नगरपालिकाले गरेको तोडफोडमा सांसदहरूको विरोध

नगरपालिकाले गरेको तोडफोडमा सांसदहरूको विरोध
सुन्नुहोस्

सिरहा : मिर्चैया नगरपालिकाको बजारमा भएको तोडफोड घटनाको पूर्वमन्त्री, संघीय सांसद् तथा प्रदेश सांसदहरूले भर्त्सना गरेका छन् । मिर्चैया नगरपालिकाले गत माघ र फागुनमा गाउँब्लक जग्गामा पर्ने बजार क्षेत्रका करिब तीन दर्जन घर तोडफोड गरिदिएको थियो । 

यही घटनालाई लिएर सिरहाबाट प्रतिनिधित्व गर्ने  संघीय सांसद्, पूर्वमन्त्री तथा प्रदेश सांसद्हरूले मंगलबार मिर्चैयामा पत्रकार सम्मेलन गरी नगरपालिकाको कदमप्रति आक्रोश व्यक्त गरेका हुन् । पत्रकार सम्मेलनसँगै संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले गाउँब्लक जग्गाको नाप नक्सासमेत भइसकेको अवस्थामा घरहरू तोडफोड गरिएको र जग्गाधनीहरूलाई लालपुर्जा वितरणमा रोक लगाइएको घटनाको निन्दा गरेका छन् । 

नगरपालिकाले गैरकानुनी रूपमा मिर्चैयास्थित विशेष नापी कार्यालयलाई लालपुर्जा वितरणमा रोक लगाएको पनि उनीहरूको आरोप छ । नगरपालिकाले घर भत्काइदिएपछि स्थानीयमा पर्न भएको पिर–मर्काप्रति पूर्वमन्त्री तथा जनप्रतिनिधिहरूले दुःख व्यक्त गरेका छन् । साथै, वैशाख ७ गते घर तोडफोडको विरोधमा भएको आन्दोलनका क्रममा प्रहरीले दमन गरेको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन् । 

कानुनविपरीत क्रियाकलाप गरिएको भन्दै उनीहरूले कमी कमजोरी तत्काल सच्याएर पीडितहरूलाई न्याय दिन नगरपालिका, मालपोत कार्यालय र विशेष नापी कार्यालयलाई आग्रह गरेका छन् । आगामी दिनमा यस्ता क्रियाकलाप नदोहोर्‍याउन पनि उनीहरूले नगरपालिकालाई सचेत गराएका छन् । त्यस्तै, पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउनसमेत उनीहरूले आग्रह गरेका छन् । 

सिरहाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद्हरू जसपाका वीरेन्द्र महतो, नेकपा एमालेका लिलानाथ श्रेष्ठ, नेपाली कांग्रेसकी मञ्जु खाँड, पूर्वमन्त्रीहरू तथा नेकपा माओवादी नेता महेन्द्र पासवान र अजयशंकर नायक, एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष धर्मनाथप्रसाद साह, प्रदेश सांसद्हरू जनमत पार्टीका त्रिभुवन साह र भाग्यश्री चौधरी, राप्रपाकी कञ्चन बिच्छा र नेकपा माओवादीका दिलिप साहले संयुक्त रूपमा विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका हुन् । 

गत माघ २७, फागुन ११ र फागुन १९ गते नगर प्रमुख श्रवणकुमार यादवको नेतृत्वमा बजार क्षेत्रका करिब तीन दर्जन घर तोडफोड गरिएको थियो । चार वर्षअघि विशेष नापीले गाउँब्लक क्षेत्रका जग्गाको नापजाँच गरी लालपुर्जा वितरणको तयारी गरिरहेका बेला नगरपालिकाले स्थानीयवासीको घर भत्काइदिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.