ए डिभिजन क्लबहरूले कालो पट्टी नबाँध्ने, खेलाडीको कर प्रचलित कानुनअनुसार

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगका क्लबहरू र अखिल नेपाल फुटबल संघ (एन्फा)का महासविचबीच आइतबार छलफल भएको छ।
फ्रेन्ड्स क्लबको भवनमा भएको छलफलपछि क्लबहरूले एन्फाको विरोधमा कालोपट्टी बाँधेर मैदानमा उत्रिने निर्णय तत्कालका लागि स्थगित गरेका छन्।
पटक पटक ताकेता गर्दा पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्लबहरूको भेलाले पुरानो तयारी खर्च दोस्रो किस्ता, म्याच मनी र प्लेयर अफ दी म्याचको रकम उपलब्ध नगराएकाले जेठ १९ गतेदेखि विरोध गर्ने पनि निर्णय गरेका थिए।
विरोध स्वरुप सबै क्लबका खेलाडी, पदाधिकारीले कालो पट्टी बाँधेर खेललाई निरन्तरता दिने निर्णय भएको थियो। तर, एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै त्यसो नगर्न क्लबहरूलाई सचेत गराएको थियो।
आजको छलफलबाट कालोपट्टी बाँधेर विरोध गर्ने निर्णय हाललाई स्थगित गरेको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले बताए।
यस्तै, ए डिभिजन लिग खेलिरहेका खेलाडीहरूमा लागू हुने कर पनि प्रचलित कानुनअनुसार कट्टा गर्ने निर्णय भएको तुलाधरले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
