मन्त्री छनोट गर्न कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

आज बिहान ११ बजे केन्द्रीय कार्यालय वीपीनगरमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। आज बिहान ११ बजे केन्द्रीय कार्यालय वीपीनगरमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार मंगलबार बिहान बोलाइएको बैठक स्थगित गरेर आजलाई बोलाइएको हो। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुनेछन्।
बैठकमा मन्त्री छनोट र उपनिर्वाचनबारे छलफल हुनेछ। कांग्रेसले ८ वटा मन्त्रालय दिने गठबन्धनमा सहमति जुटेको छ। दलहरूबीच भएको सहमतिअनुसार गृह मन्त्रालय सरकारको नेतृत्व दल माओवादीले राखेको छ। अर्थ मन्त्रालय भने कांग्रेसले पाएको छ। कांग्रेसले यस अगाडि नै मन्त्री बनाउनका लागि मापदण्ड बनाइसकेको छ।
निर्वाचन आयोगले वैशाख १० मा चितवन- २ सँगै तनहुँ- १ र बारा -२ मा उपनिर्वाचन तोकेको छ। तनहुँ १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका छन्। बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। यससँगै ती दुवै ठाउँमा सांसद पद रिक्त भएका थिए। चितवन २ बाट निर्वाचित सांसद रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि उक्त ठाउँ पनि रिक्त भएको थियो।
कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेछ। कुन निर्वाचन क्षेत्रमा उम्मेदवार दिने कुनमा नदिने भन्नेबारे पनि बैठकमा छलफल हुने छ।
यो सरकारलाई १० दलको समर्थन छ। माओवादी केन्द्रसहित, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने तयारीमा छन्।
प्रतिक्रिया दिनुहोस !
