घर फोडेर ६१ लाखको सुनचाँदी चोरी गर्ने गिरोह पक्राउ

विराटनगर : विराटनगर महानगरपालिका-३ स्थित पिपल चोकमा घर फोडेर सुनचाँदी चोरी गर्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ।
जयकिशोर चौधरीको घर फोडेर जेठ ३ गते राति चोरी गरिएको थियो। चोरीमा संलग्न विराटनगर-१२ का १९ वर्षीय विवेक कामत, २१ वर्षीय राजकुमार कामत र २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए।
विराटनगर-१२ कोसी प्रोजेक्टस्थित सडकबाट पक्राउ परेका तीनै जनाविरुद्ध चोरी मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको उनले बताए।
पोखरेलका अनुसार पक्राउ परेकाको साथबाट भारततर्फ बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा चाँदीका सामान र गहना बरामद भएको छ।
चौधरीले आफ्नो घरबाट ४१ लाख मूल्य बराबरको ३६ किलो चाँदी र २० लाख मूल्य बराबरको २० तोला सुन चोरी भएको जानकारी प्रहरीलाई गराएका थिए। ६१ लाख मूल्य बराबरको सुनचाँदी चोरी भएको जानकारी आउनसाथ घटनाको अनुसन्धानका लागि इन्सपेक्टरको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।
खाँ ज्वेलर्सका संचालक ज्योतिप्रसाद खाँसँगको साझेदारीमा चौधरीले सुनचाँदीको कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सुनचाँदी र त्यसबाट निर्मित सामान भने चौधरीकै घरमा राख्ने गरिएको पत्ता लागेको छ।
घटनाको सूचना संकलनका क्रममा कारागार र बाल सुधार गृहबाट छुटेका माथि पनि निगरानी बढाउँदै प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान अघि बढाएको थियो।
त्यस क्रममा चोरीमा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको एसपी पोखरेलले बताए। उनका अनुसार छिमेकी रहेका उनीहरू यसअघि पनि चोरीका विभिन्न घटनामा संलग्न रहेको र पटक-पटक मुद्दा चलिसकेको खुलेको छ।
पक्राउ परेकामध्ये विवेक चोरी मुद्दामै २०७९ साउन ४ गतेदेखि ९ महिना कैद सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन्। उनी गत वैशाख २८ गते कारागारमुक्त भएको प्रहरीले जनाएको छ।
त्यस्तै, डाँका चोरी मुद्दामा अदालतले दोषी ठहर गर्दै श्रीकान्तलाई २० महिना कैद सजाय सुनाएको थियो। उनी कैद सजाय भुक्तानका लागि २०७७ पुस २९ गतेदेखि २०७९ असोज ३ गतेसम्म कारागार बसेका थिए। कारागारबाट छुटेपछि उनीहरू चोरीमै संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेकाहरूले चोरेको सुन भने भारतको जोगवनीमा लगेर ७ लाख रुपैयाँमा बिक्री गरेको प्रहरले जनाएको छ। ‘घर फुटाएर सुनचाँदी चोरी गरेपछि चोरीमा संलग्नहरू विराटनगरकै हाटखोलास्थित दिव्यरत्न होटलमा ३ दिनसम्म बसेको र त्यसपछि भारततिर गएको पाइएको छ,’ एसपी पोखरेलले भने, ‘चोरीका अन्य घटनामा पनि उनीहरूको संलग्नता छ कि भनेर अनुसन्धानको दायरा फराकिलो पारिएको छ।’
उनका अनुसार चोरीको योजना बनाउन उनीहरू बाटोमा कसैले थाहा नपाउने गरी डुल्दै हिँड्ने गरेको पाइएको छ। ‘विशेष गरेर ताल्चा लगाएको घरलाई मुख्य निशाना बनाउने गरेको पाइयो। रड वा फलामका वस्तु प्रयोग गरेर ताल्चा फुटाउँदै चोरी गर्ने गरेको खुलेको छ,’ पोखरेलले भने, ‘घरभित्र रहेका सुनचाँदी र नगद मात्रै लिएर जाँदा रहेछन्। मोबाइल, ल्यापटप, इलेक्ट्रोनिकलगायतका सामान नचलाउने गरेको पत्ता लाग्यो।’
उनका अनुसार मानिसको भीडभाड नहुने, छरछिमेकी व्यस्त रहने र घरमा कोही नभएको समयमा चोरी गर्ने गरेको पत्ता लागेको छ।
चोरी गर्ने उद्देश्यले हिँड्ने व्यक्तिले प्रशस्त मात्रमा सुनचाँदी एवं नगद राखिएका घरको पहिचान गर्ने र ३-४ दिन लगाएर योजना बनाउने गरेको खुलेको पोखरेलले बताए।
उनका अनुसार चोरी गरेको सामान व्यवस्थापन गर्न कोठा भाडामा लिने गरेको पाइएको छ। ‘चोरी गरेपछि होटलमा कोठा भाडामा लिएर केही दिन लुकेर बस्ने र घटना साम्य भएपछि मात्रै चोरीमा संलग्न बाहिर निस्किने गरेको पत्ता लागेको छ,’ उनी भन्छन्, ‘चोरी गरिएका सुनचाँदीका सामान भारतमा लगेर बेच्ने गरेको खुलेको छ।’
पक्राउ परेकाको साथबाट ३५ किलो चाँदीका विभिन्न गहना र सामान तथा ८ ग्राम सुन बरामद भएको छ। साथै भारतीय रुपैयाँ २ हजार ५ सय र नेपाली १ हजार ७ सय ३० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। एसपी पोखरेलले चोरीमा संलग्न गिरोह पक्राउ गर्ने अधिकृतसहित ७ जना प्रहरीलाई पुरस्कृत गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
