फोनपे र एनएमबी क्यापिटलबीच आईपीओ जारी गर्ने पूर्व तयारी सम्झौता

काठमाडौं : फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आईपीयो जारी गर्ने पूर्व तयारी सुरू गरेको छ । यसमा लागि फोनपे र एनएमबी क्यापिटलबीच परामर्शसेवासम्बन्धी सम्झौता भएको हो । एनएमबी क्यापिटलले फोनपेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आईपीओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ ।
यो सम्झौतासँगै एनएमबी क्यापिटलले फोनपेलाई आईपीयो जारी गर्न चाहिने पूर्व तयारी गर्न सघाउने छ । पूर्व तयारीको काम सकिएपछि नियमक निकायबाट आवश्यक स्वीकृति लिइ फोनपेले सर्वसाधारणका लागि आईपीओे जारी गर्नेछ ।
फोनपे आइपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पिनी हो । नेपालको पुँजी बजारमा फोनपेको लागि एनएमबीसँग सम्झौता एक महत्वपूर्ण कोसेढुङ्गा कम्पनीले विश्वास लिएको छ।
सम्झौतामा हस्ताक्षर गर्दै फोनपेका प्रमुख कार्याकारी प्रमुख दिवस सापकोटाले एनएमवीसँगको सम्झौताले आफूहरूलाई थप सहज हुने बताए। 'हामीले साधारण शेयर जारी गर्ने मात्र भन्दा पनि प्रविधि क्षेत्रमा काम गरि रहेका नेपालका अन्य कम्पनीहरूलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका हौँ । यस सपनालाई हाँसिल गर्न हामीलाई आवश्यक पर्ने सहयोग र मार्गदशन गर्नका लागि एनएमबी क्यापिटलसँग सहकार्य गर्न लागेका हौं । '
फोनपेका प्रमुख कार्यबारी अधिकृत दिवस सापकोटाले एनएमबी क्यापिटलसँग यो परिवर्तनकारी यात्रा सुरू गर्न पाउँदा खुसी लागेको बताए। उनले यसले सम्भावित लगानीकर्ताहरूलाई फोनपेबारे सही र भरपर्दो जानकारीको सुनिश्चितता गर्ने विश्वास व्यक्त गरे।
फोनपे नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा इजाजतपत्र प्राप्त एक अग्रणी डिजिटल भुक्तानी नेटवर्क हो । सन् २०१९ देखि सञ्चालनमा रहेको फोनपेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोन मार्फत् नगदरहित भुक्तानी सेवा दिँदै आएको छ ।
फोनपे नेटवर्कमा ५८ बढी बैंक तथा वित्तिय संस्था सदस्य छन्। १ करोड ८० लाख बढि सन्तुष्ट सेवाग्राही र १२ लाख बढि मर्चेन्टहरू आवद्ध छन् । यसले दैनिक सात अर्बभन्दा बढीको नगद रहित कारोबारलाई सहजिकरण गरिरहेको छ ।
एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटल,नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा इजाजतपत्र प्राप्त संस्था हो ।
प्रतिक्रिया दिनुहोस !
