भारत भ्रमणमा प्रधानमन्त्रीका के छन् एजेण्डा? संसदलाई गराए जानकारी
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमणबारे सदनलाई जानकारी गराएका छन्। उनले सोमबार बजेट भाषणलगत्तै बसेको बैठकलाई भारत भ्रमणमा उठाइने एजेण्डाबारे जानकारी गराए।
उनले प्रतिनिधि मण्डलमा परराष्ट्रमन्त्री, अर्थमन्त्री, उर्जा तथा जलस्रोत मन्त्री, भौतिक पूर्वाधारमन्त्री र उद्योगमन्त्री रहने जानकारी दिए। त्यस्तै विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकारी, निजी क्षेत्रका प्रतिनिधि एवं सञ्चरकर्मीसमेत रहने बताए।
उनले भ्रमणमा उठाइने एजेण्डाका विषयमा विज्ञहरूसँग छलफल गरेको बताए। उनले भ्रमणमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई कायम गरिने बताए।
उनले भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति, उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता हुने बताए। त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता र दुई देशबीच सम्झौता पत्रमा हस्ताक्षर हुने बताए।
उनले छलफलमा व्यापार, पारवहन, लगानी प्रवर्द्धन, ऊर्जा क्षेत्रमा व्यापार, अन्तरदेशीय विद्युत प्रसारण लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाइ प्रवेश मार्ग, सम्पर्क सञ्जाललगायतका विषयमा छलफल हुने बताए।
उनले विद्युतमा भारतीय लगानी भित्र्याउने प्राथमिकताका विषय हुने बताए। भारतको भूमि हुँदै बंगलादेश निर्यात गर्ने कुराबारे ठोस कुराकानी हुने बताए।
त्यस्तै पञ्चेश्वर परियोजनामा प्रगति हुन नसकेको भन्दै त्यस विषयमा समेत छलफल हुने बताए। उनले सिँचाइ र जलविद्युतको लागि महाकालीमा साझा उपयोग हुनेगरी डीपीआर टुंगो लगाउने, नयाँ पारवहन सन्धिलाई टुंगो पुर्याउने, सीमा समस्या लगायतका कतिपय विषय सम्बोधन गर्न वातावरण बनाउन छलफल अगाडि बढाउने बताए।
उनले नेपाल फर्किनुअघि इन्दोर र उज्जेनको भ्रमण गर्ने बताए। स्वच्छ भारत अभियानअन्तर्गत इन्दोरमा सोलिड वेस्ट म्यानेजमेन्टको अवलोकन गर्ने कार्यक्रम रहेको उनले बताए। त्यस्तै आइटी पार्कको अवलोकनसमेत गर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस !
