जावलाखेललाई हराउँदै थ्री स्टार जोगियो, एपीएफ बी डिभिजन लिगमा घटुवा

काठमाडौं : कप्तान विक्रम लामाको निर्णायक गोलप्रेरित थ्री स्टार क्लब सहिद स्मारक ए डिभिजन लिगमा शनिबार जावलाखेल युथ क्लबलाई ०–१ को नतिजामा पराजित गरेसँगै रेलिगेसनबाट जोगिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ८३औं मिनेटमा विक्रमले पेनाल्टीमार्फत गरेको एक मात्र गोल निर्णायक बन्यो। प्रविन श्रेष्ठले विक्रमलाई १८ यार्ड बक्स भित्र फाउल गरेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो।
जितसँगै २६ खेलबाट ३२ अंक जोडेको थ्री स्टार नवौं स्थानमा पुगेको छ। पराजित जावलाखेल ३७ अंक जोडेर चौथो स्थानमा रहेर सिजन समापन गरेको छ।
थ्री स्टार विजयी भएसँगै सशस्त्र प्रहरी बलको एपीएफ क्लब बी डिभिजन लिगमा घटुवा भएको छ। एपीएफले २६ खेलमा ३० अंक मात्रै जोड्न सक्यो। समान खेलबाट २७ अंक जोडेको एफसी खुमलटार पनि यसअघि नै बी डिभिजन लिगमा घटुवा भइसकेको छ।
शनिबार समापन भएको लिगमा चर्च ब्वाइज युनाइटेड क्लब च्याम्पियन बन्दा साविक विजेता मछिन्द्र क्लब उपविजेता बन्यो।
नेपाल पुलिस क्लब तेस्रो, जावलाखेल चौथो तथा सातदोबाटो युथ क्लब पाँचौं भए। न्युरोड टिम छैटौं, त्रिभुवन आर्मी फुटबल क्लब सातौं, मनाङ मर्स्याङ्दी क्लब आठौं, थ्री स्टार नवौं, संकटा क्लब १०औं तथा हिमालयन शेर्पा क्लब ११औं भए।
फ्रेन्ड्स क्लब १२औं स्थानमा रहँदा १३औं स्थानको एपीएफ र १४औं स्थानको खुमलटार बी डिभिजन लिगमा घटुवा भए।
प्रतिक्रिया दिनुहोस !
