झडपमा सुरक्षाकर्मी र आन्दोलनकारी घाइते

झडपमा सुरक्षाकर्मी र आन्दोलनकारी घाइते
विराटनगरको प्रदर्शनमा भएको झडप। राकेश कर्ण
सुन्नुहोस्

प्रदर्शनका क्रममा उत्तेजित हुँदै आन्दोलनकारी आक्रामक बनेर सुरक्षाकर्मीमाथि जाइलागेको दाहालले बताए।

विराटनगर : साझा विकल्पबिना कोसी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचान पक्षधरले गरेको आन्दोलनका कारण विराटनगर अशान्त बन्न थालेको छ। 

प्रदेश राजधानी विराटनगरमा पहिचानवादी समूहले प्रदर्शनलाई निरन्तरता दिन थालेपछि अवस्था तनावपूर्ण बनिरहेको हो। मंगलबार भएको प्रदर्शन नियन्त्रण गर्ने क्रममा दोहोरो झडप हुँदा नेपाल प्रहरीका डीएसपी (नायव उपरीक्षक)सहित १८ जना सुरक्षाकर्मी घाइते भएका छन्। 

घाइते हुनेमा नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका ३ जना छन्। प्रदर्शनकारीको ढुंगामुडाले सुरक्षाकर्मी घाइते भएका हुन्। 

प्रदर्शनकारीले प्रहार गरेको इँटा, बियरको बोतल र ढुंगाले लागेर नेपाल प्रहरीतर्फ वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी विजय श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर (प्रहरी निरीक्षक) रोहित शर्मासहित घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

सशस्त्र प्रहरीतर्फ १ जना नायव निरीक्षक र २ जना जवान घाइते भएका छन्। घाइतेको हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। 

‘घाइतेमध्ये १ जनाको अवस्था अलि गम्भीर छ। अरुको अवस्था सामान्य छ,’ उनले भने, ‘घाइते सुरक्षाकर्मीको कोसी अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनकारीको ढुंगा लागेर सुरक्षाकर्मी घाइते भएका हुन्।’ 

प्रदर्शनका क्रममा उत्तेजित हुँदै आन्दोलनकारी आक्रामक बनेर सुरक्षाकर्मीमाथि जाइलागेको दाहालले बताए। 

‘आन्दोलनकारीले ढुंगा र इँटाले प्रहार गरे। तर, सुरक्षाकर्मीबाट लाट्ठी चार्ज भएको छैन,’ उनले भने, ‘संयमित भएर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरियो। उत्तेजित भीडलाई तितरवितर बनाउन भने अश्रुग्यास प्रहार र हवाईफायर गर्नुपर्ने अवस्था आयो।’ आन्दोलनकारी उत्तेजित भए पनि सुरक्षाकर्मीको संयमताकै कारण ठूलो क्षति हुन नपाएको डीएसपी दाहालको भनाइ छ। उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीबाट १३ सेल अश्रुग्यास र १७ राउण्ड हवाईफायर भएको छ। सशस्त्रले ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो। 

लगभग डेढ घण्टाजति प्रदर्शन गरेपछि कोणसभा गरेर आन्दोलनकारी फर्किएका थिए। पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने र कोसी नाम खारेज गर्नुपर्ने माग गर्दै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताहरू गाडी चढेर प्रदर्शनका लागि विराटनगर आएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.