नचुकोस् राजनीतिक बाचा

देशमा हुनेहरू फर्किनुहोस्, म खादा लिएर एयरपोर्टमा लिन आउनेछु।’ यो नेपालको एक नवोदित राजनीतिक व्यक्तिको बाचा हो। म न्युजिल्यान्डमा लामो समय बसोबास गरी नेपाल फर्किने तयारीको क्रममा हुँदा सन् २०२२ को अन्ततिर सामाजिक सञ्जालमार्फत यो सन्देश थाहा पाएँ। बोल्ने तर कार्यान्वयन गर्न प्रयासै नगर्ने र बहानाबाजी गरेर पन्छिने प्रवृत्तिमा सुधार हुन्छ कि भन्ने आमअपेक्षा यो लेखमा छ।
‘नेपाल फर्कंदैछु एयरपोर्टमा लिन आउनू’ भनेर उनलाई सम्पर्क गर्ने विचारमा थिएँ, तर गरिनँ। किनभने नेपालमा नेताहरूले निर्वाचनको समयमा मतदातालाई आकर्षित गर्न सम्भव-असम्भव सबै किसिमका बाचा गर्ने प्रचलन छ। त्यो पनि मतदाता आकर्षित गर्ने बाचाजस्तो लाग्यो। सम्पर्क गरे पनि लिन आउँछन्-आउँदैनन्, निश्चित नहँुदा सम्पर्क गर्ने ऊर्जा मिलेन। सञ्जालमा ती नवोदित नेताको पक्ष-विपक्षमा धेरै चर्चा-परिचर्चा र गालीगलौज हुने गरेको पाएँ। न्युजिल्यान्डमा जस्तो मन्त्री, सांसद र राजनीतिक व्यक्तिहरूसँग भेटघाट गर्न नेपालमा सजिलो छैन। एयरपोर्टमा लिन आउने भन्ने त प्रायः असम्भव नै हो त्यसले पनि सम्पर्क गरिनँ।
लाखौं नेपाली विदेशमा छन्। प्रत्येक दिन सयौं नेपाली नेपाल फर्कन्छन्। नेपालमा अहिले तीन अन्तर्राष्ट्रिय विमानस्थल छन्। सञ्जालको सन्देशमा भनेजस्तो नेपाल फर्कनेलाई एयरपोर्टमा लिन जाने हो भने उक्त व्यक्तिको दैनिकीको ठूलो अंश एयरपोर्टमै बित्ने देखेँ। के सबैलाई खादा ओढाएर लिन जान सकिन्छ ? यस्तो प्रायः असम्भव कुरा किन गरेको त ! अहिलेसम्म कतिजनालाई लिन उनी एयरपोर्ट गए ? होला त जवाफ ? उपरोक्त अनुरोधको अभिप्राय के हुनसक्छ ? अनुमान गरेँ। नेपाली विभिन्न कारणले विदेशमा छन्, उनीहरूलाई नेपाल फर्काउने उक्त राजनीतिक व्यक्तिको राजनीति उद्देश्य हुनसक्छ।
न्युजिल्यान्ड बसाईको क्रममा भ्रमणमा आएका नेपालका मन्त्री, सांसद र अन्य उच्च पदस्थ अधिकारीहरूसँग समय समयमा बेलिगंटनमा भेटघाट गर्ने अवसर मिलेको थियो। यस्ता भेटघाटमा पनि बिदेश बसेका नेपाली स्वदेश फर्की विदेशमा आर्जन गरेको ज्ञान, सीप नेपालमा सदुपयोग गर्नुपर्नेमा जोड दिने गरेको अनुभब छ। तर, मेरो नेपाल फर्कने निर्णय पारिवारिक कारणले हो। कुनै राजनीतिक व्यक्तिको आह्वानमा भएको होइन।
उपलब्धि मापन गर्ने आधार : यो पृष्ठभूमि प्रस्तुत गर्नुको कारण हो, विदेशमा बस्ने नेपालीको संख्या, विदेश जानुपर्ने अवस्था, विदेश आउने–जाने प्रवृत्ति, नेपालमा रोजगारी सिर्जना गर्नु हो। यसरी विदेश जाने नेपालीको संख्या कम गर्ने गराउने राजनीतिक दलहरू र राजनीतिक व्यक्तिहरूले गरेको प्रयासको उपलब्धि मापन गर्ने एउटा आधार हुन्छ र हुनुपर्छ। निर्वाचनमा विजयी हुन राजनीतिक दलहरू र राजनीतिक ब्यक्तिहरूले (उम्मेदवार) सक्दो प्रयास गर्छन्। चाहे त्यो नेपाल होस् वा न्युजिल्यान्ड। तर, चुनाव पछिको व्यवहारमा भने धेरै फरक हुने गरेको पाएँ। नेपालमा चुनाव जितेपछि घोषणापत्र र निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरू व्यवहारमा ल्याउन नेताहरूले कम प्रयास गर्ने गरेको पाएँ भने न्युजिल्यान्डमा अधिकतम प्रयास गरेको पाएँ।
