कल्पनामा रमाएका सन्तुष्टिहरू

कल्पनामा रमाएका सन्तुष्टिहरू
सांकेतिक तस्बिर।
सुन्नुहोस्

वास्तविकताको संसार तथा ज्ञानको आफ्नै सीमा हुन्छ। तर, कल्पनाको संसारको कुनै सीमा छैन। वास्तविकतामा कहिल्यै महसुससम्म नभएको संसारमा पनि कल्पनाले मानिसलाई लैजान सक्छ।

मानिसले आफूलाई एक्लो महसुस नगर्ने दुनियाँ हो, कल्पनाको संसार। वास्तविक संसारका अभावलाई प्राप्त गर्ने थलो पनि हो, कल्पनाको संसार। यथार्थतासँगै दुःख र वेदनाका पोकालाई एकैछिन आफूबाट अलग राखेर मानिसले आफैंभित्र खुसी खोजिरहेको हुन्छ। चाहना र लक्ष्यहरूले शारीरिक एवं मानसिक रूपमा मानिसलाई पछ्याइरहेको हुन्छ। कहाँ के कति लक्ष्यहरू जितसँग साटिए ? के कतिमा हारका आँसुसँग नाता गाँसिए। सुख–दुःख, आँसु–हाँसो, सफलता–असफलता जे जति प्राप्त भए वा भएनन्, त्योबाहेक पनि मानिसको दुनियाँमा कल्पनाको संसार छ। भौतिक संसारमा नपाएका जुनै वस्तु तथा अनुभव र आशाका किरणहरू कल्पनाको दुनियाँमा मानिसले सहजै प्राप्त गरिरहेको हुन्छ। आँसुको सागरभित्र पनि खुसीको महल ठड्याउन सक्छ। निस्पट अन्धकारहरू हुन् या दुःखका धापहरू कल्पनाको संसारमा बाधा बन्न सक्दैनन्।

वास्तविकताको संसार तथा ज्ञानको आफ्नै सीमा हुन्छ। तर, कल्पनाको संसारको कुनै सीमा छैन। वास्तविकतामा कहिल्यै महसुससम्म नभएको संसारमा पनि कल्पनाले मानिसलाई लैजान सक्छ। कल्पनाले मनसँग प्रत्यक्ष सम्वन्ध राख्छ। मनको सहारामा कल्पनाले पहुँच स्थापित गरेको हुन्छ। सक्रिय मनले मानिसलाई कल्पनाको संसारमा सयर गराइरहन्छ। विचारबिना मन सक्रिय हुँदैन। सरस्वतिनन्द खप्तडबाबाले ‘विचार विज्ञान’मा लेखेका छन्– ‘मन नै विचार हो र विचार नै मन हो एवं श्वास लिनु नै विचार गर्नु हो र विचार गर्नु नै श्वास लिनु हो। बिनाविचारको मानिस श्वास लिन सक्दैन र बिनाश्वास विचार गर्न सक्दैन अर्थात् मन, विचार र श्वासको यस्तो घनिष्ठ सम्बन्ध छ कि यसबाट कुनै एकको संयमले तीनवटैको संयम भएर प्राण–शक्तिको स्पन्दन प्रतीत हुन्छ।’ रुज एन्ड भिक्टरले पनि सन् १९९९ इएमजे पेपरमा वर्णनात्मक, रचनात्मक र चुनौतीपूर्ण गरी तीन किसिमले कल्पनालाई परिभाषा गरेका छन्।

वास्तविकता र कल्पना नितान्त अलग कुरा हो। वास्तविकताहरू प्रयोग र अनुभवसहित स्थापित भइसकेका हुन्छन्। तर कल्पनाहरू वर्णनात्मक, रचनात्मक र चुनौतीपूर्ण चरणहरूमा संघर्ष गर्दै आसा र भरोसामा बाँचेको हुन्छन्। लक्ष्य प्राप्त गरिसकेका कल्पनाहरू नै पछि वास्तविकतामा रूपान्तरित हुने हुन्। काल्पनिक संसारको सहाराबिना मानिस लक्ष्यहिन बन्छ। कल्पना मानवहृदयको आँखा पनि हो। कल्पनाले मानिसलाई जिउन सिकाइरहेको हुन्छ। मानिसलाई थाहा छ– कल्पनाको संसारमा यथार्थता छैन। तथापी कल्पनाभन्दा बाहिर गएर आफूले आफैंलाई भरोसा गर्न सक्दैन। कल्पनाको दुनियाँमा रमाउँदै वास्तविकतामा लक्ष्य भेट्ने प्रयासमा हुन्छन्। कल्पनामा बुनिएका आसाले अनुभवमाथि विजयी गरिरहेको हुन्छ। नयाँ नयाँ खोज तथा आविष्कारहरूले पनि जन्म लिइरहेका हुन्छन्।

