चिलगाडी कहिले आउने ? कुरिराछौं हामी

चिलगाडी कहिले आउने ? कुरिराछौं हामी
सुनथराली विमानस्थलमा नियमित उडान गराउन दबाब दिन विमानस्थलको धावनमार्गमै आयोजना गरिएको  कार्यक्रममा सहभागी।

वीरेन्द्रनगर : विमानस्थल संवेदनशील ठाउँ हो। जहाँबाट जहाजको अवतरण र उडान हुन्छ। त्यसैले यहाँ सुरक्षा व्यवस्था कडा पारिएको हुन्छ। तर, कालीकोटको सुनथराली विमानस्थलमा फरक रूप देखिन्छ। यहाँ जहाज होइन, कार्यक्रम आयोजक आउँछन् र सभा, सम्मेलनको आयोजना गर्छन्। धावनमार्ग कार्यक्रममा आउनेको स्थलमार्ग बन्छ। अनि, दायाँबायाँका स्थान सहभागीको पार्किङस्थल। निर्माण सुरु भएको ३७ वर्षपछि यो विमानस्थल उडान र अवतरणका लागि योग्य भए पनि जहाज आएन। स्थानीय भन्छन्, ‘विमानस्थल नेताका लागि भोट माग्ने मुद्दा बन्यो, हाम्रा लागि बनेन।’

लामो समय लगाएर निर्माण गरिएको विमानस्थल निर्माण सम्पन्न भएको ६ महिना बितिसक्दा पनि परीक्षण उडानसमेत भएको छैन। गाउँका अस्पताल, सडक, खानेपानीलगायतका पूर्वाधारको त झन् हरिबिजोक नै छ। कर्णाली राजमार्गअन्तर्गतको जुम्ला सुर्खेत राजमार्ग मृत्युमार्ग जस्तै छ। निर्माणाधीन कर्णाली करिडोर पनि कुरूप बन्दै गएको छ। गाउँमा सडकले भने पहिरो मात्र निम्त्याएको छ। 

सुनथराली विमानस्थलमा चिलगाडी नआउँदा स्थानीय नागरिक अहिले निराश छन्। गत पुस महिनामा कालोपत्रेसहित निर्माण सम्पन्न भएको उक्त विमानस्थलमा वैशाख पहिलो साता परीक्षण उडान गर्ने र त्यसपछि नियमित उडानका लागि तयारी गर्ने भनिएको थियो। तर, अहिलेसम्म विमानस्थलमा जहाज आएको छैन। नरहरिनाथ गाउँपालिका– १ की स्थानीय सुकिली कठायत भन्छिन्, ‘चैतमा सूचना निकालेर वैशाख पहिलो साता परीक्षण उडान गर्ने भनेपछि हामी उत्साहित भएका थियौं। तर, अहिलेसम्म जहाज देखिएन। निर्माण हुन वर्षौं लाग्यो। अब जहाज आउन पनि वर्षौं लाग्ने जस्तो छ। हाम्रा दुःख जस्ताको त्यस्तै रहने भए।’

