नारायणी अस्पतालमा सुविधा सम्पन्न डायलोसिस वार्ड सञ्चालन

नारायणी अस्पतालमा सुविधा सम्पन्न डायलोसिस वार्ड सञ्चालन
वीरगन्जको नारायणी अस्पतालमा सञ्चालनमा आएको डायलोसिस वार्ड। तस्बिर : क्रान्ति शाह
सुन्नुहोस्

वीरगन्ज : नारायणी अस्पतालमा मधेस प्रदेशकै सबैभन्दा बढी क्षमता र सुविधा सम्पन्न डायलोसिस वार्ड सञ्चालनमा आएको छ। नारायणी अस्पतालमा १५ शय्याको डायलोसिस वार्ड बुधबारदेखि सञ्चालनमा ल्याइएको हो। 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरन्जन साहका अनुसार राउण्ड टेबल नेपाल नामक संस्थाको समन्वयमा सिद्धार्थ बैंकले अस्पतालको आकस्मिक कक्ष माथिको तल्लामा ५५ लाख रुपैयाँको लागतमा निर्माण भएको डायलोसिस वार्ड सञ्चालनमा आएको हो। 

यसअघि नारायणी अस्पतालले एउटा साँघुरो कोठामा ६ वटामात्रै शय्या राखेर डायलोसिस सेवा दिँदै आएको थियो। जसका कारण बिरामीको चाप बढेका बेला बिरामीहरूले हप्तौ दिनसम्म पालो कुर्नुपर्ने अवस्था थियो। निजी अस्पतालमा उपचार गराउन नसक्ने गरिब-विपन्न बिरामीहरू भने पालो नपाएर डायलोसिस सेवाबाटै वञ्चित हुनुपर्ने बाध्यता पनि थियो। तर अब १५ शय्याको छुट्टै वार्ड सञ्चालनमा आएपछि बिरामीले पालो कुर्न नपर्ने वार्डकी इञ्चार्ज एवं अस्पताल नर्सिङ निरीक्षक मनिता साहले बताइन्।

साहका अनुसार वार्डमा कूल २२ वटा डयलोसिस मेसिन छन्। तीमध्ये १५ वटा मेसिन, हरेक शय्यामा जडान गरिएका छन् भने थप ७ वटा मेशिन जगेडामा राखिएका छन्।

साहले भनिन्, ‘अस्पतालसँग पहिलेका ५ वटा मेशिन थिए। नयाँ १२ वटा मेशिन अस्पताल आफैँले खरिद गरेको हो। ५ वटा मेशिन भने मन्त्रालयले दिएको हो।'

अस्पतालले हालः पर्सादेखि रौतहटसम्म चार जिल्लाका गरी ३५ जना मृगौला रोगीलाई डालोसिस्को नियमित सेवा दिइरहेको साहले जानकारी दिइन्। उनले भनिन्, ‘पहिले ५ वटामात्रै मेशिन हुँदा कुनै एउटा मेसिन बिग्रिदा बिरामीको डायलोसिस बीचमै रोकिन्थ्यो। बिरामीको चाप बढेका बेला पालो कुराएर राख्नुपर्थ्यो। तर अब त्यो समस्या रहेन। किनकि हामीसँग १५ बाहेक थप ७ वटा मेशिन जगेडामा पनि छन्।'

अस्पतालमा डायलोसिस सेवा निःशुल्क रहेको उनले बताइन्। मधेस प्रदेशकै सबैभन्दा बढी क्षमता र सुविधा सम्पन्न वार्ड भएको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर निरज सिंहले बताए। 'मधेस प्रदेशका आठ जिल्लाका कुनै पनि सरकारी वा निजी अस्पतालमा यति धेरै क्षमता र सुविधासम्पन्न भएको डायलोसिस वार्ड छैन। नारायणी अस्पतालको यो वार्ड यो अस्पतालका लागि मात्र नभइ मधेस प्रदेशकै लागि गौरव हो,' उनले भने। यद्यपि १५ शय्याको वार्ड पूर्ण क्षमतामा सञ्चालनका लागि जनशक्तिको अभाव रहेको डाक्टर सिंहले बताए। 

वार्डमा हाल सिंहसँगै तीन जना चिकित्सक र ६ जना स्टाफ नर्स कार्यरत छन्। पूर्ण क्षमतामा सञ्चानलका लागि थप तीन जना मेडिकल अफिसर चिकित्सक, थप ६ जना स्टाफ नर्स, कन्सल्टेण्ट १ जना र प्राविधिक २ जना आवश्यक रहेको डाक्टर सिंहले बताए। 

सिद्धार्थ बैंकका सञ्चालक समिति अध्यक्ष मनोज केडियाले सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै राउण्ड टेबल नेपालसँगको समन्वयमा ५५ लाख रुपैयाँको लागतमा डायलोसिस वार्ड सञ्चालनका लागि भवन निर्माण गरिदिएको बताए। उनले भने, ‘नारायणी अस्पतालमा डायलोसिसका बिरामीको उपचारका लागि भवनको समस्या थियो। यो समस्यालाई मध्यनजर गर्दै बैंकले आर्थिक सहयोग गरेर भवन बनाइदिएको हो।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.