सासू वारि, बुहारी पारि, बल्ल भयो भेट

सासू वारि, बुहारी पारि, बल्ल भयो भेट

कुल ४० लाख लागतमा निर्माण सम्पन्न भएको उक्त पुलले चौतारा साँगाचोकगढी नगरपालिका ६ र इन्द्रावती गाउँपालिका २ लाई जोडेको छ। यसअघि सो स्थानमा रहेको २० वर्ष पुरानो पुल निकै जीर्ण बनेको र आवतजावत गर्न नसकिने अवस्थामा पुगेकाले उक्त नयाँ पुल निर्माण गरिएको हो।

सिन्धुपाल्चोक : सासू वारि, बुहारी पारि बीचमा झ्याँडी खोलो। यसै खोलोले सासू, बुहारीलाई ३ वर्षदेखि छुट्ट्याएको सुन्दा अचम्म लाग्न सक्छ। तर, वास्तविकता त्यहीँ हो। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मा बस्ने सासू माइली थापा र इन्द्रावती गाउँपालिका–२ बस्ने बुहारी मैयाँ थापाको भेट हुन खोलाले छेक्यो। कारण– पुल नहुनु। तर, यो दूरीको वर्ष अब लम्बिएन। तीन वर्षदेखि वारिपारिको सम्बन्धलाई अहिले खोलामाथि बनेको पुलले जोडेको छ। 

चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपालिका जोड्ने पुल बनेपछि सासू–बुहारीको भेट भएको हो। भूगोलको दृष्टिले सासू माइली र बुहारी मैयाँको घरको दूरी त्यत्ति टाढा भने होइन। बुहारी मैयाँ थापाको घरबाट झन्डै एक घण्टा ओरालो झरेपछि झ्याँडी खोला पुगिन्छ। त्यो खोला तरेर फेरि एक घण्टा उकालो चढेपछि सासू माइली थापाको घर पुग्न सकिन्छ। सर्सरी हेर्दा जम्मा दुई घण्टाको बाटो त हो नि भने झैं लाग्न सक्छ। तर, पनि यो तीन वर्षभित्रको अवधिमा यी सासू–बुहारीको भेट भने एकपटक पनि हुन सकेको थिएन।

झ्याँडी खोलामाथि पुल बनेर केही दिन अघिदेखि सञ्चालनमा आएपछि बल्ल यी सासू–बुहारीको भेट सम्भव भएको छ। ‘हामी सासू–बुहारीलाई आज यो पुलले भेट गराइदियो’, ओठमा हाँसो र भरिएका गहभरीको आँसुसहित बुहारी मैयाँले भनिन्, ‘पुल नबनेको भए कुन जुगमा पो भेट हुन्थ्यो हाम्रो।’ लामो समयसम्म सासू–बुहारीबीच भेट नहुनुको कारण खुलाउँदै मैयाँ भन्छिन्, ‘बाटो लामै त होइन, शारीरिक अवस्थाका कारणले दुई÷तीन घण्टा हिँडेर भेट्न जाने आँट नै गर्न सकिएन।’ 

दुई वर्षअघि खाद्यान्न पिसानीका लागि नजिकैको मिलमा गएकी बुहारी मैयाँको दुर्घटना भयो। मिलको फित्ताले उनको खुट्टामा गहिरो चोट पु¥यायो। ९ महिनासम्म अस्पतालमा उपचार गराएकी उनको खुट्टा राम्रोसँग ठीक हुन सकेन। मैयाँ अहिले पनि राम्रोसँग हिँड्डुल गर्न सक्दिनन्। हिँड्डुल गर्न उनलाई साहारा चाहिन्छ।

‘अहिले पनि अलिकति उकालो ओरालो गर्दा खुट्टा सुनिन्छ, हिँड्डुल गर्न निक्कै मुस्किल पर्छ,’ दुखेसो पोख्दै उनले भनिन्, ‘सासू पनि वृद्ध भइसक्नु भएको छ, दमको रोग छ। दुवै रोगी भएपछि कसरी भेट्नु ?’ घरमुनि पुल बनेपछि सासू–बुहारीको घर पुग्ने दूरी छोट्टिएको छ। ‘पुल नबन्दा सासूको घर पुग्न २ देखि साढे २ घण्टा लाग्थ्यो। खुट्टाको कारणले अझ बढी समय खान्थ्यो होला’, मैयाँले भनिन्, ‘अहिले आधि घण्टामै पुगिन्छ, यसले धेरै सजिलो भएको छ।’

