नेपाली बालपत्रिकाको परम्परामा बालप्रज्ञाको स्थान

नेपाली बालपत्रिकाको परम्परामा बालप्रज्ञाको स्थान
सांकेतिक तस्बिर।

विभिन्न उमेरसमूहका बालबालिकाका रुचि र मनोविज्ञानलाई ध्यानमा राखी माध्यम, विधि र विषयमा विविधतायुक्त, मूलतः मनोरञ्जनप्रधान आवधिक प्रकाशनलाई बालपत्रिका भनिन्छ। यसमा एकातिर विवादरहित संज्ञानात्मक सन्दर्भ आवश्यक छ भने अर्कोतर्फ  बालपाठकमा नकारात्मक  सन्देश नजाओस् भन्ने कुरामा त्यत्तिकै सतर्कताको जरुरी हुन्छ। यो समसामयिकता, अन्तरक्रियात्मकता  सिर्जनशीलता जस्ता विशेषतायुक्त हुन्छ। त्यसैले पनि   पाठ्यपुस्तक मात्र नभई कतिपय एकरसतासहितका बालसाहित्यिक कृतिभन्दा  विविधतायुक्त बालपत्रिका बालसंसारमा  लोकप्रिय रहँदै आएको छ। यसको नियमित पठनबाट  पठन संस्कृतिका अतिरिक्त अभिव्यक्ति कौशलसहितको सिर्जनशीलतमा अभिवृद्धि हुनुका साथै बाल पाठकहरू वर्तमानसँग परिचित हुने मौका पाउँछन्।

नेपालमा बाल पत्रिकाहरूको प्रकाशन २००७ सालको परिवर्तनपछि मात्र थालिएको पाइन्छ।  माध्यमिककालीन गोरखा हास्य मन्जरी (सन् १८९५ )मा प्रकाशित स-साना केही बालोपयोगी  कथाका अतिरिक्त  गोरखा पत्र,  चन्द्रिका आदि पत्रिकाहरूमा छापिएकामध्ये केही बालोपयोगी रचनाका अतिरिक्त आधुनिक कालमा युगवाणी को पहिलो अङ्कमा प्रकाशित देवकोटाका बाल कविताहरूको  पृष्ठभूमिमा २००८ सालमा प्रकाशित बालसखा  नेपालको  पहिलो बाल पत्रिकाका  रूपमा देखापर्छ। यसरी सात दशक पूरा गरेको नेपाली बाल पत्रिकाको विकासक्रममा   सयभन्दा बढी पत्रिकाहरू प्रकाशनमा आएका छन् तापनि तीमध्ये केहीले  मात्र दीर्घ जीवन प्राप्त गर्न सकेको देखिन्छ। यहाँ स्थापनाकालदेखि नै  प्रौढहरूको मात्र भाषिक एवं साहित्यिक खुराक बन्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानको प्रकाशनले पहिलोपल्ट बालबालिकामा केन्द्रित भई  थालेको बालप्रज्ञा (२०७६) सम्म आइपुग्दाको बालपत्रिकाको  विकास यात्राप्रति विहङ्गम दष्टि दिँदै यसका सबल र दुर्बलपक्षको सामान्य चर्चा गरी  बालप्रज्ञा प्रकाशनको पृष्ठभूमिसहित यसका वैशिष्ठ्यका  बारे छोटो चर्चा गरिएको छ। बालपत्रिकाको विकास यात्रा 

हालसम्म नेपालमा प्रकाशित बालपत्रिकाहरू  विविधतायुक्त देखिन्छन्। विषयका दृष्टिले अधिकांश  पूर्ण साहित्यिक छन् भने केही आंशिक साहित्यिक, प्राज्ञिक एवं समाचार प्रधान छन्। माध्यमका आधारमा यी मुद्रित र हस्तलिखित गरी दुई प्रकारका छन्।  यसै गरी प्रकाशकका आधारमा  व्यक्तिगत या समूहगत तथा संस्थागत गरी बाल पत्रिकाहरूलाई दुई वर्गमा वर्गीकृत गर्न सकिन्छ। प्रकाशन अवधिका आधारमा यी पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक तथा विशेष अवसरमा प्रकाशन हुने गरी विविधतायुक्त रहेका छन्।  यसरी नै क्रमिक विकासगत चरणका दृष्टिले यिनलाई मोटामोटी रूपमा चार चरणहरूमा वर्गीकृत गरिएको पाइन्छ (गिरी; २०६१: १८-२१)। यहाँ यी नै चरणहरूमा प्रकाशित बालपत्रिकाका बारेमा छोटकरीमा चर्चा गर्नु सान्दर्भिक नै हुन आउँछ। 

