यातायातको बैज्ञानिक भाडादर निर्धारण गर्ने जिल्ला सभाको निर्णय

बागलुङ : जिल्ला समन्वय समिति बागलुङको दोस्रो जिल्ला सभाले जिल्ला सदरमुकाम बागलुङ बजारदेखि पालिकाको केन्द्र र अन्य स्थानसम्मको बैज्ञानिक भाडा दर निर्धारण गरी कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ। जिल्ला समन्वय समिति बागलुङले बुधबार पत्रकार सम्मेलन गरी सोमबार सम्पन्न दोस्रो जिल्ला सभाले १४ बुँदे निर्णय गरेको जनाएको हो।
सभाले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, संकलन, प्रशोधन र बिक्री वितरण सम्बन्धी नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारद्वारा जारी भएका मापदण्ड/कार्यविधि, निर्देशिका तथा अनुगमन समितिबाट यस पूर्व भएका विभिन्न निर्णय एवं दिइएका सुझाव बमोजिम नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन, प्रशोधन विक्री वितरणको साथै क्रसर उद्योग संचालनको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले जानकारी दिए।
आगामी आर्थिक वर्षका लागि जिल्ला दररेट निर्धारण चालु आवको असार १२ गते भित्र निर्धारण गर्ने र उक्त बैठकमा जिल्लाका दशै पालिकालाई आमन्त्रण गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय बागलुङलाई अनुरोध गर्ने निर्णय गरिएको छ।
त्यसैगरी पुष्पलाल मध्यपहाडी लोकमार्गको गल्कोट नगरपालिका-११ मनेवामा दरमखोला हाइड्रो पावरले सडकको कुनामा पाइप लाइन विछ्याएर सडक अतिक्रमण गरेकोले सवारी साधन आवतजावतमा कठिनाई उत्पन्न हुनुका साथै दुर्घटनाको उच्च जोखिम देखिएकाले अतिक्रमणको कार्य रोकी सडक सुचारु राख्ने व्यवस्था मिलाउन पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतलार्य ध्यानकर्षण गराउने निर्णय गरेको प्रमुख थापाले बताए।
उनले लोकमार्गअन्तर्गत नै बागलुङ बजारदेखि अक्षेते खण्ड र अक्षेतेदेखि घोडाबाँधे खण्ड, कालिगण्डकी करिडोर, सालझण्डी ढोरपाटन सडकलगायत जिल्लाभर सञ्चालित प्रदेशिक सडक, भवन र पुल निर्माणको कार्यमाढिला सुस्ती भएकोले उक्त निर्माण कार्य अगाडी नबढाउने निर्माण व्यवसायीलाई कारबाही गर्न र समयमै कार्य समपन्न गरेका निर्माण व्यवसायीलाई भुक्तानीको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको बताए।
सभाले प्रभावकारीरूपमा बजार अनुगमन गरी महँगी नियन्त्रण, अखाद्य वस्तु मिसावट र विक्री वितरण गर्ने कार्य रोक्न सम्बन्धित निकायलार्य ध्यानाकर्षण गराएको छ भने विपद् सम्बन्धि पूर्व तयारी, उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक सामाग्री र बजेट व्यवस्थापनको व्यवस्था पालिकाहरुले मिलाउने निर्णय गरिएको छ। त्यस्तै नेपालभर प्रकोपको रूपमा फैलिएको गाइभैसीमा हुने लुम्पीस्किन रोग र बंगुरमा फैलिएको अफ्रिकन स्वाईन फिवर रोग नियन्त्रण र रोकथामको लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रलाई निर्देशन दिने निर्णय गरिएको प्रमुख थापाले बताए।
त्यसैगरी बागलुङ जिल्लालाई रुपाताल संरक्षण एकीकृत विकास परियोजना गण्डकी प्रदेश कास्कीमा समावेश गरी परियोजना कार्यान्वयन हुन, तमानखोला गाउँपालिका-२ को बोगाखानी गाउँ बाढी पहिरोको उच्च जोखिममा रहेकाले तटबन्धनलगायत संरक्षणको आवश्यक व्यवस्था मिलाउन, निसीखोला गाउँपालिका-१ हुल्दी गाउँ पहिरोको कारण उच्च जोखिममा रहेकाले बस्ती स्थानान्तरणलगायत बस्ती संरक्षण मिलाउन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
