ग्याजीको तामाखानी उत्खनन गर्न टेन्डर

ग्याजीको तामाखानी उत्खनन गर्न टेन्डर
सुन्नुहोस्

 गोरखा : बिगतका वर्षहरूमा सरकारले अनुसन्धान तथा खोजतलास गरिरहेको बारपाक सुलीकोट–७ ग्याजीस्थित तामाखानीको जिम्मा निजी क्षेत्रलाई दिन टेन्डर आह्वान गरेको छ। खानी तथा भूगर्भ विभागले निजी क्षेत्रलाई पहिलो चरणमा अनुसन्धान गर्न दिने र पछि तामा उत्खननका लागि पनि ठेक्का दिने विभागका सूचना अधिकारी नारायाण बास्कोटाले जानकारी दिए। वषौंँदेखि गर्भमा रहेको तामा उत्खननका लागि विभागले तदारुकता देखाएको छ। विभागले ग्याजीको ५.९५ वर्गकिलोमिटर क्षेत्रभित्र तामाखानी अन्वेषण तथा खोजतलासका लागि दुई पटकसम्म टेन्डर गरेको छ।

पहिलोपटक विभागले गत फागुन १४ गते खानीको अनुसन्धानका लागि टेन्डर आह्वान गरेको थियो। सार्वजनिक खरिद ऐनअनुसार ठेक्का स्वीकृत गर्न कम्तीमा तीनजनाको ठेक्का पर्नुपर्ने व्यवस्था छ। ‘पहिलोपटक तीन जनाको ठेक्का पर्नुपर्नेमा नपरेको हुनाले फेरि वैशाख २१ गते दोस्रोपटक ठेक्का आह्वान गरिएको छ’, सूचना अधिकारी बस्नेतले भने, ‘यसपटक कति जनाको पर्छ हेरौं। जे होस्, यो तामा खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग अत्यन्त उत्सुक छ।’ कम्तीमा १७ लाख ८० हजार रुपैयाँ राजस्व तिरेर त्यहाँको अन्वेषण गर्न निजी क्षेत्रका लागि टेन्डर आह्वान गरिएको 
बास्कोटाले बताए।

खानी तथा खनिज पदार्थ ऐन २०४२ तथा खानी तथा खनिज पदार्थ नियमावली २०५६ अनुसार पहिलो चरणमै सरकारले निजी क्षेत्रलाई तामा उत्खनन अनुमति दिन मिल्दैन। त्यसैले सुरुमा अनुसन्धान, अन्वेषण तथा खोजतलासका लागि भनेर अनुमति दिनका लागि ठेक्का आव्हान गरिएको छ। ‘प्रक्रिया सुरु भएको छ। कुनै न न कुनै दिन कामको सुरुवात होला नि !’, वडाअध्यक्ष कृष्ण गुरुङ भन्छन्, ‘खानी तथा भूगर्भ विभागले सुरुदेखि नै चासोका साथ हेरिरहेको छ। व्यक्ति तथा समुदायले आँखाले देखेको भए पनि त्यसलाई खास खनिज भन्न सकिँदैन। सरकारी मापदण्डअनुसार अनुसन्धान गरेपछि मात्र सो तामालाई ‘खास खनिज’ भन्ने सरकारी प्रावधान छ। 

गतवर्ष खानी तथा भूगर्भ विभागले ‘सर्फेस’ अनुसन्धान गर्दा त्यहाँ तामाको गुणस्तर ‘राम्रो’ रहेको पाइएको वडा अध्यक्ष गुरुङले बताए। एक महिना लामो अध्ययन गर्दा ग्याजीमा ‘राम्रो’ क्वालिटीको तामा छ भन्ने निश्कर्ष निकालिएको विभागका सिनियर डिभिजनल जुओलोजिस्ट ठाकुरप्रसाद कँडेलले जानकारी दिए। 

२०२८ सालअघि सो ठाउँमा तामाको खानी सञ्चालनमा रहेको सो वडाका वडाअध्यक्ष गुरुङले जानकारी दिए। ‘२०२८ सालसम्म तामाखानी चालु थियो भन्ने बुढापाकाको भनाइ छ। त्यतिबेलाको तामाको भाँडाहरू गाउँमा अहिले पनि पाइन्छ’, उनले भने, ‘तर पछि खानी तथा भूगर्भ विभागले नै उत्खनन बन्द गराएको हो। अब उत्खनन कार्य सुरु गर्न हामीले दबाब दिइरहेका छौं।’ खानी सञ्चालन भए देश धनी हुने, स्थानीय सरकार धनी हुने विश्वास उनले व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.