सर्पदंश उपचार केन्द्रलाई उपकरण

सर्पदंश उपचार केन्द्रलाई उपकरण
सुन्नुहोस्

काठमाडौं : महोत्तरीको बर्दिबासका युवाहरूले चन्दा संकलन गरेर सर्पदंश उपचार केन्द्रलाई लाखौंको उपकरण खरिद गरिदिएका छन्। युवाहरूले एकआपसमा सहयोग संकलन गरेर उपचार केन्द्रमा एन्टि स्नेक भेनम भण्डारण गर्न एकथान फ्रिज, स्टेबलाइजर, भ्याक्सिन राख्ने बक्स सहयोग गरेका छन्। त्यसैगरी बर्दिवास नगरपालिकाको तर्फबाट मेयर प्रह्लादकुमार क्षेत्रीले प्रोटेवल भेन्टिलेटर र अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेका छन्।

नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालय बर्दिवास र बर्दिवास हेल्प फाउन्डेसनमा आवद्ध दुई दर्जन युवाहरूले मिलेर सहयोग जुटाएका थिए। बर्दिबास हेल्प फाउण्डेसनमा आवद्ध युवाहरूले उचित तापक्रम मेन्टेन गरेर एन्टि स्नेक भेनमलाई भण्डारण गर्न मिल्ने २ लाख ८२ हजार ५ सयको बराबरको एक थान फ्रिज किनिदिएको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालय बर्दिवासको तर्फबाट ७ हजार बराबरको एकथान स्टेबलाईजर र ३५ हजार ५ सय बराबरको एकथान भ्याक्सिन बक्स प्रदान गरिएको शाखा अध्यक्ष सुदिप कार्की (रेवन्त)ले बताए।

उपकरण खरिदमा सहयोग गर्नेलाई फाउण्डेसनका अध्यक्ष हीरा गौतमले धन्यवाद दिएका छन्। ‘सर्पको टोकाइबाट ज्यान बचाउने यहाँको एक मात्रै स्थान सर्पदंश उपचार केन्द्र गौरीडाँडा हो। तर, यहाँ उपकरण अभाव रहेको हामीले थाहा पायौं, अनि हामी युवाहरू जुटेर गाउँलेको ज्यान बचाउनका लागि उपकरण खरिदमा जुट्यौं’, अध्यक्ष गौतमले भने, ‘सामाजिक काममा सबैले मन खोलेर सहयोग गर्नुभयो। आगामी दिनमा यस्तै खाले अन्य सहयोगहरू गर्दै जानेछौं।’

सहयोगमा प्राप्त उपकरणले उपचारमा निकै सहयोग पुग्ने सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटाले जनाए। ‘उपचार केन्द्रमा पुरानो फ्रिजले तापक्रम मेन्टेन गर्न नसक्दा गत वर्ष सात सय एन्टि स्नेक भेनम नष्ट भएको थियो। भेन्टिलेटरको अभावमा सर्पदंशबाट गम्भीर बिरामी परेकाहरूलाई उपचारमा समस्या हुँदै आएको थियो’, समस्या बताउँदै अध्यक्ष देवकोटाले भने, ‘अब भने समस्या समाधान भएको छ।’ 

२०७१ साउन ३१ देखि समुदायबाट सञ्चालन गरिएको सर्पदंश उपचार केन्द्रले गत आर्थिक वर्षसम्म ३२ हजारबढीको उपचार गरेको उनले बताए। 
सामुदायिक स्तरबाट सञ्चालित सर्पदंश उपचार केन्द्र गौरीडाँडामा नेपाली सेनाको प्राविधिक सहयोगमा एक दशकदेखि उपचार हुँदै आएको छ। यहाँ भेन्टिलेटर सञ्चालन गर्न बर्दिबास जनसेवा हस्पिटलले सहयोग गर्ने अस्पतालका अध्यक्ष सुमन भुजेलले प्रतिबद्धता जनाए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.