हिमपहिरोमा ७ को मृत्यु
झापा : भारतको पूर्वी सिक्किमको छोम्गोमा भीषण हिमपहिरोमा परी कम्तीमा ७ जना पर्यटकको ज्यान गएको छ। मृतकहरूको सनाखत हुन बाँकी रहेको सिक्किम प्रहरीले जनाएको छ। जसमा चार पुरुष, एक महिला र एक शिशु छन्।
घुम्न गएका कयौं पर्यटकहरू हिमपहिरोमा फसेका छन्। उनीहरूको उद्धार कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। मंगलबार बिहान ११ बजेर १० मिनेटमा १७औं माइल नजिकैको गान्तोक नातुला जेएनएम रोडमा हिमपहिरो खसेको थियो। छोम्गो ताल नजिकै हिमपहिरो खस्दा नाटुला जाने क्रममा २० देखि ३० पर्यटकसहित आधा दर्जन सवारीसाधन हिउँमुनि पुरिएको आशंका गरिएको छ।
उद्धार कार्यमा त्रिशक्ति कोप्र्स, भारतीय सेना र बीआरओ परियोजना स्वस्तिकको टोली खटाइएको छ। हिमपहिरोबाट ६ स्थानीयसहित २३ पर्यटकको उद्धार गरी भारतीय सेनाको नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि ल्याइएको छ। साथै सडकबाट हिउँ हटाएर त्यहाँ अलपत्र परेका ३५० पर्यटक र ८० सवारीसाधनको उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।