चितवनमा किन बढ्दैछ जनसङ्ख्या

चितवन : विसं २०७८ को जनगणनाअनुसार जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा रहेको छ। पहिलोमा भक्तपुर, दोस्रोमा रुपन्देही र तेस्रोमा चितवन रहेको तथ्यांक कार्यालय चितवनले जनाएको हो।
कार्यालयले बिहीबार आयोजना गरेको जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार जिल्लामा विसं २०६८ को जनगणनामा जनसङ्ख्या वृद्धिदर दुई दशमलव छ रहेको थियो। विसं २०७८ मा जिल्लामा जनसङ्ख्या वृद्धिदर दुई दशमलव सात प्रतिशत रहेको छ।
उनका अनुसार विसं २०६८ को जनगणनामा जनघनत्व दुई सय ६१ प्रतिवर्गकिलोमिटर रहेकोमा अहिले बढेर तीन सय २५ पुगेको छ। जिल्लाको जनसङ्ख्या सात लाख १९ हजार आठ सय ५९ रहेको छ। तीमध्ये महिला तीन लाख ६८ हजार ७० र पुरुष तीन लाख ५१ हजार सात सय ८९ रहेको तथ्यांकले देखाएको छ। विसं २०६८ मा जिल्लाको जनसङ्ख्या पाँच लाख ७९ हजार नौ सय ८४ थियो। पहिलेको तुलनामा एक लाख ३९ हजार आठ ७५ बढेका छन्।
परिवारको औसत आकार चार दशमलव एक रहेको भण्डारीले जानकारी दिए। जिल्लामा एक लाख ७९ हजार तीन सय ४५ परिवार बसोबास गर्दै आएको कार्यक्रममा जानकारी दिइयो।
जिल्लामा स्थायी ठेगाना भएर धेरैजसो विदेश बसोबास गर्ने ४६ हजार आठ सय ६१ परिवारका ६५ हजार ६४ छन्। तीमध्ये पुरुष ५० हजार छ सय ५५ र महिला १४ हजार चार सय नौ छन्। सोह्र हजार चार सय ९६ अपाङ्गता भएका व्यक्ति रहेको कार्यक्रममा जानकारी दिइयो। तीमध्ये आठ हजार सात सय ६७ पुरुष र सात हजार सात सय २९ महिला रहेका छन्। जिल्लाको साक्षरता दर ८३ दशमलव ६८ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।
१२औं राष्ट्रिय जनगणनाअनुसार जिल्लाको सबैभन्दा धेरै जनसङ्ख्या भएको पालिका भरतपुर महानगरपालिका रहेको छ। भरतपुर महानगरमा मात्रै तीन लाख ६९ हजार दुई सय ६८ बसोबास गर्ने गरेको सो अवसरमा जानकारी दिइयो। सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा २७ हजार छ सय ४३ बसोबास गर्दै आएको तथ्यांकमा उल्लेख छ।
त्यस्तै कालिका नगरपालिकामा ५२ हजार एक सय ६४, खैरहनी नगरपालिकामा ६७ हजार तीन सय ८५, माडी नगरपालिकामा ३८ हजार दुई सय ९५, राप्ती नगरपालिकामा ६६ हजार छ सय १७, रत्ननगर नगरपालिकामा ८९ हजार नौ सय पाँच रहेको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले राष्ट्रिय जनगणनाको तथ्यांकले नीति निर्माणमा सहयोग पुग्ने बताए। यो तथ्यांकका आधारमा नीति निर्माण तथा विकास निर्माणमा सहयोगी बन्ने भन्दै उनले यस्ता तथ्यांकको सही सदुपयोग हुन आवश्यक रहेको बताए।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस्ता तथ्यांकलाई अझै विस्तृतरूपमा केलाउन सके समाजको विकासमा सहयोगी बन्ने बताए।
प्रतिक्रिया दिनुहोस !
