चर्च ब्वाइजको उपाधि होड बलियो

काठमाडौं : चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होड बलियो बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा जावलाखेल युथ क्लबलाई ३–० गोलले हराउँदै नवप्रवेशी चर्च ब्वाइजले उपाधि होड बलियो बनाएको हो। चर्च ब्वाइजलाई प्रभावशाली जित दिलाउन आशिष चौधरीले दुई र अञ्जन विष्टले एक गोल गरे।
पहिलो हाफको इन्जुरी समयमा अञ्जनले गोल गर्दै चर्च ब्वाइजलाई सुरुवाती अग्रता दिलाएका थिए। जावलाखेलका डिफेन्डर राहुल राहुलले रञ्जितसिंह पान्द्रेलाई फल गरेपछि चर्च ब्वाइजले पेनाल्टी पाएको थियो। जसलाई अञ्जनले सदुपयोग गरेका थिए। ८८औं मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर बनाए। त्यसपछि इन्जुरी समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजलाई ३–० को जित दिलाए ।
जारी लिगमा चर्च ब्वाइजको १२औं जित हो। शीर्ष स्थानको चर्च ब्वाइजले २४ खेलमा ४४ अंक जोडेको छ। चर्च ब्वाइज दोस्रो स्थानको मच्छिन्द्रसँग पाँच अंकको दूरी बनाएको छ। एक खेल कम खेलेको मच्छिन्द्रको ३९ अंक छ। २६ खेलमा ३७ अंक जोडेको जावलाखेल तेस्रो स्थानमा छ।
यसैगरी अर्को खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ। च्यासल मैदानमा शनिबार भएको खेलमा सातदोबाटोलाई जित दिलाउन शिव सुवेदी र दिपेन्कराज सिंह ठकुरीले एक÷एक गोल गरे। आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काएका थिए।
खेलको दोस्रो मिनेटमै शिव सुवेदीले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाएका थिए। २९औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई खेलमा फर्काए। त्यसपछि ६३औं मिनेटमा दिपेन्कले पेनाल्टीमा गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए।
प्रतियोगितामा सातदोबाटोले नवौं जित निकालेको हो। २४ खेलमा ३२ अंक जोडेको सातदोबाटो पाँचौं स्थानमा छ। २४ खेलमा ३० अंक जोडेको आर्मी सातौं स्थानमा छ।
शनिबार नै भएको अर्को खेलमा थ्रीस्टार र विभागीय टोली एपीएफले बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टार र एपीएफले १–१ गोलको बराबरी खेलेका हुन्। थ्रीस्टारका सुनिल तामाङ र एपीएफका मणिकुमार लामाले गोल गरेका थिए।
खेलमा सुरुवाती अग्रता भने एपीएफले लिएको थियो। २३औं मिनेटमा मणिकुमारले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। ८६औं मिनेटमा सुनिलले गोल गर्दै थ्रीस्टारलाई हारबाट जोगाएका थिए।
प्रतिक्रिया दिनुहोस !
