म्यानमारमा ४० राजनीतिक दलको वैधानिकता समाप्त, अमेरिकाको निन्दा

म्यानमारको सेना नियन्त्रित निर्वाचन आयोगले गत मंगलबार नेसनल लिग फर डेमोक्रेसीलाई सेनाको निर्वाचन कानून अन्तर्गत पुन: दर्ता गर्न असफल भएकोमा भंग गर्ने घोषणा गरेको थियो।
वासिङटन डिसी : अमेरिकाले म्यानमारका ४० राजनीतिक दलको वैधानिकता समाप्त गरेकोमा म्यानमारको सैनिक सरकारको निन्दा गरेको छ ।
यी दलहरूमा नोबेल शान्ति पुरस्कार पाएकी आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी पाटी पनि परेको छ ।
म्यानमारको सेना नियन्त्रित निर्वाचन आयोगले गत मंगलबार नेसनल लिग फर डेमोक्रेसीलाई सेनाको निर्वाचन कानून अन्तर्गत पुन: दर्ता गर्न असफल भएकोमा भंग गर्ने घोषणा गरेको थियो।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भने, 'नेसनल लिग फर डेमोक्रेसी लगायत ४० राजनीतिक दलहरू भंग गर्ने बर्माको सेनाको निर्णयको हामी कडा शब्दमा निन्दा गर्दछौं।'
सन् २०२१ मा सुकी सरकारलाई अपदस्थ गरेपछि अहिले सैन्य शक्ति पहिलो पटक चुनावतर्फ अघि बढिरहेको छ । सैन्य शक्तिका आलोचकहरूका अनुसार चुनावको उद्देश्य सेनाको शक्ति बढाउनु हो ।
अमेरिकाले भनेको छ, 'बर्मामा कुनै पनि चुनाव सबै सरोकारवालाहरूको सहभागिता बिना स्वतन्त्र वा निष्पक्ष मानिने छैन। र सैन्य शासनको व्यापक विरोधलाई ध्यानमा राख्दै, चुनाव गराउने एकपक्षीय निर्णयले अस्थिरता बढाउने सम्भावना छ।'
म्यानमारको आलोचना गर्दा अमेरिकाले म्यानमारको पुरानो नाम बर्मा प्रयोग गरेको छ। बीबीसी
प्रतिक्रिया दिनुहोस !
