नेपाल-भारतको सीमा समस्याबारे सोधिएको प्रश्नमा राजदूत शर्माले दिए यस्तो जवाफ
काठमाडौं : भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई 'सद्भावना भ्रमण'को रूपमा ब्याख्या गरेका छन्।
एएनआईसँग कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने दाबी गरे।
भारत भ्रमणका क्रममा मुख्यतः अर्थतन्त्र, ऊर्जा र कनेक्टिभिटीमा केन्द्रित हुने उनको भनाइ छ। दुई देशबीचको सीमा समस्याबारे पनि छलफल हुन्छ? भन्ने प्रश्नमा राजदूत शर्माले प्रधानमन्त्रीसँग बुझ्न आग्रह गरेका थिए।
प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका छन्। उनले आजै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीसँग भोलि औपचारिक वार्ता हुने कार्यक्रम छ। त्यसलगत्तै दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने कार्यक्रम छ।