प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण

भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्म भोलिदेखि कार्गो रेल सञ्‍चालन हुँदै

भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्म भोलिदेखि कार्गो रेल सञ्‍चालन हुँदै
विराटनगर महानगरपालिका–१८ स्थित बुधनगर कस्टम यार्ड । तस्बिर : अन्नपूर्ण

विराटनगर  : भारतको बथनाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म बिहीबारदेखि कार्गो रेल सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको अवसर पारेर मालवहाक रेल सञ्‍चालनमा ल्याउन लागिएको हो । 

प्रचण्ड भारत पुगेपछि दुवै देशका प्रधानमन्त्रीले रेल सञ्‍चालन सुरु गर्ने कार्यक्रम तय भएको बताइएको छ । तर, मुआब्जा विवादका कारण नेपालतर्फ रेलको अन्तिम गन्तव्य मोरङको कटहरी क्षेत्रमा रेलमार्ग निर्माण अवरुद्ध छ । बथनाहा–कटहरी १८.६ किलोमिटरमध्ये निर्माण र परीक्षण सम्पन्न भइसकेको बुधनगरसम्मको ८ किलोमिटरमा मात्रै रेल सञ्‍चालन  हुनेछ । 

रेलमार्ग निर्माण सम्पन्न नभए पनि सीमित दूरीमा कार्गो रेल सञ्‍चालनसँगै व्यापारिक मालवस्तु ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ । औद्योगिक कच्चा पदार्थ र सामान ढुवानीमा आर्थिक भार कम पर्ने उद्योगी व्यवसायी बताउँछन् । रेल सञ्‍चालनका लागि बुधनगर स्टेशनमा गोदाम र लिक मर्मतलगायत व्यवस्थापनसँग सम्बन्धित कामहरु सकिएको छ । 

२०६८ सालदेखि सुरू भएको बथनाहा–कटहरी रेलमार्गको निमार्ण २०७३ सालमा सम्पन्न भइसक्नुपर्ने थियो । तर,कटहरी खण्डको मुआब्जा विवादका कारण भारतीय पक्षलाई जग्गा हस्तान्तरण हुन नसक्दा रेलमार्ग निर्माण सम्पन्न हुन सकेको छैन ।

रेल–वे निर्माणमा भारतले सहयोग गरिरहेको छ । २०७५ कात्तिक ८ गते बथनाहा–बुधनगर रेल–वेको लिक परीक्षण गरिएको थियो । परीक्षणले रेल संचालन योग्य रहेको देखाए पनि हालसम्म रेल सञ्‍चालन हुन सकिरहेको थिएन । 

औद्योगिक कच्चा पदार्थ बोकेको रेल बथनाहादेखि बुधनगरसम्मको निर्धारित दूरीमा १५ मिनेटमा आइपुग्ने जनाइएको छ । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयश प्याकुरेलका अनुसार कार्गो रेल सञ्चालनसँगै सामानको आयातनिर्यात ३५ प्रतिशतसम्म सस्तो पर्नेछ । ढुवानी छिटो हुने,मालवस्तु टुटफुट नहुने र मालसामान बीच बाटोबाटै हराउने सम्भावना पनि नहुने प्याकुरेलले बताए । भने,‘लागत सस्तो पर्नेवित्तिकै औद्योगिक उत्पादन निक्कै सहज हुने छ ।’  

विराटनगर भन्सारमा दैनिक लगभग ४ हजार ५ सय टन मालवस्तु आयात हुने गरेको छ । भारतबाट ८० प्रतिशत र तेस्रो मुलुकबाट २० प्रतिशत मालवस्तु आउने गरेको छ । कार्गो रेल सञ्चालनसँगै भारतबाट आउने ६० प्रतिशतभन्दा बढी र तेस्रो मुलुकबाट आउने सबै रेलमार्फत ल्याउन सकिने उद्योगी व्यवसायी बताउँछन् । 

उनीहरुका अनुसार ट्रकको प्रयोग गरेर मालवस्तु ढुवानी गर्दा १५ टनको ४० हजार भारतीय रूपैयाँ पर्छ । रेलमार्फत ल्याउँदा १५ हजार भारतीय रूपैयाँसम्म बचत हुने उनीहरुको दाबी छ । 

के हो मुआब्जा विवाद ? 

मोरङको कटहरीस्थित रेल स्टेशन क्षेत्रको ११९ बिगाहा जग्गा अधिग्रहणमा विवाद कायमै छ । मुआब्जा निर्धारण समितिले जग्गाधनीलाई प्रतिकट्ठा २ लाख रूपैयाँका दरले मुआब्जा दिने निर्णय गरेको थियो । उक्त निर्णयप्रति असन्तुष्ट बनेका जग्गाधनीले रेल–वे विस्तार र स्टेशन निर्माणका लागि जग्गा दिएका छैनन् । 

अदालतले ८ लाखका दरले मुआब्जा दिनुपर्ने फैसला गरिदिए पनि सरकारले मुआब्जा वितरणमा ढिलाइ गरेपछि स्थानीय ५ सय ६५ जग्गाधनीमध्ये २२ जनाले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । मुद्दाको टुंगो नलाग्दा जग्गा अधिग्रहण सम्बन्धी किचलो कायमै छ । जग्गाधनी भने रेल–वे जग्गा अधिग्रहण पीडित संघर्ष समिति गठन गरेर आन्दोलित छन् । 

आवश्यक जग्गा नेपालले उपलब्ध गराउने र रेलमार्ग निर्माण भारतले गर्ने द्विपक्षीय सहमति थियो । मुआब्जा विवादका कारण भारतलाई समयमै जग्गा उपलब्ध गराउन नसक्दा निर्माण कार्यले पूर्णता पाएको छैन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.