स्थानीय कृष्ण विष्टले पनि आफ्नो दुःखेसो पोख्दै भने, ‘आफू २५ वर्षको हुँदा निर्माण सुरुवात भएको विमानस्थल सम्पन्न हुनै ३७ वर्ष लाग्यो। फेरि परीक्षण उडान हुने भनेको महिनौं भइसक्यो। तर, अहिलेसम्म हुँदैन। नियमित उडान भएर हामीले सेवा कहिले पाउँछौं ?’ गाउँमा हुने आकस्मिक बिरामी तथा सुत्केरी व्यथा लागेका महिला कति त बाटोमै प्राण त्याग्छन्। कतिको त अस्पताल नपुग्दै मृत्यु हुन्छ। गाउँमा बनेको विमानस्थलमा जहाज आउने भए सजिलै सुविधा सम्पन्न अस्पतालमा बिरामी पु¥याउन सकिने उनले बताए। ‘यहाँका अन्य नागरिकको पनि जहाज चढ्ने सपना पूरा हुन्थ्यो’, उनले भने। विमानस्थल निर्माण आयोजनाका सुपरभाइजर गणेश विष्टले विमानस्थल आसपासका क्षेत्रहरूमा पशुचौपाया नछाड्न तथा मानव आवतजावत नगर्न सूचना पनि निकाले। तर, वैशाखको महिना सकिएर जेठ लागिसक्यो। विमानस्थलमा परीक्षण उडान भएको छैन। कहिले हुन्छ भन्ने पनि अझै टुंगो छैन। विष्टले भने, ‘वैशाखको पहिलो साता परीक्षण उडान गर्ने भनेपछि चैतको अन्तिमतिर सूचना निकालेका हौं। दैनिक रूपमा विमानस्थलमा झाडु लगाउनुपर्छ। यहाँ पशु चौपाया आउँछन्। उनीहरूलाई धपाउनुपर्छ। हामी यो काम नियमित गरिरहेका छौं।’ 

आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले मौखिक रूपमा वैशाख पहिलो साता परीक्षण उडान हुन सक्छ भनेपछि विमानस्थल आसपासका क्षेत्रहरूमा आवतजावत नगर्न सूचना निकालिएको बताए। तर, अझै परीक्षण उडान हुने कुनै निश्चित छैन। ‘हामी बनेको विमानस्थल कुरिरहेका छौँ। नियमित सरसफाइ गरिरहेका छौं। जहाज नचलेरै विमानस्थल पुरानो होला जस्तो छ। यहाँ दिनहुँ मानिसहरू आएर आफूलाई चिलगाडी कहिले आउने हो भनेर प्रश्न गर्छन्। जसको उत्तर मसँग छैन। बनावटी जवाफ दिँदै मैले भन्नुपर्छ कुनै दिन आउँछ’, उनले भने। 

सुनथराली विमानस्थलमा नियमित उडान गराउन दबाब दिन विमानस्थलको धावनमार्गमै विभिन्न सार्वजनिक कार्यक्रमहरू गरिन थालिएको छ। गत पुस अन्तिम साता निर्माण सम्पन्न भएको विमानस्थल केही समय त रंगमञ्चजस्तै बन्यो। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारणसभा उक्त विमानस्थलको धावनमार्गमै आयोजना गरियो। नरहरिनाथ गाउँपालिकाले गाउँपालिकाको हिउँदे अधिवेशनको समापन पनि त्यही विमानस्थलमै ग¥यो। स्थानीय नागरिक अगुवाहरूले विमानस्थल रंगमञ्च बनाएको भनेर विरोध पनि जनाए।

विभिन्न कोणबाट उक्त विमानस्थलमा उडान गराउन दबाब पनि नभएको होइन। कालीकोटको प्रदेशसभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद हिक्मतबहादुर विष्टले नेपाल सरकारका पर्यटनमन्त्री, प्रदेशका पर्यटनमन्त्री, संघ र प्रदेशका सांसद, एनएसीका अध्यक्ष र एयरलाइन्सका अधिकारीहरूसँग छलफल पनि गरेका थिए। त्यतिबेला वैशाखको पहिलो सातामै परीक्षण उडान गर्ने सहमति भएको थियो। नयाँ वर्षमा कालीकोटवासीहरूको जहाज चढ्ने सपना पूरा हुनेमा म विश्वस्त छु भनेर उनले सामाजिक सञ्जालमै लेखेका थिए। 

कालीकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद महेन्द्रबहादुर शाहीसहितका नेताहरू पनि छलफलमा सहभागी थिए। उनीहरू सबैलाई प्राधिकरणले वैशाखमै परीक्षण उडान गर्ने भनेर आश्वासन दियो। नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतकसमेत रहेका सांसद विष्टले भने, ‘हामीले प्राधिकरणलगायतका अन्य सरोकारवालाहरूसँगको छलफलमा वैशाख पहिलो साता सुनथराली विमानस्थलमा परीक्षण उडान गर्ने भनेर सल्लाह भएको हो। तर, अहिलेसम्म पनि भएन। मैले सामाजिक सञ्जालमै वैशाख पहिलो साता परीक्षण उडान गर्ने भनेर लेखेँ। त्यसले मैले पनि जनतालाई ढाँटेजस्तो भएको छ।’ यसमा नागरिक उड्डयन प्राधिकरण गम्भीर नभएको उनको भनाइ छ। ‘हामीलाई पनि ढाँटियो। सुनथराली विमानस्थलमा नियमित उडान गर्नका लागि थप पहल गर्दैछौं। तर परीक्षण उडान नै नभएकाले नियमित उडानका लागि समय लाग्ने देखियो’, उनले भने। 

कर्णालीकै धेरै जनसंख्या भएको नरहरिनाथ गाउँपालिका– १ कोटबाडाबाट जहाज चढ्ने सपना पूरा हुने अपेक्षासहित नियमित उडानका लागि गाउँपालिकाले पनि पटकपटक पहल गरेको छ। नरहरिनाथ गाउँपालिका— ९ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता प्रदीप बोहोराले भने, ‘निर्माण गर्न ३७ वर्ष लाग्यो। विमानस्थल बन्यो। तर, यहाँ जहाज आएन। हामीले नियमित उडान गर्न दबाब दिनकै लागि गत माघ ७ गते विमानस्थलमै गाउँसभा गरेका थियौं। विमानस्थल बन्नकै लागि वर्षौं कुरियो। अब नियमित उडान हुन पनि कुर्न नपरोस् भनेर दबाबसहित पहलकदमी पनि लिएको हो। तर हामीले विभिन्न कोणबाट दबाब दिँदा पनि सम्बन्धित निकाय गम्भीर बनेन। यहाँका नागरिक हामीलाई पनि प्रश्न उठाइरहेका छन्।’

२०६४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा पहिलो संविधानसभा सदस्यका उम्मेदवार खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले चुनावी अभियानमा यो विमानस्थलमा जहाज उडाउने नारा बनाएका थिए। त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा त्यही माओवादी केन्द्रबाट दोस्रो संविधानसभा सदस्यका उम्मेदवार महेन्द्रबहादुर शाहीले पनि चुनावी अभियानमा सोही नारा अघि सारे। 

२०७४ सालमा नेकपा माओवादी केन्द्रकै नेता एवं संयुक्त वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार दुर्गाबहादुर रावतको पनि विमानस्थलमा नियमित उडान गराउने भन्ने नारा चुनावी मुद्दा बनेको थियो। त्यसपछि २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा संयुक्त वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार महेन्द्रबहादुर शाहीको चुनावी नारा पनि यही विमानस्थल थियो। एकै व्यक्तिले चार पटकका चुनावमा यो विमानस्थल नियमित सञ्चालन गर्ने भनेर जनतालाई आश्वासन दिँदै भोट बटुले। उनी सांसद पनि भइरहे। तर, विमानस्थलमा जहाज कहिलै आएन। अहिले निर्माण सम्पन्न भएको विमानस्थल पनि सुनसान छ। 

कालीकोटमा अहिले पनि ९ वटै पालिकाका केन्द्रमा यातायात सेवा पुगिसकेको छैन। कतिपय पालिकाको केन्द्रमा सडक पुगे पनि गाडी जाने अवस्था छैन। स्थानीय तहले निर्माण गरेका सडकहरू बाख्रा हिँड्न नसक्ने अवस्थाका छन्। धमाधम डोजर लगाएर निर्माण गरेका सडकले गाउँलाई नै पहिरोको जोखिममा पारेको छ। नागरिक समाजका अगुवा अधिवक्ता दमनराज बमले भने, ‘संघीयता पछि प्रायः स्थानीय तहका केन्द्रसम्म यातायात सेवा पुगाउन सडकका ट्र्याकहरू खोल्ने प्रयास भयो। तर उक्त सडकमा पनि न्यूनतम मापदण्डहरू पूरा नगरी निर्माण गर्दा यातायात सेवा सञ्चालन हुन सकेका छैनन्। गाउँका नागरिकको पहुँचमा यातायात सेवा पुगेन। जसका कारण गाउँमा मानिसलाई दैनिक उपभोग्य सामानहरू होस् वा गाउँबाट अस्पताल लैजानुपर्ने बिरामीहरू स्टेचर र डोको प्रयोग गरी थाप्लोमै भारी बोक्न बाध्य छन्। यसले नागरिकलाई परिवर्तनको आभास हुन सकिरहेको अवस्था छैन।’

विमानस्थल निर्माण आयोजनाका प्रमुख रत्नबहादुर श्रेष्ठले विमानस्थल निर्माण कार्य पूरा भएर परीक्षण उडानका लागि उपयुक्त रहेको भनेर नागरिक उड्डयन प्राधिकरणमा आफूले प्रतिवेदन पेस गरिसकेको बताए। उनले भने, ‘निर्माण आयोजनाका तर्फबाट मैले प्रतिवेदन पेस गरेको छु। नियमित उडानका लागि प्रक्रियामा छ। तर कहिले हुन्छ भन्ने थाहा छैन।’

२०७३ सालमा घाँसे मैदानमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा पहिलो पटक परीक्षण उडान गरिएको थियो। त्यसयता विमानस्थलमा जहाज फर्किएको छैन। सुनथराली विमानस्थलकोे रनवेको लम्बाइ ६ सय ४० मिटर, चौडाइ २० मिटर, टर्निङ प्याडको लम्बाइ ५ सय २५ वर्गमिटर, ट्याक्सी वेको लम्बाइ २५ मिटर चौडाइ २० मिटर, पार्किङ लम्बाइ ७० मिटर, चौडाइ ३० मिटर, स्टप वे लम्बाइ ३० मिटर, चौडाइ ५० मिटर, कियर वे लम्बाइ ३० मिटर, चौडाइ ५० मिटरको रहेको छ। भौगोलिक रूपमा पनि जहाज उडानका लागि उपयुक्त विमानस्थल रहेको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख मुरारी भण्डारीले कालीकोट विमानस्थलमा परीक्षण उडानका लागि तयारी भइरहेको बताए। उनले भने, ‘विमानस्थल निर्माण सम्पन्न भएर आफैं स्थलगत अनुगमन गरेपछि फर्किएको छु। यो विमानस्थलमा उडान भर्नका लागि तयार भएको र परीक्षण उडान गर्नका लागि नेपाल एयरलाइन्सलगायतका उडान कम्पनीहरूलाई पनि भनिसकेका छौं।’ तर अहिले पर्यटकहरूको चाप भइरहेका बेला साना जहाजहरू व्यस्त रहेका उनले बताए।  ‘विमानस्थल पनि तत्कालै परीक्षण उडान गरेर नियमित गर्न सेवाग्राही पाउने पनि टुंगो छैन। विमानस्थल जाने सडकको स्तरोन्नति भएको छैन। नियमित उडान सुरु भएपछि जहाज चढ्ने यात्रुहरू नपाइने अवस्था छ। ढिलो चाँडो उक्त विमानस्थलमा उडान हुन्छ।’

चैतमा सूचना निकालेर वैशाख पहिलो साता परीक्षण उडान गर्ने भनेपछि हामी उत्साहित भएका थियौं। तर, अहिलेसम्म जहाज देखिएन। हाम्रा दुःख जस्ताको त्यस्तै रहने भए। 
सुकिली कठायत, स्थानीय

म २५ वर्षको हुँदा निर्माण सुरुवात भएको विमानस्थल सम्पन्न हुनै ३७ वर्ष लाग्यो। फेरि परीक्षण उडान हुने भनेको महिनौं भइसक्यो। तर, अहिलेसम्म हुँदैन। नियमित उडान भएर हामीले सेवा कहिले पाउँछौं ? 
कृष्ण विष्ट, स्थानीय


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.