सुनमायाको हङकङ यात्रा

हङकङ : चर्चित एड्भेन्चर्स ब्रान्ड ‘द नर्थ फेस’को निमन्त्रणामा हङकङ आएकी सुनमाया बुढाले एसिया प्यासिफिक एड्भेन्चर टिम टिएनएफ हङकङ ५० किलोमिटर ट्रेल रेस ६ घण्टा १० मिनेटमा पूरा गर्दै पहिलो स्थान हात पारिन्।
योसँगै द नर्थ फेसको विभिन्न एडभेन्चर खेलकुदमा ब्रान्ड प्रमोसनमा उनी सहभागी हुनेछिन्। हङकङमा उनी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएकी होइनन्, तीन दर्जनभन्दा बढी देशहरूमा विश्व चर्चित ब्रान्ड र आयोजकहरूको निमन्त्रणामा उनले आफ्नो धावक कौशलता देखाइसकेकी छन्।
१३ वर्षअघि वीरेन्द्र रनिङ शिल्डमा सहभागी भएपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता देखाइसकेकी छन्। सन् २०१५ मा धरान आठ किलोमिटर दौडमा तेस्रो, सोही वर्ष गोदावरी ट्रेल रेसमा प्रथम र सन् २०१६ मा मनास्लु टे«ल रेस एक सय ७० किलोमिटरमा पहिलो स्थान हात पारिन्।
अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा हङकङमा भएको ५० किलोमिटरको एमएसआईजी टे«ल रेस ६ घण्टामा पूरा गर्दै दोस्रो स्थान हात पारेकी थिइन्। यस्तै सन् २०१७ मा हङकङ साइकुङ ट्रेल रेसमा दोस्रो, सन् २०१८ चीनको गङलिगङ यूटीएमबी ५५ किलोमिटर दौड पाँच घण्टा ३० मिनेटमा पार गर्दै पहिलो स्थान हात पारेकी थिइन्। यस्तै फ्रान्सको ९० किलोमिटर दौडमा दोस्रो, ओमान टीयूएमबी ५० किलोमिटरमा पहिलो, सन् २०२१ थाइल्यान्डमा भएको प्रतियोगितामा पहिलो र सन् २०२२ मा चर्चित फ्रान्स टे«ल रेसमा दोस्रो स्थान हात पारेकी थिइन्।
कर्णाली प्रदेशको जुम्ला पातारासी पेरे–२ बाट उदाएकी सुनमायाको अविराम विजयी यात्रा उनकै दृढ संकल्प, कठोर परिश्रम र लगनको उपज हो। २४ वर्षअघि बुवा गोरा बुढा र आमा मुनतली बुढाको पाँचौ सन्तानका रुपमा जन्म लिएकी सुनमायाको ६ दिदीबहिनी र एक भाइ छन्।
अभावै अभावमा हुर्किएकी उनको जीवन यात्रा कुनै चलचित्रको कथाभन्दा कम छैन। आफ्नो सफलता र कर्मले बुवा आमाको अनुहारमा खुसी ल्याउन सकेपनि राष्ट्रले आफूलाई पहिचान नदिएको गुनासो उनी गर्छिन्। कर्णाली प्रदेशले भने दुई लाख रुपैयाँसहित सम्मान गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
