सिँचाइ अभावमा गावै विस्थापित

सिँचाइ अभावमा गावै विस्थापित
गावै विस्थापित बनेपछि खण्डहर बनेका मुद्रे स्याल्तडीका जीर्ण घर तस्बिर : कृष्ण बिष्ट
सुन्नुहोस्

सिँचाइ अभावकै कारण गाउँ नै विस्थापित बन्न बनेको छ।

बैतडी : बैतडीको मेलौली नगरपालिका–१ मुद्रे स्याल्तडीमा कुनै बेला वर्षको तीन खेती पाक्ने खेत अहिले बन्जर बनेको छ। २०६२ सालमा आएको बाढीले सुर्नया नदीबाट जोडिएको सिँचाइ कुलो नदीले तहसनहस बनाएपछि खेत बाझो मात्रै रहेन। सिँचाइ अभावकै कारण गाउँ नै विस्थापित बन्न बनेको छ। 

वडा–१ को मुद्रे स्याल्तडी गाउँ छाडेर वडा–६ मा बस्दै आएका लालमणि भट्ट भन्छन्, ‘सिँचाइ कुलो भत्किएपछि एक/दुई वर्ष आकासे पानीको भरमा खेतीपाती गर्न खोज्यौं। तर, अन्नबाली सप्रेन, वर्षमा ३ खेती हुने जमिन छोड्न बाध्य भयौं’, भट्ट भन्छन्, ‘अहिले गिट्टी कुटेर छोराछोरी हुर्काउन बाध्य छौं।’ समान्य श्रमदानले कुलो नबन्नेगरी भत्किएकाले ठूलो बजेटबिना सिँचाइ नबन्ने र सिँचाईको अभावमा खान लाउनसमेत नपुग्ने अवस्था आएपछि बसाइ सर्न बाध्य भएको भट्टको भनाइ छ। भट्टसहित स्याल्तडीका ५० परिवार विस्थापित भइसकेका छन्। 

५० परिवारले प्रयोग गर्ने कुलो भत्किएपछि सबै खेत बाँझो रहेको मेलौली नपा प्रमुख भीमबहादुर चन्दले बताए। ‘पर्याप्त उब्जनी ठाउँ अहिले बाँझो छ। करिब ५० परिवारले त्यहाँ खेती गर्न छोडिसके’, नगर प्रमुख चन्दले भने। सिँचाइका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय भइरहेको नगर प्रमुख चन्दले बताए। 

सिँचाइ कुलो निर्माणको माग गर्दै तात्कालीन गाविस, जिल्ला विकास समिति र अहिलेको नगरपालिका, प्रदेश र संघ सरकार धाएको वर्षौं भइसकको थियो। तर, त्यहाँका स्थानीयहरूले राज्यलाई पटक–पटक गुहार गर्दा सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा १ करोड ५० लाख बजेट विनियोजनसमेत गरेको थियो। तर, सिँचाइ डिभिजन कार्यालय पाटनले समयमै सम्झौता नगरिदिँदा उक्त बजेटसमेत फ्रिज गयो।

स्थानीय जयदत्त भट्ट भन्छन्, ‘सम्झौताका लागि धेरै पटक आग्रह गर्दासमेत ‘कहिले इन्जिनियर छैन। कहिले म बाहिर छु। टाइम छँदैछ’ भन्नुभयो। २०७६ जेठसम्म यसरी अल्मल्याए। अन्त्यमा आएर अहिले सकिँदैन अर्को वर्ष नयाँ योजना हाल्न लगाइदिउँला भनेर ठग्नुभयो।’ 

nullएक सिँचाइ कुलोका लागि बजेट माग गर्न सिँचाइ डिभिजन कार्यालयमा ज्ञापनपत्र पेस गर्दै स्याल्तडीका स्थानीय। 

आएको बजेट सम्झौताका लागि उपभोक्ता समितिसमेत गठन गरेका यहाँका नागरिकलाई तत्कालीन सिँचाइ डिभिजन कार्यालयका प्रमुख तेजप्रसाद दाहालले अलमलमा पारेर सम्झौता नगरिदिएको त्यहाँका स्थानीयहरूको आरोप छ। सिँचाइ कुलो भत्केर विस्थापित बनेका ५० परिवार मेलौली नगरपालिका–६ मा बस्दै आएका छन् भने ५ परिवार मुद्रे, स्याल्तडीमै बसिरहेका छन्। 

‘विस्थापित भएर बसाइ सरेपछि हाम्रा घर भत्किसके, घरका अवशेषसमेत मेटिने अवस्थामा छन्। खेत झाडीमा परिणत भैसक्यो। तर, हामीहरूको पीडा कसले सुनिदिने’, विस्थापित भट्ट भन्छन्। मुद्रे स्याल्तडीको विषयमा याक नेपालले स्थानीय, प्रदेश र संघ सरकारसम्म विस्थापित नागरिकहरूलाई जोड्ने काम गरेको थियो। याक नेपाल धनगढीका प्रतिनिधि देवी खनाल भन्छन्, ‘हामीले स्थानीयदेखि प्रदेश सरकारसम्म उनीहरूलाई पुर्‍याएर तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टसम्मलाई भेटाउने काम गर्यौं। योजना पनि आयो। तर, सिँचाइ डिभिजनको लापरबाहीका कारण काम भएन।’ 

मन्त्रालयको प्राविधिक टोलीले उक्त क्षेत्रमा सिँचाइ कुलो अवश्यक रहेको र कुलो निर्माणसमेत सम्भव भएको प्रतिवेदन बुझाएको थियो। सरकारी प्रतिवेदनअनुसार नै उक्त क्षेत्रमा बर्सेनी उत्पादन हुँदै आएको ३६ हजार ८३४ किलो खाद्यान्न ह्रास भएको छ। अहिलेसम्मको हिसाब गर्दा अन्नमात्रै ६ लाख २६ हजार बढी किलो खाद्यान्न ह्रास भइसकेको याक नेपालका देवी खनालको भनाइ छ।

याक नेपालकै सहयोगमा स्याल्तडीका स्थानीयहरूले सिँचाइ डिभिजन कार्यालयमा आगामी आर्थिक वर्षमा बजेटको माग गर्दै ज्ञापनपत्र पेस गरेका छन्। सिँचाइ डिभिजन कार्यालयका प्रमुख सन्दीप डंगोलले आगामी आवका लागि पहिलो प्राथमिकतामा राखेर बजेट माग गरिने बताए। यो ज्ञापनपत्रसहित प्रदेश मन्त्रालयका सचिवलाई पठाउँछौं। आगामी आवमा पहिलो प्राथमिकतामा राख्नेगरी बजेट माग गर्छौं’, प्रमुख डंगोलले भने।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.