रास्वपालाई घेराबन्दी गर्ने काम भइरहेको छ : रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रहित विपरितका काम हुन नदिन संसदमा शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा आफ्नो पार्टीको २१ जना सांसद् भए पनि राष्ट्रहित विपरितका काम हुन नदिन शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न प्रयाप्त भएको बताए।
उनले सरकारका राम्रा कामको समर्थन गर्दै देशहित विपरितको कार्यलाई खबरदारी गरिररहने जिकिर गरे। लामिछानले रास्वपालाई जनताले दिएको म्याण्डेड कार्यान्वयन गर्न चौतर्फी रोक्ने काम भइरहेको बताए।
२०८४ को निर्वाचनमा रास्वपालाई जित हासिल गर्ने सहज बाटो जनताले देखाएको भएपनि त्यो बाटोसम्म पुग्नका लागि घेराबन्दी गर्ने काम भइरहेको उनले बताए। सभापति लामिछानेले नागरिकता विधेयकको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदा रास्वपा नै नागरिकताको विरोधमा रहेको भन्दै भ्रम छर्ने काम गरिएको उल्लेख गर्दै नागरिकले नागरिकता पाउनुपर्नेमा कुनै दुविधा नरहेको बताए।
त्यस्तै उनले आफू व्यक्तिगत काममा भारत जाँदा अनेक अर्थ लगाउने भएकाले नै परराष्ट्रमा जानकारी गराएर गएको बताए। कार्यक्रममा रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले जनताको जनजीविकालगायत सुशासनका मुद्दामा रास्वपाले आवश्यक पहलकदमी लिने उल्लेख गरे। उनले नागरिकको भरोसालाई जगेर्ना गर्दै पार्टीलाई जनताको मुद्दामा केन्द्रित गर्ने बताए।
प्रतिक्रिया दिनुहोस !
