विकासको मौलिक सोच
सोच नै विकासको पहिलो खुड्किलो हो। सोचबिना विकासको प्रकृयाको थालनी नै हुँदैन।
कसरी हुन्छ विकास ? विकासको बाधक के ? अरू देशले कसरी विकास गरिरहेका छन् ? नेपालले आफूलाई विकासको बाटोमा किन अघि बढाउन सकेन ? जस्ता सवाल अहिले अहं बनेका छन्। विश्वमाझ अनेकन भौगोलिक विविधता र सांस्कृतिक पहिचानको धरोहर बोकेको नेपाल सानो भए पनि सुन्दर एवं अनुपम भएको कथ्य महाकवि लक्ष्मीप्रसाद देबकोटाले उहिल्यै लेखेका हुन्। उनको भावना नेपाल अरूको विकासको नक्कल गरेर होइन, प्राकृतिक रूपमै अनुपम छ भन्ने हो। हुन त आज विकास त के कृत्रिम बौद्धिकता (एआई)को नै विकास हुन थालिसकेको छ। पढाउने, लेखाउने, गाउने, गाडी हाँक्ने, साराका सारा काम गर्नसक्ने बुद्धि भरिएका स्वचालित यन्त्रहरूको विकास सम्भव हुन थालिसकेको छ।
विश्वमा प्रविधि क्षेत्रका बौद्धिकमाझ एआईले मान्छेलाई विनाशको दिशामा लैजाने जोखिम उत्तिकै भएको बहस हुन थालेका छन्। र, त्यो खालको प्रयास रोक्न दबाब बढाउन थालिएको छ। प्रविधि क्षेत्रका होनाहार उद्यमी एलन मक्सहरूले मंगल र चन्द्र ग्रहहरूलाई पानी पधेंरो बनाउन लागिपरेका छन्। पृथ्वीको एउटा कुनाबाट अर्को कुनामा एक–दुई घण्टामै पुग्न सकिने बाहनहरूको कल्पना गरिरहेका छन्। यस्तोमा नेपालीले दैनन्दिन जीवनशैलीलाई सुविधायुक्त बनाउने गरी न्युनतम विकासको फड्को पार गर्न नसक्नु लाजमर्दो विषय नै हो। तर सवाल के हो भने विश्वले जे जति आधुनिक विकास गरेका छन् ती प्राकृतिक भन्दा कृत्रिम विकास हुन्। कृत्रिम चीज अस्थायी हो। प्रकृतिले हामीाई जे चीज दिएको छ। त्यसको सन्तुलन नभत्काइ गरिने आदर्श विकास आजको आवश्यकता हो।
संसारमा प्रकृतिपद्धत्त विकासका लागि हरित अर्थतन्त्रको अवधारणा क्रमशः लागू हुँदै गएका छन्। मान्छेहरू क्रमश कृत्रिम विकासको उचाई छेडेर प्राकृतिक विकासतिर लम्किरहेका छन्। त्यसकारण नेपालले विदेशीले जे जसरी र जे जस्ता विकास गरेका छन्, त्यसैलाई अनुसरण गर्नुपर्छ भन्ने छैन। ठुला–ठुला गगनचुम्बी भवन, अग्ला–अग्ला टावरहरूले सजिदैमा कुनै पनि देश विकासको स्वर्ग बन्दैन। तर यत्ति हो कि हामीले गर्ने विकासले मान्छे, प्रकृति, पशुपक्षी कसैको पनि हानि नगरोस् र त्यसले अधिकतम मान्छेलाई आर्कषण पनि गरोस्। नेपालको आर्थिक सम्वृद्धि र विकासको कुरा गर्दा तीनवटा खम्बा भनेका पर्यटन, उर्जा र कृषि–जडिबुटी क्षेत्र हुन्। जसमा लगानी बढाउन सक्यौं भने तीनमा प्रकृतिको लय नभत्कने गरी आवश्यक प्रयत्न गर्यौं भने नेपाल स्वर्गतुल्य हुन्छ।
खासगरी नेपाल धेरैजसो पहाडै–पहाडले सजिएको मुलुकको हो। जलस्रोतको धनी यस देशमा नदीहरूको जुलुस लगाउँछन्। टलल टल्कने सेता गगनचुम्बी हिमालहरूका ताँती छन्। तराईको १७ प्रतिशत भूभाग कृषिका लागि भूस्वर्ग छ। हामीहरू त नभएर भन्दा पनि नजानेर गरिव भएका छौं। विदेशीको चलखेलको शिकार हुँदै गइरहेका छौं। प्राकृतिक स्रोत तथा साधनमाथि विदेशीको गिद्धे नजर परिरहेका छन्। आजसम्म जति पनि मुलुक सम्वृद्धिको शिखरमा पुगेका छन्, ती आफ्नै बलुबता र बृद्धिले पुगेका हुन्।
कसरी हुन्छ विकास ? विकासको बाधक के ? अरू देशले कसरी विकास गरिरहेका छन् ? नेपालले आफूलाई विकासको बाटोमा किन अघि बढाउन सकेन ? जस्ता सवाल अहिले अहं बनेका छन्।
तीन दशक एकछत्र शासन गरेका आधुनिक सिंगापुरका जन्मदाता ली क्वान युले गरेको चामत्कारिक विकासको आज विश्वभर चर्चा छ। एसिया महादेशमा जापानपछि सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको धनी र संसारकै सुन्दर देश बनाएका उनको विकासको मोडल भौगोलिक हिसाबले उस्तै देश भएकाले नेपाललाई काम लाग्ने देखिन्छ। अहिले नेपालको बौद्धिकवृत्तमा उनको अनुभव गाथा सँगालिएको पुस्तक चर्चामा पनि छ। तर केही थान मुर्रा भैसीको भित्रिएकोमा नेपाली सांसदहरू व्यंग्यविमर्शमा छन्। लीको पुस्तक उनीहरूले छिचोलेर पढे होलान् ?