पहिलो चरण (२००८ देखि २०२१ सम्म  )

अन्वेषकहरूले बालसखा (२००८) देखि बालक (२०२२) पूर्वसम्मको अवधिलाई नेपाली बालपत्रिकाको पहिलो चरणका रूपमा लिएका छन्। यस अवधिमा बालसाहित्य (२०१३), मुना (२०१४), आँकुरा  (२०१५ ), केटाकेटी ( २०१५), छात्रछात्रा (२०१६ ), बालपत्रिका (२०१९)  जस्ता बालपत्रिकाहरू मुद्रित रूपमा प्रकाशनमा आएका छन् । मुद्रणको सुविधा या हैसियत नभएका केही विद्यालयहरूले  सोही अवधिमा हस्तलिखित रूपमा नै भए पनि बालपत्रिकाहरू प्रकाशन गरेका छन्। गोरेटो( २०१४ ), जूनकिरी (२०१७), साघुँ (२०१८), आदिलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ।

 यति बेला कामाडौँ उपत्यकाका मात्र नभई  विराटनगर,  भैरहवा, झापास्थित केही विद्यालयहरूबाट  पनि इन्द्रधनुष (२००८), आदर्श वाणी (२००९),  कोपिला (२०१०), किरण (२०१८), नव कोपिला (२०१८ ), उषा (२०२०), बिरुवा (२०२१) आदि शीर्षकका  हस्तलिखित बालपत्रिकाहरू प्रकाशनमा आएका छन्। यसै गरी यस अवधिमा नेपाली बाहेक नेपालका अन्य भाषामा पनि बालपत्रिका प्रकाशनको क्रम थालिएको पाइन्छ। उदाहरणका लागि नेपाल भाषामा प्रकाशित मचा (२०११) लाई लिन सकिन्छ। 

 दोस्रो चरण (२०२२ देखि २०३५ सम्म)

नेपाल बाल सङ्गठन जस्तो राष्ट्रिय संस्थाबाट प्रकाशन प्रारम्भ भएको बालक ( २०२२) देखि अन्तर्राष्ट्रिय बाल वर्ष २०३६ पूर्वसम्मको अवधिलाई नेपाली बाल पत्रिकाको दोस्रो चरणका रूपमा लिने गरिएको छ। यति बेला बालक का अतिरिक्त संस्थागत रूपमा नै कोपिला (२०२३ ), बाल विकास (२०३४), प्रकाशनमा आए भने बालबुलेटिन (२०३५), खेलौना (२०३५) आदि व्यक्तिगत प्रयासमा छापिन थालै।  

विद्यालयबाट हस्तलिखित रूपमा प्रकाशन हुने बालपत्रिकाको क्रमलाई नानी ( २०२३), बालपत्रिका (२०२३ ), नव पल्लव (२०२५ ), सिर्जना (२०२५ ), गुराँस (२०२५ ), मुना (२०२५ ), जमरा  (२०२८ ), ध्रुवतारा (२०२८), सुर्खेती ( २०२८ ),वाणी  (२०२९ ), कर्णाली ( २०३३) आदिले अघि बढाएको देखिन्छ। अनुभवी लेखक  रामेश्वर शर्मा चालिसे अर्थात् रमेश विकलको  सम्पादनमा  जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित कोपिला का  हिँड घुम्न जाऔँ, चित्र पूरा गर लगायतका स्थायी स्तम्भहरू बालबालिकाका लागि निकै  रुचिकर भए तापनि प्रकाशनको २ वर्ष नबित्दै कोपिला पुनः बालक पत्रिकामा नै समाहित हुन बाध्य भएको देखिन्छ।

तेस्रो चरण (२०३६ देखि २०४६ सम्म  )

