घारखोला जलविद्युत् संरचनाको परीक्षण

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको भौतिक संरचनाको निर्माण सकिएको छ। म्याग्दी हाइड्रोपावर प्रवद्र्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण थालिएको हो।
आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बाँधबाट डिसेन्डरमा पानी हालेर परीक्षण थालिएको जानकारी दिए। ‘डिसेन्डर, एप्रोच क्यानल, टनेल, पेनस्टकको क्रमैसँगै परीक्षण हुन्छ,’ उनले भने, ‘भौतिक संरचनाको अवस्था ठीक भए, नभएको पहिचान गर्न पानी हालेर परीक्षण गरिएको हो।’ अबको १५ दिनभित्र विद्युत्को परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित भौतिक संरचनाको परीक्षणसँगै उपकरण जडान, प्रसारण लाइन र स्विचार्ड निर्माणलाई अन्तिम रूप दिन लागिएको जनसम्पर्क अधिकृत पौडेलले बताए।
अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिला बगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ। बाँध र ४५ मिटर लम्बाइको पानी थिग्राउने दुई पोखरी (डिसेन्डर)मा पानी हालिएको हो। डिसेन्डरदेखि सुरुङ सम्म २ सय ४८ मिटर लामो डिसेन्डर एप्रोच क्यानल जडान भएको छ। बाँध, डिसेन्डर र एप्रोच क्यानलको दोस्रो चरणको परीक्षण गर्न गरिनेछ।
३ हजार ५ मिटर लामो सुरुङ पानी बगाएर परीक्षणका लागि तयार भएको छ। अमिला काफलमा रहेको आउटलेटदेखि विद्युत् गृहसम्म ४ सय ८५ मिटर पेनस्टक पाइप जडान भएको छ। आउटलेटदेखि विद्युत् गृहको दूरी १ हजार २ सय मिटर र उचाइ ४ सय ८५ मिटर छ।
प्रतिक्रिया दिनुहोस !