तथ्यहरू र चुनौतीहरू : नेपाली युवा अध्ययन र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ। सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७९-८० को प्रथम आठ महिनामा ५ लाख ४० हजारभन्दा बढी युवाले वैदेशिक रोजगारका लागी श्रम स्वीकृत लिएका छन्। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो। आव २०७९-८० को पहिलो पाँच महिनामा ३८ हजारभन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययनका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिइसकेका छन्। यो संख्या अघिल्लो वर्षको भन्दा बढ्ने अनुमान छ। अहिले प्रतिदिन ६ सयभन्दा बढिको आवेदन पर्ने गरेको तथ्यांक छ।
अनौपचारिक स्रोतअनुसार नेपालको शैक्षिक संस्थाहरूमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी भर्ना प्रवृत्ति कम हुँदै गएको छ। धेरै विद्यार्थीको विदेश जाने प्रवृत्ति भएकाले नेपाली शैक्षिक संस्थाहरूमा उनीहरूको आकर्षक नभएर भर्नामा असर पारेको हुनसक्छ। विकासशील राष्ट्रहरूबाट विकसित राष्ट्रहरूमा जनशक्ति पलायन हुनुमा एउटा कारण हो– विकसित देशहरूमा ज्येष्ठ नागरिकको अनुपात बढ्नु। ती देशहरूमा सीपमूलक जनशक्तिको अभाव पूर्ति गर्ने सजिलो र तत्कालीन उपाय भनेको विकासशील राष्ट्रहरूमा रहेका जनशक्तिको उपयोग गर्ने। दोस्रो– विकासशील राष्ट्रहरूमा देशभित्र वैदेशिक रोजगारीमा भनेजस्तो उपयुक्त रोजगारीको अभाब। धेरै नेपाली बिदेसिनुमा दुवै कारण जिम्मेवार छन्– विदेशमा उपयुक्त अबसर र नेपालमा अवसरविहीनताको अवस्था। छिट्टै यो प्रवृत्तिमा सुधार आई विदेश जाने नेपालीको संख्यामा गिरावट आउने सम्भावना कम छ।
उपलब्धि मापन सूचांक ः यस परिप्रेक्षमा राजनीतिक दलहरू, राजनीतिक नेताहरू ‘विशेष रूपमा विदेशमा हुनेहरू फर्किनुहोस्’, भन्ने राजनीतिक व्यक्ति र निज आबद्ध राजनीतिक दलले विदेशबाट फर्केकाहरूलाई स्वागत गर्ने हो भने सोहीअनुसार नीति तथा कार्यक्रममा समावेश गर्नुपर्छ। यस्तै, नेपाल फर्कन उत्प्रेरित गर्ने र विदेश जान निरुत्साहित गर्ने, नेपालमा रोजगारी सिर्जना गर्ने नीति तथा कार्यक्रममा हुनुपर्छ। यदि छैन भने चाँडै त्यो बनाएर सार्बजनिक गर्नुपर्छ। भाषण, अनुरोध र बाचाले मात्र परिवर्तन आउँदैन।
गत आवलाई आधार मानी निम्न सूचांकमा निम्नानुसार सुधार भए चुनावी बाचा पूरा गर्न केही कार्यक्रम कार्यान्वयन गरेभएको र सकारात्मक परिणाम प्राप्त भएको मान्नुपर्छ। होइन भने लेखको सुरुको पहिलो बाचाजस्तै हुन्छ–
विदेशमा काम गर्न श्रम स्वीकृतका लागि आबेदन गर्ने र स्वीकृति लिने वृद्धिदर र संख्या क्रमशः घट्दै जाने।
‘नो अब्जेक्सन सर्टिफिकेट’का लागि आवेदन गर्ने संख्या र स्वीकृति लिने वृद्धिदर क्रमसः घट्दै जाने।
विदेशबाट नेपाल फर्कनेहरूको वृद्धिदर र संख्या क्रमसः बढ्दै जाने।
एक वर्षको कार्य सम्पादन हेरेर उल्लेखित तीन सूचांकमा कस्तो परिवर्तन आउला ? प्रतीक्षामा छु-छौं। नेपालमा पटक–पटक राजनीतिक नेताहरू लोकप्रिय भए तर राम्रो काम गर्ने नसकेकाले दिगो भएन। राजनीतिक ब्यक्तिहरूले केही गर्ने आश्वासन, बाचा गर्छ भने कसरी र कहिले कार्यान्वयन गर्ने हो र कति स्रोत आवश्यक पर्छ ? त्यसको मोटामोटी जानकारी जनतालाई दिनुपर्छ। सफल असफल मापन
गर्ने सूचांक पनि हुनुपर्छ।
प्रतिक्रिया दिनुहोस !