३०३५/२०३६ सालको राजनीतिक  आन्दोलन, अन्तर्राष्ट्रिय बाल वर्ष सन् १९७९ का क्रममा प्रारम्भित बालबालिका केन्द्री क्रियाकलापको पृष्ठभूमिमा बालपोष  (२०३६  )देखि मुना (२०४७  ) प्रकाशन पूर्वको एक दशकलाई नेपाली बालपत्रिकाको तेस्रो चरणका रूपमा लिने गरिएको पाइन्छ। यस अवधिमा कोसेली (२०३६), नवागन्तुक छालहरू (२०३६),  बालकोसेली (२०३७), कोपिला  (२०३८ ) प्रकाशनमा आए भने यसअघिका बालपत्रिकाको तुलनामा फरक ढाँचामा समाचारपत्रका रूपमा कलिलो (२०३९), छापिन थालेको पाइन्छ। यसै गरी कमिक्स वा  चित्रकथा पत्रिकाका रूपमा नव दृश्य (२०३९) ले नवीनता थपेको  देखिन्छ।  बालसाहित्यको प्रवर्द्धनका लागि संस्थागत प्रयासको थालनीका निम्ति नेपाल बाल-साहित्य समाज २०४४ को स्थापनाका अतिरिक्त यसै समाजबाट नेबासास समाचार  (२०४५) का अतिरिक्त वार्षिक रूपमा प्राज्ञिक पत्रिका बालसाहित्य  (२०४५) को प्रकाशन प्रारम्भ हुनुलाई यस चरणको अर्को कोसेढुङ्गाका रूपमा लिन सकिन्छ। यसरी नै चिन्तनमूलक बाल पत्रिकाका  प्रतिभा (२०४६) यति बेलादेखि नै छापिन थालेको हो भने प्रायः धार्मिक या पौराणिक उपदेश केन्द्री चिचिला (२०४६) को प्रकाशन पनि यसै वर्षबाट प्रारम्भ भएको पाइन्छ।

 यस अवधिमा न्ह वः सा, पुलु किसा  (२०४२) जस्ता नेपाल भाषामा प्रकाशित पत्रिकाहरूले नेपाली बाहेक अन्य भाषामा पनि यसको प्रकाशन हुनुपर्ने आवश्यकतालाई सोदारण पुष्टि गरेको पाइन्छ। यसै गरी गोरखापत्र को किशोर संसार, बाल जगत्, हाम्रो पाना जस्ता स्तम्भका अतिरिक्त सन्ध्या टाइम्सको चाकः लि पाँ पाँ  जस्ता अतिरिक्ताङ्कले पनि बाल मनलाई आकृष्ट गरेको देखिन्छ। यति बेला पनि विद्यालयस्तरबाट बालपत्रिका हस्तलिखित रूपमा प्रकाशन हुने क्रमलाई कोपिला (२०३८),अमन उद्यान (२०४१),  बिहानीको किरण (२०४२),अरनिको वाणी (२०४४), आदिले निरन्तरता दिँदै आएका छन्।

चौथो चरण (२०४७ देखि २०८० सम्म)

नेपाली बालपत्रिकको इतिहासमा गोरखापत्र संस्थानबाट हालसम्म पनि अविच्छिन्न रूपमा प्रकाशन हुँदै आएको मुना  (२०४७) को विशिष्ट स्थान रहेको छ। सोही आधारमा  नेपाली बालपत्रिकाको चौथो चरणको थालनी यसै अवधिबाट भएको मानिन्छ। मुना देखि बालप्रज्ञा ( २०७६ ) प्रकाशनपूर्वको तीन दशकभन्दा बढीको यस चरणलाई पूर्वार्ध र उत्तरार्ध गरी दुई उपचरणहरूमा  वर्गीकृत गर्नु उपयुक्त देखिन्छ।
 

(क ) पूर्वार्ध ( २०४७ देखि २०७५ सम्म )

यस अवधिमा छापिएका   बाल मञ्च (२०४७),  बाल सरोकार (२०४७) बाल अधिकार मञ्च ( २०५७ ) जस्ता पत्रिकाले क्रमशः बालोपयोगी सामान्य ज्ञान तथा  बाल अधिकारलाई आफ्नो लक्ष्य बनाए भने सुनकेस्रा  (२०४७), सिर्जना (२०४८), बालसुधा (२०४८),  किशोर (२०४९),  बालसाथी (२०५१), बाल अमृतधारा (२०५३), फूलपरी (२०५३), नवमाध्यम (२०५३), नवप्रतिभा  (२०५४),   ढिकीच्याउँ (२०५४),  मुहान (२०५४), नानी (२०५५),  मेला (२०५६),  नव युवा (२०५६),  बाल मञ्जरी (२०५६ ), बाल संसार (२०५६),  गन्तव्य (२०५६), साथी (२०५७), नव कोपिला (२०५७), जिज्ञासा (२०५७),  बालतारा (२०५८),   कञ्चन कोसेली (२०५८),  बालसंसार (२०५९), बाल इन्द्रेणी (२०५९), बाल प्रयास (२०५९),  सानू (२०६०),  सुनचरी (२०६०),  साहित्य किरण (२०६०),  बाल सरगम (२०६१), नौलो प्रतीक (२०६२),  ताराबाजी (२०६२),  छुनामुना (२०६२),  हाम्रो आँगन (२०६३),  बाल ज्ञानमाला (२०६४),  हाम्रो बालबगैँचा (२०६६), मयूर (२०६८),  जूनतारा (२०६९), तोतेबोली (२०७३),  बाल उदय (२०७५), जनक बालपत्रिका (२०७६),  आदि  बालपत्रिकाहरूले मूलतः बालसाहित्यिक सन्दर्भलाई नै आफ्नो लक्ष्य बनाएको पाइन्छ।

