नागरिकता माग्दै सत्याग्रह
काठमाडौं : अनागरिक हुनुको पीडा उसैलाई थाहा छ। जसले ३५ वर्षको उमेर पुग्दा पनि सिम कार्ड लिन पाएका छैनन्। सवारी चालक अनुमतिक पत्र(लाइसेन्स) बनाउन सकेका छैनन्। नागरिकता विना दशौं लाख नेपाली आमाबुवाका सन्तानको भविष्य अन्धकारमय बन्दै गएको छ।
जीवनमा कहिले उज्यालो हुन्छ त्यसको अत्तोपत्तो छैन। सबै अधिकार प्राप्तिको माध्यम रहेको नागरिकता नपाएपछि जेठ ३० गते २५ वर्षीय युवक निरज कामतले माइतीघर मण्डलामा आत्मदाह प्रयास गरे। नागरिक हुन नपाएको पीडामा कैयौंले त फाँसी लागेर प्राण नै त्यागिसके।
नागरिकताविहीन नेपालीलाई नागरिकता दिनुपर्ने माग राख्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामकुमार शर्माले चार दिनदेखि माइतीघर मण्डलामा भोक हडतालमा छन्।
युवाहरूको आन्दोनलको समर्थन गर्दै उनले शुक्रबारबाट सत्याग्रह थालेका थिए। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधयेक जारी गरे पनि सर्वोच्च अदालतको अल्पकालीन आदेशपछि पनि विधेयक कार्यान्वयन भएको छैन। अल्पकालीन आदेशले नागरिकता वितरणमा रोक लगाएपछि नागरिकताविहीन युवाहरूले माइतीघरमा आन्दोलन गर्दै आएका हुन्।
‘नेपालको संविधान २०७२ जारी भएको करिब ८ वर्ष भइसकेको छ। संविधान जारी भएको मितिले ३ वर्षभित्र संघीय संसद्बाट कानुन बनाएर पूर्णरूपमा कार्यान्वयन गरिने भनिएको छ। तर, राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च हुँदै आएको छ। अब त अति नै भयो,’ उनले भने।