बेनीमा कटान र बाढी नियन्त्रण गर्न आठ आयोजना

बेनीमा कटान र बाढी नियन्त्रण गर्न आठ आयोजना
बेनीस्थित कालीगण्डकी नदी किनारमा काउन्टर फोर्ट प्रविधिको पर्खाल निर्माण गरिँदै । तस्बिर : सन्तोष गौतम
सुन्नुहोस्

बेनी : म्याग्दीको सदरमुकाम बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न आठवटा आयोजना सञ्चालनमा आएका छन्। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न एकै साथ आठ ठाउँमा नियन्त्रणको काम थालिएको हो । बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा राखेको छ । 

उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालबय अन्तरगतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले यसपाली बेनी र आसपासका क्षेत्रमा करिब पचास करोड रुपैयाँ लागतमा नदी नियन्त्रण योजना कार्यान्वयन भएको जनाएको छ । 

परियोजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटानको उच्च जोखिममा रहेको बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न आठ प्याकेजमा काम भइरहेको जानकारी दिए ।  

‘एक वटा गत वर्षको र सात वटा यस वर्षको मध्य छ वटा प्याकेजको ठेक्का सम्झौता भएर काम सुरू भइसकेको छ,’उनले भने, ‘म्याग्दी नदी किनारमा तीन र कालीगण्डकीमा पाँच ठाउँमा कटान नियन्त्रण गर्ने संरचना निर्माण गर्न लागिएको हो ।’ 

नौ करोड ४५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सन जेभीले कालीगण्डकी किनारमा १६४ मिटर लामो र ८ मिटर अग्लो काउन्टर फोर्ट प्रविधिको पक्की पर्खाल निर्माण गरिरहेको छ । सो ठेक्कामार्फत गत वर्ष कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मंगलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजित पर्खाल निर्माण भएको थियो । 

मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा दुईवटा प्याकेजमा २६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल बनाउन पाँच करोड ७७ लाख रुपैयाँमा सुप्रिम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको परियोजनाका ईञ्जिनियर कृष्ण विश्वकर्माले जानकारी दिए । 

बेनी नगरपालिकाको वडा नम्बर २ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि ७५ मिटर लामो कम्पोजित पर्खाल बनाउन दुई करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हिमालयन कन्ट्रक्सनले तिब्रताका साथ काम गरिहरेको छ ।

पर्वतको जलजला गाउँपालिका–३ वारीबेनी स्थित कालीगण्डकी किनारमा ८० मिटर पर्खाल बनाउन तीन करोड २० लाख रुपैयाँ लागत अनुमान गरिएकोमा ठेक्का सम्झौताको प्रक्रीयामा छ । बेनी नगरपालिका–९ स्थित राहुघाट नदी किनारमा ९० मिटर लामो पर्खाल बनाउन भाग्यलक्ष्मी बिआरटिले दुई करोड ६८ लाख रुपैयाँमा ठेक्का लिएको छ । 

जलजला गाउँपालिकाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो पर्खाल बनाउन तीन करोड २० लाख रुपैयाँमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले पनि काम गरिरहेको छ । कालीगण्डकी र राहुघाट नदीको दोभान स्थित जलजला गाउँपालिका–२ को राममन्दिरमा पक्कि पर्खाल बनाउन माछापुच्छ्रे निर्माण सेवाले चार करोड ३२ लाख रुपैयाँमा ठेक्का लिएको छ । 

मंगलाघाटको ठेकेदार केही दिनमा कार्यक्षेत्रमा आउने तयारी गरेको र अन्य ठाउँको ठेक्का लिएका निर्माण कम्पनीले बर्खा अघिनै सम्पन्न गर्ने लक्ष्य सहित मजदुर र उपकरण परिचालन गरिएको जनाएका छन् । रातीको समयमा पनि काम गरिरहेका छन् । 

बेनी बजारका बासिन्दा समेत रहेका संविधानसभा सदस्य रेशमबहादुर बानियाले नदी नियन्त्रण आयोजना निर्माणको काम सुस्त भएको गुनासो गर्नुभयो । ‘नदीमा पानीको सतह बढ्न शुरु नहुदै काम सकिनुपर्ने थियो तर गर्मी बढेर नदीमा पानीको सतह बढ्न थालेपछि काम हुन थालेको छ,’उनले भने, ‘मजदुर र उपकरणलाई खण्ड खण्ड मा परिचालन गरेर कामलाई तीब्रता नदिने हो भने थप क्षतिको जोखिम देखिन्छ ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.