यसअवधिमा समीक्षा (साप्ताहिक) यती डाइजेस्ट, नागार्जुन (मासिक), नेपाल ( द्वैमासिक ),  आदि पत्रिकाहरुले  बालसाहित्यिक विशेषाङ्क प्रकाशन गरेका छन् (प्रधान; २०६१ : ३४२ )। यीमध्यै नव प्रज्ञापन( त्रैमासिक ) आफ्नो ६० औँ अङ्कलाई बालसाहित्यिक  विशेषाङ्कका रूपमा प्रकाशन गरी  १४ अञ्चलकै बाल साहित्यिक गतिविधिलाई समेट्दै आफूलाई अब्बल तुल्याएको पाइन्छ।  यसरी नै दैनिक पत्रपत्रिकाहरुले पनि बालसाहित्यिक अतिरिक्ताङ्क  प्रकाशनको क्रम यसै चरणबाट थालेका हुन् । यसक्रममा २०५७ फागुन १९ गतेबाट कान्तिपुर दैनिकले हरेक शुक्रबार बालसाहित्यकेन्द्री कोपिला नामक आठ पृष्ठको  अतिरिक्ताङ्क प्रकाशनको प्रारम्भ गरेको देखिन्छ।  अनुभवी सम्पादक शाश्वत पराजुलीको संयोजनमा प्रकाशित कोपिला का सबै अतिरिकताङ्कहरू स्तरीयमात्र नभई सङ्ग्रहणीय छन्।

यसपछि  निश्चित दिनमा  राजधानी दैनिकको  बालबाटिका, अन्नपूर्णको  अङ्कुर   नागरिक को जुनकिरी शीर्षकमा दुईदेखि १६ पृष्ठसम्मको अतिरिक्ताङ्क प्रकाशनमा आएका छन्। यिनले प्रौढ सर्जकलाई मात्र नभई बालसर्जकलाई समेत सहभागी बनाई बालसाहित्यको प्रवर्धनमा एउटा अभियान नै चलाए भन्दा अत्युक्ति हुने छैन। तर कोरोना महामारीका कारण बन्द भएका दैनिक पत्रपत्रिकाहरू पुनः प्रकाशनमा आए तापनि यस्ता   अतिरिक्ताङ्क हालसम्म नछापिएकाले बाल सर्जक र पाठक दुवै दुखी देखिन्छन्।  बालसाहित्यको प्रवर्धन देशको भविष्यका लागि हो भन्ने तथ्य मनन गर्दै यीलगायत हरेक पत्रपत्रिकाहरूले बालसाहित्यका विशेषाङ्क या अतिरिक्ताङ्क प्रकाशन गर्नुपर्छ भन्नु अतिशयोक्ति हुने छैन। यसबिच नेपालमा मात्र नभई नेपालीहरू जुन जुन मुलुकमा पुगेका छन्, ती ती ठाउँबाट नेपाली भाषामा साहित्यक प्रकाशनसँगै बालसाहित्यलाई समेत स्थान दिई यसको प्रवर्धनमा लागिपर्ने क्रमले प्राथमिकता पाउँदै आएको देखिन्छ। यसै गरी केटाकेटी डट कम, अनलाइन बालपत्रिका का अतिरिक्त   इपुस्तकालयका साथै अन्य पत्रिकाहरूले पनि आआफ्ना विद्युतीय संस्करण सङ्ग्रहण एवं प्रकाशन गर्न थालेबाट नेपाली बालसाहित्यको अन्तर्राष्ट्रियकरणको क्रम यही अवधिमा थालिएको पाइन्छ।  

( ख ) उत्तरार्ध ( २०७६ देखि हालसम्म  )

नेपाली बालपत्रिकाको चौथो चरणको उत्तरार्धको थालनी नेपाल प्रज्ञा प्रतिष्ठानबाट संस्थागत रूपमा  प्रकाशित बालप्रज्ञा  (२०७६)बाट भएको मान्नु उपयुक्त देखिन्छ र यहाँ यसको पृष्ठभूमिसहित मूलभूत वैशिष्ठ्यका बारेमा चर्चा गर्नु सान्दर्भिक नै हुन आउँछ।

