जन्मदिनमा पुस्तक विमोचन

जन्मदिनमा पुस्तक विमोचन
सुन्नुहोस्

विराटनगर : शैक्षिक एवं सामाजिक अगुवा दुर्गाप्रसाद घिमिरेद्वारा लिखित पुस्तक सोमबार कोसी प्रदेशको राजधानी विराटनगरमा विमोचन गरिएको छ। 

विगतमा सामाजिक एवं शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान, अनुभव र भोगाइलाई समेटेर उनले ‘दुर्गाप्रसाद’ नामक पुस्तक लेखेका थिए। पुस्तकको सम्पादन अर्का शैक्षिक अगुवा बाबुराम भट्टराईले गरेका हुन्। 

दुर्गाप्रसादको आत्मकथालाई समेटेर तयार पारिएको पुस्तक उनकै ८३ औँ जन्मदिनको अवसर पारेर एकीकृत घिमिरे कल्याण परिषदद्वारा आयोजित कार्यक्रममा विमोचन गरिएको हो। परिषद्का अध्यक्ष गोपी घिमिरे र ज्येष्ठ सदस्य तारानाथ घिमिरेले संयुक्त रूपमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। 

भोजपुरको साविकको बास्तिम गाविस–४ (हालको पौवादुङ्मा गाउँपालिका–४) मा विक्रम संवत १९९७ साल वैशाखमा जन्मिएका दुर्गाप्रसादसँग विभिन्न विद्यालयको प्रधानाध्यापक भएर काम गरेको अनुभव छ। 

२०१७ सालदेखि शिक्षण पेशामा आवद्ध भएर उनले ४० वर्षसम्म शैक्षिक क्षेत्रको उन्नयनमा योगदान दिएका थिए। त्यस क्रममा विद्यालयको स्तरवृद्धि, भौतिक र शैक्षिक विकासको अगुवाईसमेत गरे। 

पानीको चरम अभाव रहेको बास्तिममा खानेपानीको प्रवन्ध, गाउँमा बाटोघाटो तथा झोलुंगे पुल निर्माणलगायतका विकास निर्माणको अगुवाई दुर्गाप्रसादले गरेको पुस्तकमा उल्लेख गरिएको छ। 

सामाजिक अगुवा एवं सहयोगी व्यक्तित्वको पहिचान बनाएका उनी गाउँघरका विश्वासिला पात्रका रूपमा पनि चिनिन्थे। ‘गाउँमा अप्ठेरो परेका सबैलाई उहाँले सहयोग गर्नु हुन्थ्यो,’ पुस्तकका सम्पादक बाबुरामले भने, ‘अहिले प्रकाशन भएको पुस्तकबाट उहाँले पुर्‍याएको योगदानलाई प्रष्ट पारेको छ।’ 
बाबुरामका अनुसार पुस्तकमा भोजपुरको बास्तिममा कसरी घिमिरेहरूको आगमन भयो, घिमिरेहरूले कसरी बिर्ता प्राप्त गरे, त्यो बिर्ता कसरी खोसियो र फेरि त्यसलाई कसरी फिर्ता ल्याइयो भन्ने विषयसहित समग्र घिमिरेहरूको वंशावलीलाई समेत समेटिएको छ। साथै पारिवारिक पृष्ठभूमिसहित दुर्गाप्रसादका हजुरबुवा र बुवाले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानका बारेमा पनि पुस्तकमा चर्चा गरिएको उनको भनाइ छ। 

‘पुस्तकमा दुर्गाप्रसादले बाल्यकालदेखि हालसम्म अनुभव गरेका जीवनका सम्पूर्ण भोगाइसहित अभिभावकले सामाजिक योगदानलाई समेटिएको छ। दुर्गाप्रसादको जीवनकाल एउटा इतिहास हो,’ बाबुराम भन्छन्, ‘त्योबाहेक सामाजिक र शैक्षिक क्षेत्रमा दुर्गाप्रसादले दिएका महत्वपूर्ण योगदानको चर्चा गरिएको छ। पुस्तक भावी पुस्ताका लागि निक्कै प्रेरणादायी छ।’ साथै पुस्तकमा दुर्गाप्रसादका बारेमा अरुको बुझाईलाई समेत समेटिएको उनले बताए। 

सामाजिक काम गर्दा मान्छे अमर हुन्छभन्ने सन्दर्भलाई पुस्तकले उजागर गरेको छ। ‘समाजसेवा गर्दा सबैले सम्झन्छन्। मान्छे सधैँ अमर हुन्छ,’ बाबुरामले भने, ‘लिपिवद्ध गर्दा व्यक्तिको प्रतिभा र योगदान जीवित रहन्छ। पुस्तकले भावी पुस्तालाई समाज सेवामा लाग्न प्रेरणा प्रदान गरेको छ।’  

पुस्तक विमोचनस्थलमा केक काटेर दुर्गाप्रसादको जन्मदिन पनि मनाइएको थियो। कार्यक्रमका सहभागीले उनको दीर्घजीवनको कामनासमेत गरेका छन्। ‘दुर्गाप्रसाद’ नामक पुस्तकका लेखक दुर्गाप्रसादले रचनागर्भका बारेमा प्रकाश पारेका थिए भने सम्पादक बाबुरामले पुस्तकको समीक्षा गरे। 

दुर्गाप्रसाद परिवारसहित भोजपुरबाट २०५६ सालमा विराटनगर महानगरपालिका–१ मा बसाइँ सरेर आएका हुन्। उनका २ श्रीमती, ३ छोरा र ४ छोरी छन्। श्रीमतीद्ववय जीवन्तकुमारी र लक्ष्मीदेवी पुस्तकका प्रकाशक हुन्। 

पुस्तक विमोचन कार्यक्रममा प्रदेशका पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे, अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, सीटी कलेजका प्रिन्सिपल तीर्थराज घिमिरे, परिषद्का महासचिव वेदनाथ घिमिरे, पत्रकार विजय खतिवडालगायतले शुभकामना मन्तव्य राखेका थिए। 

त्यस क्रममा पुस्तक प्रकाशनमा सहयोग गरेका पुस्तकका सम्पादक बाबुराम भट्टराई र अन्नपूर्णका प्रधान सम्पादक अखण्ड भण्डारीलाई अभिनन्दनसमेत गरिएको थियो। पुस्तक विमोचन कार्यक्रमलाई कानुन व्यवसायी एवं शैक्षिक अगुवा दीपक घिमिरेले सहजीकरण गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.