खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले अवैध लागूऔषध खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरेको छ।
ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा खैरो हेरोइनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरेको जनाएको हो।
प्रहरीले झापा बिर्तामोड घर भएका किरण कन्दङ्वालाई बौद्धको एक होटलबाट खैरो हेरोइन २० ग्राम र ७ लाख ४० हजारसहित पक्राउ गरेको थियो।
अनुसन्धानका सिलसिलामा उनको कारोबारको नेटवर्क पहिल्याउने क्रममा झापाका विजय लिम्वु, माधव मेचे, विनोद लिम्बु र भारत दार्जिलिङका शिव घोष र श्यामली सोरेनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। खैरो हिरोइन भारतबाट झापा हुँदै काठमाडौं आइपुग्ने गरेको देखिएको उनले बताए।
त्यस्तै ब्यूरोले ३ किलो ६ सय ग्राम लागूऔषध चरेससहित थाइल्याण्ड जान लागेका सिन्धुपाल्चोक घर भएका तेम्वा शेर्पालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