स्थापनाकालको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान गणतन्त्र कालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा  परिणत हुँदासम्म पनि  यसका गतिविधिहरू मूलतः  प्रौढ साहित्य या चिन्तनमै  सीमित रहेको देखिन्छ। नेपालको कुल जनसङ्ख्याको झन्डै ४० प्रतिशत बालबालिका रहेकाले  उहाँहरूलाई पनि समेट्ने उद्देश्यले कालान्तरमा प्रतिष्ठानमा बालसाहित्य विभाग गठन भएपछि भने यसले बालसाहित्य सम्बन्धी केही अनुसन्धानात्मक कार्यहरूको  थालनी गरेको पाइन्छ। यति भए तापनि यहाँबाट  बालबालिकालाई नै लक्षित गरी सामयिक तथा सिर्जनात्मक प्रकाशन  भने भएको देखिदैन।  यही अभावको परिपूर्तिका लागि नवनियुक्त प्राज्ञ परिषद् सदस्य एवं बालसाहित्य विभागका अध्यक्ष  डा देवी नेपालद्वारा मुना पत्रिकाको ३० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित विशेष समारोहमा अबदेखि प्रज्ञा प्रतिष्ठानले बालसाहित्यक पत्रिका प्रकाशन  गर्ने  निर्णय गरेको कुरा सार्वजनिक गरियो।

यसपछि बालसाहित्यको सिर्जना तथा समीक्षामा अनुभवी बालसाहित्यका वर्तमान विभागीय अध्यक्ष डा देवी नेपाल नै  प्रधान सम्पादक रहने र  विगत तीन दशकदेखि नव प्रज्ञापनको सम्पादन तथा प्रकाशन गर्दै आएका बालसाहित्यकार नवराज रिजाल, एक दशकदेखि अन्नपूर्ण पोस्ट दैनिकमा  आबद्ध रहेका बालकथाकार गोपीकृष्ण ढुङ्गाना, लामो समयदेखि शिक्षण पेसामा संलग्न रही बालबालिकासँग नजिकिएकी बालकवि देवु लुइँटेल  तथा विगत चार दशकदेखि बालसाहित्यको सिर्जना, सम्पादन, समीक्षण गर्दै आएका नेपाल बालसाहित्य समाजका तत्कालीन महासचिव  प्रा. डा. ध्रुवकुमार घिमिरे कार्यकारी सम्पादक हुने गरी पाँच सदस्यीय सम्पादक समूह गठन गरियो।

उक्त समूहबाट  विभिन्न अनुभवी व्यक्तित्वसँग परामर्शसहित सामाजिक सञ्जालहरूको सुझाव समेतलाई ध्यान दिँदै बाल पत्रिकाको नाम बालप्रज्ञा  राख्ने र यो अर्धवार्षिक रूपमा प्रकाशन हुने कुराको टुङ्गो लगाइयो। पटक पटकको बैठकमा भएको छलफलका आधारमा बालप्रज्ञाले तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका लागि आफ्नो पाठकका रूपमा समेट्ने लक्ष्य लियो। यसै गरी बाल प्रज्ञामा करिब  ४० % बालबालिकाको सिर्जनात्मक सहभागिता रहने, नेपाली बाहेकका नेपालका अन्य भाषाहरूमा  लिखित रचनाहरुलाई पनि प्राथमिकता दिने,  विभिन्न मुलुकमा रहेका बाल सर्जकहरूका  सिर्जनालाई समेट्ने,  चित्र र शब्द  दुवैलाई प्राथमिकता दिने जस्ता निर्णयहरू गरिए।

