षष्टिका बस्नेत पुरस्कारबाट दुई जना पुरस्कृत

विराटनगर : नेपाल पत्रकार महासंघले प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट विराटनगरमा बिहीबार दुई जना पुरस्कृत भएका छन्।
महासंघको ६८ औँ स्थापना दिवसको अवसर पारेर पुरस्कार प्रदान गरिएको हो। यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ काशीराज दाहाल र ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ हरि अधिकारीलाई प्रदान गरिएको हो।
दाहाल सूचनाको हकको क्षेत्रका अभियन्ता र अधिकारी विराटनगरका सक्रिय पत्रकार हुन्। विराटनगरमा रहेर अधिकारी अनलाइन खबरमा कार्यरत छन्।
नेपाल पत्रकार महासंघ मोरङ शाखाद्वारा बिहीबार आयोजित कार्यक्रममा कोसी प्रदेशका प्रमुख पर्शुराम खापुङले दुवै जनालाई पुरस्कार प्रदान गरेका हुन्। ५० हजार ५१ रुपैयाँ राशिको पुरस्कार दाहाल र १५ हजार ५१ रुपैयाँ राशिको पुरस्कार अधिकारीलाई प्रदान गरिएको छ।
‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’बाट यसअघि विनय कसजू, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा र गजेन्द्र बुढाथोकी पुरस्कृत भइसकेका छन्।
‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’बाट राजु श्रेष्ठ, गणेश लम्साल, मोहनकाजी न्यौपाने र देवनारायण साह पुरस्कृत भएका थिए।
पत्रकार महासंघ मोरङले दुवै पुरस्कार स्थापना दिवसका अवसरमा हरेक वर्ष चैत १६ गते प्रदान गर्दै आएको छ। महासंघ मोरङ शाखाका सचिव नेत्र पी अधिकारीका अनुसार महासंघको स्थापना दिवसको अवसरमा बिहीबार बिहान मोरङको सुन्दरहरैँचास्थित विराट चोकमा प्रभातफेरीको आयोजना गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !
