गगन-शेखर सहभागी भएको कार्यक्रममा देउवाले भने- म फेरि सभापति हुन्छु भनेकै छैन
चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन्।
नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन 'डिएलए नेपाल'को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताए।
आफूलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उनले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताए। उनले भने, 'नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ। त्यसका लागि सबै मिलेर अघि बढौं।'
नेकपा 'एमाले' भित्र उमेर हद हटाइएको भन्दै उनले थपे, 'हामीकहाँ त्यस्तो छैन। तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन। मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन।' प्रजातन्त्र बलियो भयो भने नेपालको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो।
पूर्वप्रधानमन्त्री देउवाले कानुन व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताए। उनले भने, 'रानीतिज्ञले गलत गरेको कुरालाई पनि समाधान गराएर यो ठीक छ र यो छैन भनेर सुझाव दिनसक्ने कानुन व्यवसायी हुन्।'
प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन डिएलएको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। उनले भने, 'यो भूमिकालाई अझै सशक्त बनाउँदै लैजानुपर्छ।'
आफू पनि कानुनको विद्यार्थी भएको भन्दै देउवाले अभ्यास गर्न नपाउँदा दुःख लागेको बताए। कानुन व्यवसायी पेसा मर्यादित भएको उनको भनाइ थियो।
बिपी कोइराला पनि कानून व्यवसायी भएको भन्दै उनले भने, 'बिपी कोइराला पार्टीमा कानुन व्यवसायी 'लयर' हुनुहुन्थ्यो। भारतीय नेता जवाहरलाल नेहरू पनि कानून व्यवसायी हुनुहुन्थ्यो। लयर राम्रो हो, मैले पनि ल पढेको हुँ, प्राक्टिस गर्न पाइनँ।'
अमेरिकामा कानुन पढेका राष्ट्रपतिलगायत उच्च तहमा पुगेको भन्दै उनले कानुनको ज्ञान सबैलाई हुनुपर्ने बताए।
कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश सिफारिस गर्ने क्रममा क्षमताको आधारमा गरिने बताए। उनले भने, 'नेताहरूको आँगनमा देउसी, भैलो खेलेर न्यायाधीश बन्ने दिन गए।'
क्षमता नभएका व्यक्तिलाई न्यायाधीशमा सिफारिस नगर्ने प्रतिबद्धता जनाउँदै उनले भने, 'न्यायालयमा भएको भ्रष्टाचार शून्य गर्न म मन्त्री भएको हुँ। त्यो सफा गर्ने क्रममा ब्रिफकेस बोकेर धाउने न्यायाधीश बन्न सक्दैन। निष्पक्षरूपमा क्षमताका आधारमा न्यायाधीश छानिन्छ।'
विगतमा शक्ति केन्द्रबाट कानुन सञ्चालन भएको उल्लेख गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरुङले त्यस्ता शक्ति केन्द्र ढलेको र लोकतन्त्र प्राप्त भएको बताए। पछिल्लो समयमा फेरि हामी ती शक्ति केन्द्रजस्तै बन्यौं र दण्ड चलाउन थाल्यौं भने कानुनी राज्यको परिकल्पना अधुरो हुने उनको भनाइ थियो।
लोकतन्त्रलाई बलियो बनाउनका लागि सुशासन आवश्यक रहेको भन्दै उनी कानुनको आँखामा सबै बराबर हुने बताए। कांग्रेस महामन्त्री गगनकुमार थापाले विधिको शासन र सर्वोच्चताका लागि कांग्रेस ठीक ठाउँमा उभिनु पर्ने बताए।
उनले भने, 'कांग्रेस ठीक ठाउँमा उभियो भने विधिको शासन र सर्वोच्चता रहन्छ नत्र रहँदैन।' अहिलेको समय पार्टीलाई पुनरसंरचना गर्ने समय भएको धारणा राख्दै उनले यसमा डिएलएको सहयोग आवश्यक रहेको बताए।
पार्टीलाई विधानसम्मत सञ्चालन गर्नका लागि अहिलेको पद्धतिलाई भत्काउन आवश्यक रहेको उनको भनाइ थियो। उनले भने, 'क्रियाशील सदस्यता वितरण र उम्मेदवार छनोट गर्ने अहिलेको पद्धतिको अन्त्य नभएसम्म पार्टीभित्र सुधार हुन नसक्ने देखिन्छ।'
कार्यक्रममा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसलाई सुधार गरेर अघि बढ्ने बताए। उनले भने, 'हामी कांग्रेसलाई कमजोर हुन दिँदैनौं। सुधार गरेर अघि बढ्छौं।' पार्टीलाई अझै सशक्त बनाएर अघि बढ्ने उनको भनाइ थियो।