 उक्त निर्णय अनुरूप नै बालप्रज्ञा  मा विभिन्न स्तम्भहरू समाविष्ट रहिआएका छन्।  यहाँ अक्षर नचिनेका शिशुहरूका लागि ‘फरक देखे’, ‘मेरो बाटो’, ’ मेरो घेरो  ‘, मेरो रङ ‘ मेरो कुची'  ‘खितिति’ जस्ता स्थायी स्तम्भहरू राखिएका छन् भने स-साना बालपाठकका लागि ‘गाउँ खाने कथा’ ‘हा हा हा’  समाविष्ट छन्। यसरी नै बाललोकवार्ता तथा पुराना लेख्य सामग्रीसँग वर्तमानका बालबालिकालाई परिचित गराउने उद्देश्यले ‘पुराना रमाइला कुरा ‘ राखिएको छ भने ज्ञान-विज्ञान एवं साहित्यमा ख्यातिप्राप्त नेपाली स्रष्टाहरूको बालापनबाट बाल पाठकहरू अभिप्रेरित होऊन् भन्ने मनसायका साथ ‘मेरो बालापन’ स्तम्भको व्यवस्था गरिएको छ।  यसरी नै आफ्ना सन्तानप्रति अभिभावकीय भूमिकालाई आत्मसात् गर्दै  अभिभावकका अनुभव सार्वजनिक हुने गरी  ‘हाम्रा सन्तति’ स्तम्भ राखिएको छ भने लब्ध प्रतिष्ठित व्यक्तित्वको प्रेरणादायी जीवनी समाविष्ट हुने गरी ‘प्रेरक व्यक्तित्व’ स्तम्भको  व्यबस्था गरिएको छ।  यसका अतिरिक्त ‘बाल कविता/ गजल/ हाइकु’ जस्ता पद्यात्मक स्वरूपका अतिरिक्त ‘बालकथा’ ‘बाल निबन्ध’ ‘बाल एकाङ्की’ जस्ता सिर्जनात्मक विधाहरू बालप्रज्ञा मा सबैभन्दा बढी रहेका छन्।  

यसका अतिरिक्त ‘इतिहासको पानाबाट’, ‘हाम्रो भूगोल’, ’विज्ञान र प्रविधि’, ‘हाम्रो स्वास्थ्य’, ‘हाम्रो दर्शनशास्त्र’, ’हाम्रो खेलकुद’ जस्ता विविध विषयलाई समेटेको बालप्रज्ञा मा ‘सिर्जना पाठशाला’ स्तम्भबाट बालबालिकाहरूले साहित्य सिर्जना पनि गर्न सकून् भन्ने अभीष्ट राखिएको छ। यसरी नै प्रसिद्ध बाल कृतिको रचनागर्भका बारेमा जानकारी दिने उद्देश्यका साथ ‘पुस्तक लेखनको रहस्य’ स्तम्भ राखिएको बालप्रज्ञामा ‘नयाँ उपहार’ अन्तर्गत हालसालै प्रकाशित बालसाहित्यिक कृतिहरूको परिचय दिइने गरिएको छ भने ‘मैले पढेको किताब’, ‘मैले पढेको बालप्रज्ञा’, ‘हाम्रा सिर्जना’ जस्ता स्तम्भहरूबाट बालपाठकलाई सहभागी बनाइएको छ।  यस्तै ‘हाम्रो मातृभाषा’ स्तम्भमा नेपाली बाहेक अन्य मातृभाषी बालस्रस्टाका सिर्जना समेट्दै बालप्रज्ञा  लाई सबै भाषाभाषीको साझा पत्रिका बनाउने प्रयास गरिएको छ। बालबालिकासँग सम्बद्ध क्रियाकलापलाई समाचारमूलक स्तम्भ ‘बाल गतिविधि’ मा समेटेको यस पत्रिकाले भ्रमण प्रिय बाल रुचिलाई उहाँहरूको सहभागिताको अपेक्षासहित ‘आऔँ घुम्न जाओँ’  स्तम्भ समावेश गरेको छ।

बालप्रज्ञा का हालसम्म चार अङ्कहरू प्रकाशनमा आइसकेका छन्। १२० पृष्ठको पहिलो अङ्क २०७६( वैशाख- असोज)  का लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना मन्तव्य दिएका छन्।  यसक्रममा उनले भनेका छन्,” प्रज्ञा- प्रतिष्ठानबाट हालसम्म दशवटा पत्रिकाहरू नियमित रुपमा प्रकाशन भइरहेका छन्। तर आजसम्म बालबालिकालाई लक्षित  गरेर  कुनै पनि पत्रिका प्रकाशन भएको  थिएन।  यस आधारमा हेर्दा एउटा उमेर समूहलाई प्रज्ञा- प्रतिष्ठानले सम्बोधन गर्न बाँकी थियो।  अब बाल प्रज्ञाले बालबालिकालाई  सम्बोधन गर्ने भएको छ।  यस्तो व्यावहारिक र युगानुकूल सोचका लागि म प्रज्ञा प्रतिष्ठान परिवारलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु  (ओली; २०७६: शुभकामना)।” यहीक्रममा शुभकामनाका हरफहरूमा प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती लेख्छन्, “आजभन्दा अगाडि बालसाहित्यका कृतिहरूका माध्यमबाट हामी बालबालिकासम्म त पुगेका थियौं तर बालबालिका आफैं सहभागी हुने खालका सामग्रीहरु हामीले दिन सकेका थिएनौँ। हामीलाई एउटा स्तरीय बालपत्रिकाको अभाव खड्किरहेको थियो। यही अभावको पूर्ति गर्नका लागि हामीले २०७५। १०। २५ को  प्राज्ञ परिषद्को बैठकबाट बालप्रज्ञा नामक अर्धवार्षिक बालपत्रिका प्रकाशन गर्ने निर्णय गर्यौँ जसको ऐतिहासिक पहिलो अङ्क अहिले प्रकाशन हुँदैछ (उप्रेती ;२०७६: शुभकामना)। यी बाहेक प्रज्ञाका पूर्व कुलपति द्वय वेरागी काइँला र प्रा डा वासुदेव त्रिपाठिका शुभकामनाहरू पनि यसमा समाविष्ट छन्।

यसमा ‘ मेरो बालापन’ स्तम्भअन्तर्गत राष्ट्रकवि माधवप्रसाद घिमिरे  र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको बाल्यकाल आएको छ भने ‘ प्रेरक व्यक्तित्व’ स्तम्भमा महावीर पुनका योगदानहरू समेटिएका छन्।  ‘रमाइला पुराना कुरा ‘ स्तम्भमा छोराको अर्ती र देवकोटाका युगवाणी पत्रिकामा छापिएको मुसागान कविता समाविष्ट छ भने  'सिर्जना पाठशाला’ स्तम्भमा पुस्तक-समीक्षाको परिचय र प्रक्रिया एवं 'हाम्रा सन्तति' स्तम्भमा खगराज बरालको आलेख रहेको छ ।  ‘विदेशी बगैँचाका फूल‘ स्तम्भमा ह्यान्सक्रिस्चियन एन्डरसनको कथा रहेको यस अङ्कमा भूगोलविद  प्रा. रामकुमार पाँडे, वनस्पति एवं वातावरण विशेषज्ञ डा तीर्थबहादुर श्रेष्ठका  आलेखहरू रहेका छन्।  डेढ दर्जनभन्दा बढी  बालकविता गीत एवं गजलहरू  समाविष्ट यस अङ्कमा आधा दर्जनजति बाल कथाहरू रहेका छन्।  ‘हाम्रा सिर्जना’ स्तम्भअन्तर्गत  बालबालिकाका विभिन्न कविताहरबाट सजिएको यो अङ्क हाम्रो मातृभाषा अन्तर्गत थारु, अवधी, धिमाल, भोजपुरी, नेवारी,  मैथिली एवम् डोटेली  मातृभाषा भएका बालबालिकाका रचनाले सिँगारिएको छ। यसमा ‘ लौ घुम्न जाऔँ ‘ स्तम्भमा नियात्राकार प्रतीक ढकालको काठमाडौँबाट चिलिमे जलविद्युत परियोजनासम्मको यात्रावर्णन आएको छ।  
 

बालप्रज्ञाका दोस्रो, तेस्रो र चौथो अङ्क ८४ पृष्ठका मात्र रहेका छन्। यिनमा क्रमशः वैरागी काइँला, शान्तदास मानन्धर, प्रा. डा. चूडामणि बन्धुका बाल्यकाल आएका छन् भने झमक घिमिरे, कुलमान घिसिङ र महावीर पुनका प्रेरणादायी जीवनीहरू समाविष्ट छन्।  अशेष मल्ल, टङ्क चौलागाइँ, कुन्दनकुमार पन्तका एङ्काङ्कीहरू रहेका यी अङ्कहरूमा माया ठकुरी, हरि खनाल, कन्हैया नासननी, अनुपमा पाण्डेय, गङ्गा कर्माचार्य पौडेल, सुशीला प्रधानाङ्ग, कपिल लामिछाने, हरि भण्डारीका बालकथा एवं लघुकथाहरू छापिएका छन्। झन्डै तीन दर्जनजति बालकविता गीत गजलहरू रहेका यी अङ्कहरू उमेश श्रेष्ठ एवं राजेश मानन्धरका चित्रहरूले सजिएका छन् भने वसन्तरमाज अज्ञात र सीताराम राईका साजसज्जाले सुन्दर बनेका छन्।  बालप्रज्ञा मा प्रकाशित प्रत्येक रचनालाई तीन सयदेखि एक हजारसम्मको पारिश्रमिकको व्यवस्था गरिए तापनि यसको प्रति अङ्क मूल्य रु एक सय भने केही महँगो नै प्रतीत हुन्छ। बालप्रज्ञा को पाँचौँ अङ्क छ महिना अगावै प्रेसमा गइसके तापनि हालसम्म पनि प्रकाशनमा नआएकाले र नव गठित प्रज्ञाको नेतृत्व यसप्रति जिम्मेवार हुन आवश्यक छ।  