लीले गरेको विकास उनको मौलिक सोचको कार्यान्वयनको सानो प्रयासबाट अग्लिएको विकास हो। आज मलेसियाको विकास, दुबई, कतारको विकास, कहिल्यै अमेरिकाको दासत्व स्वीकार नगरेको क्युवाको विकास, दक्षिण कोरियाको विकास अरू सहयोग र सोचबाट भएका होइनन्। आफ्नै प्रयासबाट भएका हुन्। त्यसकारण नेपालको विकास पनि विदेशीले उत्पादन गरेका योजनाकारहरूबाट होइन, नेपाली माटो बुझेका, नेपालका तमाम भूभागहरू घुमेका र विदेशी डलर एवं स्वार्थबाट गाइडेड नभएका बौद्धिकहरूको मौलिक योजनाहरूबाट मात्र सम्भव छ। माहाकवि देवकोटाले भनेझैं नेपाल सानो भए पनि सुन्दर र अनुपम छ। त्यसकारण हामीले यसलाई कृत्रिम विकासले होइन, प्राकृतिक सौन्दर्यताको लेपले सजाउन जरुरी छ।
१५ प्रतिशत भूभाग ओगटेको हिमाली क्षेत्रलाई विश्वले नै ध्यान आकर्षण गर्नेगरी पर्यटकीय रूपमा विकास गर्न जरुरी छ। त्यसका लागि हिमाली क्षेत्रहरू बसोबासभन्दा सुविधा सम्पन्न पर्यटकीय होटल तथा रेष्टुरेन्ट बनाउने कुरामा जोड दिनुपर्छ। त्यहाँको वातावरणलाई जोगाएर केही सांस्कृतिक गाउँहरू, बस्तीहरू बनाउन सकिन्छ। ६८ प्रतिशत भूभाग ओगटेको पहाडी भूभागमा देशका सबैजसो बस्तीहरूलाई सार्ने अलिक फराकिलो दिर्घकालिन नीति लिन सकिन्छ। खासगरी पहाडी भुभागमा वनजंगल, फलफूल र फूलैफूलले सिँगार्ने अनि विश्वमाझ नेपालीलाई पहिचान दिने कलात्मक बस्तीहरू निर्माण गर्न सकिन्छ। बाँकी रहेको तराईको १७ प्रतिशत भूभाग कृषिमा उपयोग गर्न सकिन्छ। यो नेपाललाई विश्वमाझ उदाहरणीय, व्यवस्थित र प्रकृतिप्रदत्त देश बनाउने हो भने एउटा बलियो संकल्प लिन सकिन्छ। सोच नै विकासको पहिलो खुड्किलो हो। जब सोच नै हुँदैन भने विकासको प्रकृयाको थालनी नै हुँदैन।
लीले तमाम जनतालाई आवासको ग्यारेन्टी राज्यले गर्ने र काम गर्न सक्ने महिला पुरुष कसैलाई पनि बेरोजगार नबनाइ काममै लगाउने नीति नलिएको भए सिंगापुर पुरानै हालतमा हुन्थ्यो। त्यसकारण ठुलो सोचले मात्र मुलुक बन्नेछ। मुलुक बनाउन संकल्प नै चाहिन्छ। कुनै बेलाको मरुभूमिलाई जुरुक्क उठाएर बनाएको लस भेगास सहरलाई अमेरिकाले अहिले विश्वकै सबैभन्दा बढी पर्यटक ओइरिने जुवाको सहर बनाएको छ। चीनको ग्रेटवालले शताब्दीऔंदेखि संसारलाई अचम्म तुल्याएर वार्षिक करोडौं मानिसले पाइला टेकिरहेका छन्। तर संसारको शिखर अर्थात् सगरमाथाको देश नेपालमा पर्यटकहरू किन आइरहेका छैनन् ? हामीले कारण खोज्न सकिरहेका छैनौं।
हाम्रा दन्तलहर जस्ता सेता सुन्दर हिमालहरू अमेरिका वा चीनका कृत्रिम पर्यटकस्थल भन्दा हजार गुना सुन्दर छन्। हामीले त्यस्ता हिमाल, झरना, नदीहरू, कुण्डहरू, तालहरू र अनेकन पर्यटकीय गन्तव्यहरू विश्वमाझ चिनाउन नसक्नु विडम्बना हो। त्यसकारण हामीले आफ्नै खालको मौलिक सोच सहितको विकास, प्राकृतिक सौन्दर्यतालाई विश्वमाझ चिनाउन लाग्नुपर्छ। नेपाली सांसद समग्र देश विकासका अनेक आयाममा अनुसन्धानपछि गहन र मिहिन ढंगले लाग्ने बेला पनि ढिलो भइसकेको छ।