खुमलटार बी डिभिजनमा घटुवा, पुलिस तेस्रो

काठमाडौं : लिग चरणको अन्तिम चरणमा चर्च ब्वाइज युनाइटेड क्लबसँग २–० को नतिजामा पराजित भएसँगै एफसी खुमलटार ए डिभिजन लिगबाट बी डिभिजनमा घटुवा भएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको १३औं मिनेटमा सुशिल साहले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा जोसेफ बेम्पाले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारेका थिए।
दोस्रो हाफमा सोही अग्रता जोगाउँदै एक खेल अगावै च्याम्पियन बनिसकेको चर्च ब्वाइजले सिजनको सुखद् समापन गर्यो।
खुमलटार २६औं चरण सकिँदा २७ अंक जोडेर लिग तालिकाको पुछारमा छ। विजेता चर्च ब्वाइजले २६ खेलबाट ४८ अंक जोडेको छ।
नेपाल पुलिस तेस्रो
अन्तिम चरणको खेलमा सातदोबाटो युथ क्लबलाई १–० को नतिजामा पराजित गरेसँगै नेपाल पुलिस क्लबले तेस्रो स्थानमा रहेर सिजन सकाएको छ।
च्यासल रंगशालामा भएको खेलको २१औं मिनेटमा अहमद हिजाजीले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटसम्म सोही अग्रता जोगाउँदै पुलिसले तेस्रो स्थान सुरक्षित गर्यो।
पुलिसले २६ खेलबाट ४१ अंक जोडेको छ। पराजित सातदोबाटो समान खेलबाट ३५ अंक जोडेर पाँचौं स्थानमा छ। आजै दशरथ रंगशालामा भएको खेलमा एपीएफलाई ४–० ले पराजित गरेसँगै फ्रेन्ड्स क्लब रेलिगेसनबाट जोगिएको छ।
प्रतिक्रिया दिनुहोस !