नेपालमा बालबालिकाको सङ्ख्याको अनुपातमा जसरी बाल साहित्यिक कृतिहरूको कुल न्यूनता रहेको छ त्योभन्दा बढी न्यूनता बाल पत्रिकाको भएको देखिन्छ।  ७० बर्षको यसको इतिहासमा एक सय आसपासका बाल पत्रिकाहरू कागजी एवं विद्युतीय माध्यमबाट मुद्रित वा हस्तलिखित रूपमा देखा परेतापनि मुना बालकोसेली जस्ता केहीले मात्र दीर्घ जीवन प्राप्त गर्न सकेका छन् भने अधिकांश १-२ वर्ष या बढीमा दश वर्षसम्मको आयु मात्र बाँच्न सकेका छन्।  नवीनता अन्तरक्रियात्मकता सिर्जनशीलता विषय एवं रुचिगत विविधतायुक्त हुने हुँदा बाल पत्रिका बालबालिकाका लागि सबैभन्दा बढी रुचिपूर्ण पाठ्यसामग्री हो भने यो कार्टुन या  दृश्य सामग्रीको आधार पनि हो। बालपत्रिका पढ्न पाएका अधिकांश बाल पाठकहरू  यसैको माध्यमबाट सिर्जनातर्फ लागी भविष्यमा  लेखक हुनु पुगेको तथ्यबाट पनि बालवयमा यसको महत्त्व र उपयोगिता  स्पस्ट हुन्छ। 

त्यसैले स्तरीय एवम् वयानुकूलका बालपत्रिकाहरू हरेक बालबालिकाको हातमा पु-याउनु हामी सबैको दायित्वभित्र पर्दछ। यसका लागि सर्वप्रथम सरकारी संयन्त्र नै जागरुक हुनु आवश्यक छ। यसका लागि स्थानीय पालिकाहरूले स्थानीय सर्जकहरुलाई समेटी स्थानीय भाषामा कम्तीमा वर्षको दुईवटा बालपत्रिका प्रकाशन गरी स्थानीय विद्यालय एवं पुस्तकालयहरूमा निशुल्क वितरण गर्ने गरी कार्य योजना बनाई सोको कार्यान्वयन गर्नुपर्ने देखिन्छ। नेपालगन्ज उपमहानगरपालिकाको  बालमैत्री उपमहानगर (२०७६ )एवं मन्थली नगरपालिकाको मन्थली कोपिला ( २०८० )  ले यसको थालनी पनि गरिसकेको देखिन्छ। यसै गरी व्यक्तिगत या संस्थागत रूपमा प्रकाशन हुने बालपत्रिकाका लागि अनुदानको व्यवस्था, हरेक साहित्यिक पत्रिकाले बालसाहित्य विशेषाङ्क प्रकाशन तथा विद्युतीय संस्करण उपलब्ध गराउनु आवश्यक देखिन्छ। यसरी नै हरेक विद्यालय या  समुदायमा सम्बद्ध विद्यार्थी वा बालबालिकाको सक्रियतामा  भित्ते पत्रिकाको प्रकाशन थालनी र यसका लागि बालक्लब हरूको सक्रियता अभिवृद्धि गरिनुपर्छ।

 त्यस्तै हरेक विद्यालयले प्रतिवर्ष आफ्नो मुखपत्रका रूपमा बालपत्रिकाको प्रकाशनका अतिरिक्त शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रलगायतका सम्बद्ध सरकारी निकायहरूबाट बालपत्रिका प्रकाशन, नेपालभित्र र बाहिरबाट प्रकाशित बालपत्रिकाहरूमध्येबाट सर्वोत्कृष्टताको चयन गरी प्रोत्साहनका लागि पुरस्कारको व्यवस्था गर्न सकेमा पनि बालपत्रिकाको गुणात्मक एवं सङ्ख्यात्मक अभिवृद्धि हुन सक्ने देखिन्छ। यहीक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुन थालेको र गुणात्मक आधारमा छोटो समयमै स्तीय बालपत्रिकाका रूपमा आफूलाई उभ्याएकाले कोसेढुङ्गा बन्न सफल बालप्रज्ञालाई अझ परिष्कृत रूपमा निरन्तरता दिने मात्र नभई यसलाई कम्तीमा द्वैमासिक बनाउनेतर्फ पहल थाल्नुपर्ने देखिन्छ।  प्रज्ञा प्रतिष्ठानका नवनिर्वाचित नेतृत्व  यसप्रति अझ गम्भीर हुनुपर्ने अवस्था विद्यमान रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.