भ्रष्टाचारको जरै समाऔं

युवराज ज्ञवाली
लोकतान्त्रिक मुलुक सञ्चालन गर्न नीति, सिद्धान्त, विचार र संविधान मात्रै भएर नपुग्ने रहेछ भन्ने भोगाइमा हामी छौं। ती कुराहरूलाई सही तरिकाले कार्यान्वयन गर्न त्यही अनुसारको राज्य संरचना, राजनीतिक दलको दृष्टिकोण र नेतृत्व पनि आवश्यक पर्छ। जुन यहाँ आवश्यक छ, त्यहीँ छैन। त्यसैले अनेक बेथिति बढ्दो छ। यसकै एउटा उदाहरण नेपालीलाई नक्कली शरणार्थी बनाउनु हो। अनि त्यसको लहरो तन्किँदै जानु हो।
यहाँ राजनीतिक व्यक्तिमा आत्माकेन्द्रित प्रवृत्ति र चिन्तन हाबी हुँदै गएको छ। देश र जनताका लागि के योगदान गर्ने भनेर सोच्नेभन्दा पनि मेरो स्वार्थ कसरी पूर्ति हुन्छ भन्ने सोचाइ र चिन्तनले मुलुकलाई धराशायी बनाउँदै लगेको छ। यस्तै चिन्तनले जन्माएको घटना हो नक्कली शरणार्थी प्रकरण। यो अत्यन्त लज्जापद र घृणित काम हो। यो सामान्य भ्रष्टाचार र अपराध मात्रै होइन राष्ट्रघात पनि हो। जति विरोध र आलोचना गरेर पनि यो विषयमा कमै हुन्छ।
आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रपञ्च सत्तामा रहेकाले नै गरे, जजस्को नाम जोडियो त्यो घृणित कार्य हो, नेपालीका लागि र राष्ट्रका लागि घात हो। जिम्मेवारी प्राप्त राजनीतिक नेतृत्वमा नेता र प्रशासक जसले देशलाई सञ्चालन गर्नुपर्ने हो, तर उनीहरू यस्तो घृणित काममा लागेको देखियो। यसले देशलाई नै कमजोर बनाएको छ। हाम्रो अन्तर्राष्ट्रिय छवि धुमिलिएको छ। यसमा जो कोही व्यक्ति लागेका छन्, संलग्न छन् कसैलाई पनि छोड्नु हुँदैन। सबै कानुनी दायरामा आउनुपर्छ। यो घटनाको जरोसम्मै पुग्नुपर्छ, उखेलिनुपर्छ।
यो त एउटा प्रकरण हो। हालै भएको घटना होइन। सुरुवातमा नै रोक्नुपथ्यो, खोतलिनुपथ्यो। त्यो नभए पनि यसरी अनुसन्धान हुन सुरुवात भएको छ, यो राम्रो कार्य हो। तर, यो अनुसन्धानलाई कतैबाट प्रभाव नपारी निष्कर्षमा पु¥याउनुपर्छ। अनि, यो घटनालाई मात्रै छानबिन गरेर पुग्दैन अरू पनि यस्ता धेरै घटना छन्। ती पनि छानबिन हुनुपर्छ। सबैभन्दा महŒवपूर्ण कुरा पछिल्लो समयमा राज्य सत्ताको महत्त्वपूर्ण स्थानमा पुगेका जो कोहीको पनि सम्पत्ति छानबिन गर्नुपर्छ। त्यो नगरिकन वास्तबिक भ्रष्टाचारी पत्ता लाग्दैनन्। उनीहरूले कसरी अकूत सम्पत्ति आर्जन गरे ? अझै विदेशमा राखेका छन् भन्ने पनि सुनिन्छ। त्यो सबैको एकएक छानबिन हुनुपर्छ। यो सरकारले कति गर्न सक्छ सक्दैन त्यो त हेर्न नै बाँकी छ।
अर्कोतिर एमालेको कुरा। यो पार्टी पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी जस्ता नेताले नेतृत्व गरेको पार्टी हो। यसमा हजारौं नेता कार्यकर्ताको रगत पसिना, योगदान र समर्पण छ। उनीहरूको त्याग र बलिदानका आधारमा बनेको यो विशाल र लोकप्रिय पार्टी हो। योभित्र पनि भ्रष्टाचारमा संलग्न व्यक्ति रहेको सुन्दा देख्दा लज्जाबोध हुन्छ। हामी राजनीतिमा किन लागेका हौं ? सोच्नुपर्छ। आदर्श मूल्यमान्यता भन्ने कुरालाई बिर्सेर पैसाका लागि जे पनि गर्ने काम केही व्यक्तिबाट भएको छ। यो दुःखद् कुरा हो। जुनसुकै पार्टीमा खराब र असल दुवै प्रवृत्तिका व्यक्ति हुन्छन्। यो यथार्थ पनि हो।
एमाले भ्रष्टाचार विरोधी पार्टी हो। भ्रष्टाचार अन्त्य गर्नुपर्छ भनेर लागेको पार्टी हो। हामी समाजमा भएमा विकृति विसंगति, शोषण, दमनको अन्त्य गर्नुपर्छ भनेर लागेका हौं। खराब व्यक्तिले पार्टीको शक्तिको दुरुपयोग गरेर आफ्नो स्वार्थ पूरा गर्न लाग्दा रहेछन् भन्ने देखिएको छ। एमालेलाई करेक्सन गर्नुपर्छ। आत्मासमीक्षा र आत्मालोचना गर्नुपर्छ। जनतासँग माफी माग्नुपर्छ। गल्ती कमजारी भएका छन् भने सच्याउनुपर्छ।
सत्तामा जाँदा एमालेले धेरै राम्रा काम पनि गरेको छ। राम्रा काम गर्दा केही बेठीक कुरा पनि भएका हुन सक्छन्। बेठीक कुरालाई ढाकछोप गरिएमा त्यसले पार्टी नै खाइदिन्छ। पार्टीमा गलत चिन्तन, प्रवृत्ति देखिएमा तत्काल नै उपचार गर्नुपर्छ। समयमा ध्यान नदिएमा पार्टी मात्र होइन देश र जनतालाई घाटा हुन्छ। अन्त्यमा यो भुटानी शरणार्थी प्रकरणमा आग्रहपूर्वाग्रह बिना निष्पक्ष छानबिन हुनुपर्छ। एमालेतिर सोझ्याउने गरी गर्नु भएन। तथ्य र प्रमाण पुगेमा जोसुकै भए पनि छोड्न हुँदैन। यसलाई गरौ उसलाई नगरौं भन्ने भयो-गरियो भने त्यो स्वीकार्य हुँदैन। यो लोकतन्त्र र राजनीतिक दललाई शुद्धीकरणको अवसर हो। यो अवसर सदुपयोग गर्नुपर्छ।
(ज्ञवाली एमाले उपाध्यक्ष हुन्)
प्रतिक्रिया दिनुहोस !
