मेक्सिकोको आप्रवासी हिरासत केन्द्रमा आगलागी, ३९ जनाको मृत्यु
मेक्सिको : मेक्सिकोको आप्रवासी हिरासत केन्द्रमा भीषण आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। मेक्सिकोको उत्तरी सहर सिउडाड जुआरेजमा रहेको एक आप्रवासी डिटेन्सन सेन्टरमा भीषण आगलागी भएको छ।
समाचार एजेन्सी एएफपीका एक संवाददाताका अनुसार राष्ट्रिय आप्रवासन संस्थानको पार्किङमा अग्निनियन्त्रक र उद्धारकर्ताहरूले धेरै शवहरूलाई कम्बलले छोपेको देखियो।
राष्ट्रिय अध्यागमन संस्थानमा सोमबार मध्यरातअघि आगलागी भएको थियो।
केही रिपोर्टहरूमा आगलागी शौचालयबाट सुरु भएको थियो र यो आगजनी गराइएको आशंका गरिएको छ।
भारतीय समाचार एजेन्सी पीटीआईले पनि एपीलाई उद्धृत गर्दै ३९ जनाको मृत्यु भएको र २९ जना घाइते भएको जानकारी दिएको छ।
एएफपीसँगको कुराकानीमा राहत तथा उद्धार टोलीका एक कार्यकर्ताले घटनास्थलमा करिब ७० आप्रवासी रहेको बताए। उनले अधिकांश मानिस भेनेजुएलाका नागरिक रहेको पनि बताए।
यो शहर आप्रवासीहरू अमेरिका प्रवेश गर्ने मेक्सिकोको सीमाना शहरमध्ये एक हो।
इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनको तथ्याङ्कअनुसार सन् २०१४ यता त्यहाँ ७ हजार ६६१ आप्रवासीको मृत्यु वा बेपत्ता भएका छन्। बीबीसी