बाँध बाधेर बाघलाई पानी
निकुञ्जको पूर्वदक्षिणमा राप्ती नदी र पूर्वउत्तरमा बबई नदी छ। दुवै नदीलाई बाहिर राखेर निकुञ्ज बनाइएको छ। वन्यजन्तुलाई नदीको पानी खान समस्या छ।
ढकेरी : नदी र खोला थुन्न बाँध बाँधेको देख्नेलाई निकुञ्जभित्र बाँध बाँधेको सुन्दा र देख्दा अच्चम्म लाग्न सक्छ। तर, बाघलगायतका वन्यजन्तुका लागि बाँके राष्ट्रिय निकुञ्जभित्र एउटा होइन, चार–चारवटा सिमसार क्षेत्रमा बाँध बाँधेर पानी संरक्षण गरिएको छ। त्यसैमध्येको एक हो, जलसेनी।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार साह तराई भू–परिधि कार्यक्रम नेपालको आर्थिक सहयोगमा पाँच हेक्टर क्षेत्रमा फैलिएको जलसेनी क्षेत्रको पश्चिम भागमा बाँध बाँधिएको बताउँछन्।
वार्डेन साहले प्रष्ट पारे, ‘जालीमा ७४ घनमिटर ढुंगा भरेर ड्याम बनाइएको छ। वन्यजन्तुलाई हिँड्न गाह्रो नहोस् भनेर जालीलाई माटोले पुरिएको छ।’ चुरे पहाडको मूलबाट रसाएर आएको पानीबाट जलसेनीमा सीमसार क्षेत्र बनेको छ।
बाँध बाँध्नु अघि त्यहाँको पानी बगेर जान्थ्यो। ताल सुक्थ्यो। अब त्यहाँ बाह्रैमास पानी जम्ने अपेक्षा छ। ‘धेरै पटक यहाँ पानी खान आएको बाघ भेटिएको छ। यो बाघ पाइने क्षेत्र हो’, केही दिन हप्ता अघि निकुञ्ज अवलोकन गर्न जाँदा वार्डेन साहले कालो पानीमा तैरिरहेको कालो चरा देखाउँदै भनेका थिए, ‘परको तालमा हेर्नुस् त त्यो कालो विदेशी चरा हो। यहाँ थुप्रै चरा पनि छन्।’ जलसेनीको सिमसारमा बाँध बाँध्न २३ लाख ७५ हजार ३ सय रुपैयाँ सहयोग गरेको तराई भू–परिधिका कार्यक्रम सहप्रबन्धक कमलराज राईले बताए।
तराई भू–परिधिले यस्तै निकुञ्जभित्र पानीको स्रोत व्यवस्थापन गर्न गोठेरी/खैरीमा पनि चार लाख ९९ हजार ५८६ रूपैयाँ सहयोग गरेको छ। जलसेनीमा पानी खान आएका वन्यजन्तु अवलोकन गर्ने मचान पनि छ तर सिँढी भाँचिएको र काठका खाँबा बाँङ्गिएर प्रयोगविहीन छ। जलसेनी मात्र होइन, निकुञ्जले आफ्नै स्रोतमा पनौती, गन्धेली र रानी गजुरी क्षेत्रमा पनि बाँध बाँधेर तालको पानी संरक्षण गरेका निकुञ्ज कार्यालयले जनाएको छ।
निकुञ्जको पूर्वदक्षिणमा राप्ती नदी र पूर्वउत्तरमा बबई नदी छ। दुवै नदीलाई बाहिर राखेर निकुञ्ज बनाइएको छ। वन्यजन्तुलाई नदीको पानी खान समस्या छ।
राजमार्गको बाटो हुँदै पानीको खोजीमा निस्कँदा गाडीको ठक्करबाट जनावरको मृत्यु हुने गरेको छ। बर्सेनि औसत ५५ वटा जनावरको गाडीको ठक्करबाट ज्यान जाने गरेको छ। आर्थिक वर्ष ०७१/७२ देखि ०७८/७९ सम्म ४४६ वटा वन्यजन्तुको मृत्यु भएको निकुञ्जले जनाएको छ।
त्यसो त, निकुञ्जभित्र परुवा, सुखार, मुगुवा खोला लगायतका ४५ वटा खोला छन्। अधिकांश खहरे खोला हुन्। वर्षायाम बाहेक यी खोलामा पर्याप्त पानी हुँदैन। खेरी लगायतका १० वटा स्थानमा सोलार सिस्टमबाट चल्ने डिप बोरिङ गाडेर नियमित पानीको व्यवस्था गरिएको छ।