विराट गोल्डकप : उपाधि उचाल्न विराटनगर सिटी र लुका सकर उत्साहित

विराट गोल्डकप : उपाधि उचाल्न विराटनगर सिटी र लुका सकर उत्साहित
बिहीबार हुने विराट गोल्डकपको फाइनल खेललाई दृष्टिगत गर्दै बुधबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा ट्रफी उचाल्दै बाँयाबाट क्रमशः लुका सकर क्लबका प्रशिक्षक नभास नोका, कप्तान अर्सद हामी, विसीएफसीका कप्तान विशाल श्रेष्ठ र प्रशिक्षक सन्तोष न्यौपाने। तस्बिर : राकेश कर्ण
सुन्नुहोस्

विराटनगर : सातौं संस्करणको विराट गोल्डकपको उपाधि हात पार्न विराटनगर सिटी फुटबल क्लब र भारतको केरलास्थित लुका सकर क्लब उत्साहित देखिएका छन् ।

फाइनलमा पुगेका दुवै टिममा उपाधिको नतिजा आफ्नो पक्षमा पार्न बलियो आत्मविश्वास देखिएको हो । विराटनगरमा बुधबार प्रि–म्याच कन्फ्रेन्स गर्दै दुवै टिमले फरक रणनीतिका साथ फाइनल चरणको खेलमा सहभागी हुने तयारी रहेको जनाएको छ । 

भारतबाहिर टुर्नामेन्टमा पहिलोपटक सहभागी भएको लुका सकर क्लब विराट गोल्डकपको उपाधि केरला भित्र्याउने गृहकार्य गरिरहेको छ भने घरेलु टोली बिसीएफसी ६१ वर्षपछि दोश्रोपटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।

विराटनगर सिटी फुटबल क्लब (बिसीएफसी) पूर्व विजेता टिम नेपाल पुलिस र जावलाखेल युथ क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । लुका सकर भने क्वाटरफाईनलमा संकटा र सेमिफाइनलमा एपीएफलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । केरलाको लुका सकर क्लब र घरेलु टिम बिसीएफसी पहिलोपटक विराटनगरस्थित सहिद रङ्गशालामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

साविक विजेता एपीएफ र लिग खेल्दै आएको ‘ए’ डिभिजन संकटाजस्तो सशक्त टिमलाई पराजित गरेर फाइनलको यात्रा तय गरेकाले लुका सकरका खेलाडीहरुमा मनोबल उच्च देखिन्छ । घरेलु टोली पनि तेश्रोपटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पु¥याएको हुनाले उत्तिकै आत्मविश्वासी देखिन्छन् ।

आयोजक घरेलु टिम ६ दशकपछि तेस्रोपटक गोल्डकपको फाइनलमा पुगेको छ । यसअघि २०१८ सालमा महेन्द्र गोल्डकपको नामले फुटबल प्रतियोगिता हुँदा आयोजक टिम ‘मोरङ ११’ फाइनलमा पुगेको थियो । त्यतिबेला टिमले उप–विजेताको उपाधि हात पारेको थियो । विजेताको उपाधि भने भारतको कलकत्ताले हात पार्न सफल भएको थियो । त्यसपछि २०१९ सालमा भएको गोल्डकपमा आयोजक टिम ‘मोरङ ११’ ले पहिलोपटक विजेताको उपाधि हात पारेको हो । सातौं संस्करणसम्म आइपुग्दा घरेलु टिम जम्मा तेस्रोपटक फाइनलमा पुगेको हो ।

गत वर्षको लिग विजेता मछिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको आयोजक विराटनगरले सेमिफाइनल खेलबाट बिमल घर्ती मगरलाई पनि मैदानमा ओरालेको छ । घरेलु टिमलाई फाइनलमा पुर्‍याउन बिमलले महत्वपूर्ण भूमिका खेलका छन् । उनले निकालेको दुवै क्रसपासमा विराटनगरले संकटालाई २–१ गोेलान्तरले पराजित गरेको छ ।

विराटनगरमा बुधबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तानले आफूहरु उपाधिका लागि खेल्ने बताएका छन् । विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानले गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘विराट गोल्डकपको फाईनलमा पुगेका छौं । उपाधि उचाल्ने प्रयास रहने छ,’उनले भने,‘विराटनगरलाई दोस्रोपटक गोल्डकपको उपाधि हामी नै दिलाउने छौं ।’

विराटनगर सिटी फुटबल क्लबका कप्तान विशाल श्रेष्ठले घरेलु दर्शकको साथ र हौसलाले आफूहरू उपाधि नजिक पुगेको दाबी गरे । उनले भने,‘लुका सकर राम्रो टिम हो । अग्ला कद भएका खेलाडी छन् । त्यसैले हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौं ।’

प्रि–म्याच कन्फरेन्समा बोल्दै भारतको केरलास्थित लुका सकर क्लबका कप्तान अर्सद हामीले नेपालकै प्रतिष्ठित उपाधि उचाल्न आफुहरु निकै उत्साहित रहेको बताए । साविकको विजेता टिमलाई समेत पराजित गर्दै आफूहरु फाइनलमा स्थान पक्का गर्न सफल भएकाले उपाधि हात पार्ने विषयमा कुनै दुईमत नरहेको उनले जिकिर गरे ।

विराटनगरमा गत चैत्र ९ गतेदेखि रात्रीकालीन विराट गोल्डकप सुरु भएको हो । बिहीबार हुने फाइनल खेलमा विजेताको उपाधि हात पार्ने टिमले २० लाख १५ हजार र उप–विजेताले १० लाख १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

खेलका प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर–प्ले गरी सबैलाई जनही २५/२५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.