कल्पनाले मानिसलाई कहिलेकाही मुर्ख पनि बनाइदिन्छ। नदीभित्र बालुवाको महल ठड्याइदिन्छ त कहिले पैदलै आकाश सयर। तर मुर्खपनभित्र पनि मानिसले खुसी भने प्राप्त गरिरहेको हुन्छ। साहसको आवाज र खुसीको दुनियाँ पनि हो कल्पनाको संसार। दुःखभित्रको सुख अनि अन्धकारभित्रको उज्यालो पनि हो कल्पना। कल्पनाको संसार शून्यदेखि सम्पूर्णको भण्डार पनि हो। कही नलेखिएका अक्षरदेखि नकोरिएको चित्रसम्म, कही नबोलिएका भाषादेखि नदेखिएका बिम्बसम्म सबै पाइन्छन्। निमेषभरमा आँसुको सागरबाट मानिसलाई खुसीको शिखरमा चुमाइदिन्छ त कहीँ आनन्दको चुलीबाट पीडाको दहमा पछारिदिन्छ। सुख र दुःखका अनुभूतिहरूका भकारी पनि हो, कल्पनाको संसार।

विज्ञहरूले विशेषताका आधारमा सिन्थेटिक र रचनात्मक गरी दुई प्रकारका रूपमा कल्पनालाई व्याख्या गरेको पनि पाइन्छ। सिन्थेटिक कल्पनाले मान्यताप्राप्त तथा स्थापित भइसकेका विचार, अवधारणा, तथ्य र सिद्धान्तहरूलाई नयाँ स्वरूपमा समावेश गराउँछ। रचनात्मक कल्पनाले निष्क्रिय वा अचेतन तŒवहरूको अन्तक्र्रियाबाट नयाँ वस्तु सिर्जना गर्छ। वास्तविक संसारमा गरिने परिभाषाहरूले कल्पनाको संसारलाई अथ्र्याउँदा परिभाषा पूर्ण नहुन सक्छ। कल्पनाको संसार न कुनै सीमिततामा बाँधिएको छ। न कुनै अर्को वस्तुसँग नै दाँजिन्छ। असिमितताभित्र विविधताको जगमा बसेको हुन्छ, कल्पनाको संसार। सिधै मानव हृदय र मस्तिष्कसँग सम्वन्ध राख्छ।

मानिसलाई कल्पना कहाँबाट आउँला ! मानिसको जीवनमा विभिन्न घटना घटिरहेका हुन्छन्। ती घटना परिघटनालाई मानव मस्तिष्कले सम्झनाको रूपमा दिमागमा भण्डारण गरिराखेका हुन्छन्। तिनै भण्डारण गरिएका जानकारी कल्पनाको माध्यम बन्छ। कल्पनाले सामान्यत शारीरिक रूपमा उपस्थित नभएका भावनालाई मानसिक रूपमा प्रतिनिधित्व गर्ने क्षमता राख्छ। कहिल्यै नदेखेको तथा अनुभव नगरेका स्वाद र वस्तु पनि सोच्ने ल्याकत राख्छ। भौतिक विज्ञानले खोज तथा आविष्कार गरेका सुख सुविधाहरू हुन् या दुःखका भुमरीमा लपेटिएका मानिसका चाहनाहरू सबै सृष्टिको सुरुआत कल्पनाबाटै हुने हो। मानिसले कल्पनाभित्र सन्तुष्टि खोजिरहेको हुन्छ। सन्तुष्टिले कल्पनाको वजनलाई मापन गर्छ। कल्पनामा प्राप्त सन्तुष्टिले मानिसको वास्तविक संसारलाई समेत प्रभाव पार्छ। विचार अर्थात् मनलाई प्रभावित गर्नसक्ने सन्तुष्टिको अचुक माध्यम हो, कल्पनाको संसार।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.