पुल बनेपछि सासूको घर पुग्न उनलाई ओरालो झरेर बाहुनेबेंसी खोलासम्म पुग्नु पर्दैन। घरबाट करिब १५ मिनेट हिँडेपछि पुल आइपुग्छ। 

पुल तरेर सासूको घर पुग्न पनि लगभग १५ मिनेटमात्र समय लाग्छ। लामो समयसम्म सासूलाई भेट्न नपाएको न्यास्रोले पुल बनेपछि त भेट्न जान्छु भन्ने मनसाय राखिरहेकी मैयाँले पुल सम्पन्न भएकै दिन सासूलाई भेटेकी हुन्।

लामो समयपछि सासू–बुहारी भेट्दा केही बोल्नै सकेनन्। ७४ वर्षको सासू माइलीले शारीरिक अशक्तता र दमको कारण बुहारीलाई भेट्न सकेकी थिइनन्। ‘यत्ति लामो समयपछि भेट भएको छ, धेरै खुसी लाग्यो’, उनले भनिन्, ‘बुहारीको पनि कपाल फुल्न थालिसकेछ।’ अब नियमित नभए पनि महिनाको एक÷दुईपटक सासू–बुहारीको भेट होला भन्ने आशा दुवैलाई छ। 

‘अब त बाटो पनि छोटो भयो, सकिनसकी भए पनि महिनामा एक दुईपल्ट बुहारीलाई भेट्न जान्छु’, सासू माइली भन्छिन्, ‘नजिकका आफन्त भनेकै यिनै बुहारीहरू हुन्। बुहारी बिरामी भएका बेलामा पनि म ओछ्यान परेको थिएँ।’ पुल नहुँदा बुहारी भेट्न लामो समय खर्चनुपर्ने र घरयासी कामले लामो समय छुट्ट्याएर हिँड्न नपाइरहेको पनि उनले बताइन्। 

बुहारी मैयाँ पनि सासूको हेरचाह गर्ने कोही नभएका कारण नियमित सासूलाई भेट्ने बताउँछिन्। ‘साहारा कै भरमा भए पनि सातामा एकपटक सासूलाई भेट्छु’, उनले भनिन्, ‘खोलाको चिप्लोबाटो, लडिएला, खोलामा खसिएला भन्ने डर हुन्थ्यो, अब त्यो डर पनि रहेन।’ हिँउदमा त्यति गाह्रो नभए पनि पुल नहुँदा बर्खाको बेला वारिपारि आउजाउ गर्न निक्कै मुस्किल हुने गरेको उनी बताउँछिन्। 

कुल ४० लाख लागतमा निर्माण सम्पन्न भएको उक्त पुलले चौतारा साँगाचोकगढी नगरपालिका ६ र इन्द्रावती गाउँपालिका २ लाई जोडेको छ। यसअघि सो स्थानमा रहेको २० वर्ष पुरानो पुल निकै जीर्ण बनेको र आवतजावत गर्न नसकिने अवस्थामा पुगेकाले उक्त नयाँ पुल निर्माण गरिएको हो।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले पुलको उद्घाटन गरेसँगै बाहुनेबेंसी झ्याँडी खोला ट्रस पुल सञ्चालनमा आएको छ।

पुल उद्घाटनपछि चौताराका नगर प्रमुख सापकोटाले नगरपालिकाले आवश्यकताको आधारमा विकास कार्य अघि बढाइरहेको बताए। चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक तथा जनहित ग्रामीण सेवा समितिको प्राविधिक सहयोगमा निर्माण सम्पन्न पुलका कारण दुवैतर्फका स्थानीयलाई आवतजावतमा सहज भएको नगरप्रमुख सापकोटाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.