कैल्यै सुदिन् फर्कन्नाकी यसाइ दिन् झान्नाकी ?
वर्षामासमा जलेवा जातको चरा नदीका खोचमा, छाँगा छहरामा गुँड बनाएर बस्ने गर्छ। कतै कतै यो चरोलाई मलेवा र पानीचरो पनि भन्ने गरिन्छ। देउडा कविले चरोसँग आफूलाई तुलना गर्दै भन्छ– शुभदिनहरू कहिले फर्केलान् ?
वर्षामासको जलेवा चराको जस्तै दिन बितिरहेछन्। वर्षामासको गीतले गोठालेलाई सम्बोधन गर्दै भन्छ ः
गोठालो पापीको रन्या तल्लो पाखो चुन्या
न धेक्या धिर्जमन् हुन्या धेक्यापछि रुन्या।
यहाँ गोठालोलाई पापीको संज्ञा दिएको छ। खेतीपातीको र पशुपालनको समेत काम गर्ने कर्मशील मानिसलाई पापीको उपमा दिनु न्यायोचित होइन। एउटै अर्थ छ– अशिक्षा। स्कुलमा पढ्न नपाएपछि बाल्यकालदेखि भैंसीगोठालो लाग्नाका कारण पापी भनिएको रहेछ। माइती राजा कर्म घर नआएको, आएपछि माइतीघर सम्झेर रुन मन लाग्छ भनेको हो कविले। धिर्जमन् (स्थिर मन) भनेको कारण यही हो।
लेक्पानी वर्षन लाग्यो दाउरा बाल तारु
मन् राख्यै मन्दिर जसो जोवन राख्यै फारु।
वर्षामासमा लेकाली भागमा पानी परेपछि जाडो बढ्ने नै भयो। कविले तारु (कुनै पात्र)लाई आगो बाल्ने सल्लाह दिन्छ। तर भिजेको दाउराबाट धुवाँबाहेक आगो निस्कँदैन। निकै कोसिस गर्दा पनि आगो नबलेपछि मन खिन्न हुन्छ। पानीले भिजेको शरीर थररर काप्छ। साहस नगुमाएरै बाँच्नु छ। जीवनमा दुःखसुख आइपर्छन् नआत्तिएर जीवनलाई फारु (साँचिराख्नु) बनाऊ भनी उपदेश दिएको छ गीतले।
यी र यस्तै किसिमका वर्षामासका धेरै गीत छन्। खप्तड राष्ट्रिय निकुञ्ज, रामारोशन, शुर्भा सरोवरजस्ता पर्यटकीय भूमि, मालिका, बड्डी केदार,
मल्लिकार्जुन आदि शक्तिपीठ र देवताका मन्दिरबारे पनि वर्षामासमा गाउने गीत धेरै छन्। जुन गीतले केवल कालीकर्णालीको मानव सभ्यताको मात्र पाठ सिकाएका छैनन्, समग्र मेची–महाकालीका गीतसंगीतका झरनाहरूको रैवार (खबर) पनि बोकेका छन्।