प्रधानमन्त्रीलाई सुझाव : ईपीजी प्रतिवेदन बुझ्न भारतलाई आग्रह गर्नुपर्छ, सीमाको समस्या सम्बोधन हुनुपर्छ

काठमाडौं : भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले पूर्वप्रधानमन्त्रीसहित पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरू र शीर्ष दलका नेताहरूसँग छलफल गरेका छन्। आइतबार सिंहदरबारमा
छलफलमा सहभागीहरूले छिमेकी देश भारतसँग राम्रो सम्बन्ध बनाउन विश्वासको वातावरण बनाउनुपर्ने सुझाव दिएका छन्। बैठकपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सिमानाकामा आधाआधा पानी, ईपीजी प्रतिवेदन बुझ्नेलगायतका विषयलाई अगाडि बढाउन सुझाव दिएको बताए ।
भट्टराईले भने,‘मुख्यतः खुलासिमाको समस्या छ । भारतले ईपीजी प्रतिवेदन ग्रहण गर्दा राम्रो हुन्छ । सिमाना नदीको पानी आधा आधा भन्ने हो । पानीको बाँडफाँटमा आधा आधाको सिद्धान्तलाई अवलम्बन गर्नुपर्छ भनेर सुझाव दियौं । धेरै परियोजना ओगटेर राख्ने मात्रै नराखौं । भारत र नेपालबीचको सम्बन्ध चिसिएको छ,आइसब्रेक हुनुपर्छ ।’
उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतले एयर इन्ट्री रुट दिन भारत सरकारलाई आग्रह गर्नुपर्ने सुझाव दिएको बताए।
यस्तै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ईपीजी प्रतिवेदन बुझ्नका लागि प्रधानमन्त्री प्रचण्डले विशेष जोड दिनुपर्ने सुझाव दिएको बताए। उनले सीमाको विषयलाई पनि टुंगोमा लगाउनुपर्नेमा सुझाव दिएको बताए।
उनले भने,'नेपालको राष्ट्रिय हितमा तपाईं उभिदा त्यसमा प्रमुख प्रतिपक्षी दलको हिसाबले हाम्रो पूर्ण समर्थन रहन्छ। अरू कुराहरूमा हाम्रा पक्ष विपक्षी होलान् तर बाध्य सम्बन्ध र परराष्ट्र नीतिहरूमा सबै दलहरू एक ठाउँमा उभिनुपर्छ भन्यौं। ईपीजी प्रतिवेदन बुझ्नका लागि प्रधानमन्त्रीले विशेष जोड दिनुपर्छ। सीमाको विषयलाई टुंगो लगाउनुपर्छ। गम्भीरतापूर्वक यसलाई लिन आग्रह गरेका छौं।'
उनले बाह्य सम्बन्ध र परराष्ट्र नीतिमा सबै दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । यस्तै उनले वाणिज्य सन्धिको पुनरावलोकन र नेपालका उत्पादनप्रति उदारताका लागि पहल गर्नुपर्नेमा सुझाव दिएको बताए।
प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्।
प्रतिक्रिया दिनुहोस !
