तीन मन्त्रालय नपाए एकीकृत समाजवादी सरकारमा नजाने, भौतिक योजना मन्त्रालयको दाबी

काठमाडौं : नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले तीन मन्त्रालयको अडान कायमै राख्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
'हामीले तीन मन्त्रालय माग गरेको हिजै प्रस्ट पारिसकेका छौं। प्रधानमन्त्रीजीको तर्फबाट के आउँछ हामी कुरिरहेका छौं। तीन मन्त्रालय नपाए हामी सरकारमा जाँदैनौं,' उनले भने।
उनले प्रधानमन्त्रीले नाम माग्ने वितिकै तीन जनाको नाम दिन पार्टी तयार रहेको बताए। 'हामीसँग नाम रेडी छ। प्रधानमन्त्रीजीले माग गर्नुभएको केही क्षणमै हामी नाम दिन्छौं,' सञ्चारकर्मीसँग उनले भने।
उनले पार्टीले गठबन्धन निर्माणमा ठूलो भूमिका निर्वाह गरेको बताए। उनले राष्ट्रियसभाको उपनिर्वाचन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पनि पार्टीको भूमिका महत्वपूर्ण रहेको भन्दै तीन मन्त्रालय जसरी पनि पाउनुपर्ने दाबी गरे।
स्रोतका अनुसार पार्टी अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा सदस्यसमेत रहेका बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी गराउन चाहेका छन्। भुसालले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा दाबी गरेपछि अध्यक्ष नेपाल जसरी पनि उक्त मन्त्रालय पाउनुपर्ने अडान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन्।
अध्यक्ष नेपालले भौतिक योजनासहित तीन मन्त्रालय पाउनुपर्ने अडान राखेका छन्। पार्टीको महासचिवमा घनश्याम भुसाललाई ल्याएपछि बेदुराम रुस्ट छन्। भुसाललाई भौतिक योजनामा पठाएर अध्यक्ष नेपाल उनलाई आश्वासत पार्न खोजेको स्रोतको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
