चोर डाँकाको त्रासले थातथलो छाड्नेहरू बढे

चोर डाँकाको त्रासले थातथलो छाड्नेहरू बढे

गोरखा : बारपाक सुलीकोट-४ साविक सौरपानी गाविस, जामुनेका नन्दकुमारी देवकोटा गाउँमा बस्न असुरक्षित लागेर थातथलो छाडी काठमाडौं बसाइ सरे। काठमाडौंमा घर, घडेरी जोडेर नभई गाउँमा चोर, डाँकाको बिगबिगी बढ्न थालेपछि हैरान भएर काठमाडौंमा डेरा खोजेर बसाइँ सरेका स्थानीय दिनेश खनखवासले जानकारी दिए।

उनीको परिवार गत फागुन महिनामा राती साँढे नौ बजे सुतिरहेका बेला डाँकाहरुको आक्रमणमा परेका थिए। चोरडाँकाको त्रासदीले बसिखानु नभएपछि सौरपानी फुञ्चोकबेशीकी फूलमाया पनेरु पनि अचेल घर छोडेर ढोडेनी झरेर बस्न थालेकी छन्। केही महिनाअघि लुटेराको आक्रमणमा परी उनले कानको रिङ गुमाउनु परेको थियो। दिउँसो बाटोमा हिडिरहेका बेला लुटेराले आक्रमण गरी उनको कानबाट रिङ थुतेर लगेका खनखवासले बताए।

गत जेठ चारगते डाँकाहरूसित हानाहान गरेर जोगिएका धनबहादुर ढकाल र सुशीला ढकाल पनि अहिले चोरडाँकासित पराजितको मानसिकतामा छन्। उनको परिवार पनि गाउँ छाड्ने तयारीमा छन्। छिट्टै बसाइँ सर्ने उद्देश्यका साथ उनीहरूले चितवनमा डेरा खोजिसकेका छन्। पशुचौपाया बेचबिखन गरिसकेका उनीहरू यही हप्ताभित्र बसाइँ सरेर जाने खनखवासले बताए।

गत आइतबार बेलुका घरभित्र बसिरहेका बेला चोरडाँकाहरुको आक्रमणमा परेर जोगिएका जामुनेकै चन्द्रप्रसाद देवकोटाको परिबार पनि गाउँ छाड्ने तयारी गर्दै गरेका स्थानीय दिनेश खनखवासले जानकारी दिए।

गाउँमा चोर, डाँकाको साह्रै डरत्रास बढेको अर्का स्थानीय लक्ष्मण न्यौपानेको भनाइ छ। ‘गाउँमा चोर डाँकाको बिगबिगी नै भयो’, न्यौपाने भन्छन्, ‘एक वर्षदेखि गाउँमा कुनै न कुनै चोरीको घटना भइरहेको छ । गाउँलेहरु सबै चोरको डरले न दिउसो बाटोमा हिड्न सुरक्षित ठान्छन्, न राती निर्धक्कले सुत्न सक्छन् ।’

विगत चारपाँच महिनादेखि बारपाक सुलीकोट ४ का विभिन्न टोलमा चोरको त्रासदी बढेको उनको भनाइ छ । ‘लामो समय भइसक्यो चोरडाँकाको गतिविधि बढेको बढै छ । प्रहरीलाई पनि खबर गरेको हो, तर खै सुरक्षाको प्रत्याभूति गराउन सकेको छैन’, उनले भने, ‘भन्ने बेलामा बसाइ सराई न्यूनिकरण गर्ने भन्ने, तर गाउँमा असुरक्षा बढेको महिनौ भइसक्यो, सुरक्षाको माग गर्दा कतैबाट वास्ता छैन । मान्छेहरु धमाधम बसाइँ सर्दैछन् ।’

दुई दिनअघि रातको समयमा जामुनेका चन्द्रप्रसाद देवकोटाको घरमा एमसिपी बन्द गरी घरभित्र पस्न खोज्दा घरवालाले लखेटेका थिए । सोही दिन पोखरी गाउँका नन्दप्रसाद ढकालको घरमा पनि चोरले लुटपाट गर्ने प्रयास गरेका स्थानीय खनखवासले जानकारी दिए ।

टारीगाउँमा राती साँढे नौ बजे सुत्ने तर्खर गर्दैगर्दा घरमा चोर पसेपछि धनबहादुर ढकाल दम्पत्ति र चोर डाँकाहरु बीच हानाहान भएको थियो । गाउँलेहरु धुरिएपछि चोरडाँकाका टोली भागेका खनखवासले जानकारी दिए ।

गत २१ गते पोखरीगाउँमा दिउसो स्थानीय ठाकुरप्रसाद ढकालको घर फुटाएर तामाका भाँडाहरु चोरेर लगेका उनले बताए । स्थानीय यमबहादुर अधिकारीकी आमाको हातको सुनको बाला र कानको रिङ पनि लुटेराले लुटेको खनखवासले बताए ।

गाउँमा चोरी र लुटपाटको घटना बढेपछि स्थानीयबासी त्रसित छन् । कतिपय घरधनी राती सुत्न सकेका छैनन् भने कतिपय आलोपालो गरेर सुत्ने गरेका खनखवासको भनाइ छ । ‘नचिनेका मान्छे राती ढोका ढकढक गर्न आउँछ कि भनेर गाउँलेहरु डराइरहन्छन् । गाउँमा कुरै त्यही हुन्छ’, उनी भन्छन्, ‘दिउसो गाउँमा नौलो मान्छे आए भने पनि चोरै आए कि भनेर शंका हुन्छ । गाउँमा अशान्ति भयो ।’

बारपाक सुलीकोट ४ मा चोर, डाँकाको गतिविधि बढेको गुनासो आएको प्रहरी उपरीक्षक अनुपम श्रेष्ठको भनाइ छ । ‘हामीले केही दिनदेखि त्यस क्षेत्रमा सुरक्षाकर्मीको विशेष टोली खटाएर अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘सादा पोशाकमा पनि विशेष सुरक्षा टोली खटाएर सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौँ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.