प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, यस्तो छ भ्रमण तालिका
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिल्ली पुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी चार दिने भ्रमणका लागि दिल्ली पुगेका हुन्।
उनी नेपाल एयरलायन्सको विमानबाट नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे।
यस्तो छ प्रधानमन्त्रीको भ्रमण तालिका
भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे तालिका सार्वजनिक गरेको छ। भारतीय पक्षसँगको भेटवार्ता बिहीबारदेखि मात्र सुरु हुने छ। त्यसअघि बुधबार बारखम्बास्थित नेपाली दूतावासको कार्यक्रममा प्रधानमन्त्री सरिक हुने कार्यक्रम छ।
बिहीबार बिहान १०:३० बजेदेखि प्रधानमन्त्रीको भेटवार्ता सुरु हुने छ। सो समयमा उनी राजघाटमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्। त्यसलगत्तै उनको भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका रहेको छ।
बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुनेछ। त्यसलगत्तै १२ बजे दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने तालिका रहेको छ। त्यसपछि ४ बजे प्रधानमन्त्री प्रचण्ड भारतीय उपराष्ट्रपतिलाई भेट्नेछन्।
त्यसको भोलिपल्ट शुक्रबार उनी ४:३५ मा राष्ट्रपति भवन पुग्नेछन्। त्यहाँ उनले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि उनी ८:३० बजे मध्यप्रदेशको इन्दोर प्रस्थान गर्नेछन्। शनिबार त्यहाँको काममा सरिक हुनेछन्। त्यसपछि उनी दिल्ली हुँदै ४:२० मा स्वदेश फर्किने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
