बालविवाह रोक्न धामीझाँक्री र पण्डित सक्रिय

विवाहको लगन दिँदा जन्मदर्ता मागिने

बालविवाह रोक्न धामीझाँक्री र पण्डित सक्रिय

पण्डितहरूसँगै तिलागुफाका मस्टो देतवाका धामीहरू पनि बालविवाह रोक्न लागिपरेका छन्।

वीरेन्द्रनगर : कालीकोटको तिलागुफा नगरपालिकामा–७ का पण्डित कृष्ण न्यौपाने विवाह गर्न जाँदा दुलाहादुलहीको अनिवार्य रूपमा जन्मदर्ता माग्छन्। उनले भने, ‘पहिले हामीलाई बालविवाहका बारेमा थाहा थिएन्। स्थानीय सरकार र गैरसरकारी संस्थाले बालविवाहको जोखिम र उमेर पुगेर गरिने विवाहबाट हुने फाइदाका बारेमा जानकारी दिए। हामी पण्डितहरू सबैले उमेर नपुगेका दुलाहा दुलहीको विवाह नगरी दिने सहमति गरेका छौं।’

तिलागुफा ५ का पण्डित मणिप्रसाद उपाध्याय बालविवाह कानुनी र सामाजिक अपराध भएकाले हामी त्यसलाई अन्त्य गर्न लागिरहेका बताउँछन्। ‘बालविवाहलाई शुभ कार्यका रूपमा हामी मान्दैनौं। त्यस कारण उमेर नपुगेका दुलाह दुलहीहरूको विवाह पनि हामी गर्दैनौं।’

कृष्ण र मणिप्रसाद मात्र होइन तिलागुफाका पण्डितले २० वर्ष नपुगेकाको विवाह गर्ने लगन दिँदैनन्। अहिले कालिकोटमा बालविवाह रोक्नका लागि धामीझाँक्री र विवाह गर्ने पण्डित नै सक्रिय हुन थालेका छन्। स्थानीय सरकार र बालविवाहविरुद्ध अभियान चलाइरहेका गैरसरकारी निकायहरूको सहजीकरणमा बालविवाह रोक्न धामीझाँक्री र पण्डितलाई सक्रिय पारिएको हो। नगरपालिकामा सबैको रोहबरमा प्रतिबद्धता पनि गरेका छौं। हामीसँग लगन माग्न आउनेलाई जन्मदर्ता पनि साथमा ल्याएर आउन भन्छौं। 

पण्डितहरूसँगै तिलागुफाका मस्टो देतवाका धामीहरू पनि बालविवाह रोक्न लागिपरेका छन्। तिलागुफाका धामीका अगुवा टेकबहादुर शाहीले भने, उमेर नपुगेका कुनै पनि दुलाह वा दुलहीलाई हामी लगन दिदैनौं। गाउँमा विवाहका लागि मानिसहरू प्राय पण्डित र केहीले देउताको धमेलो हालेर विवाहको लगन माग्ने प्रचलन छ। ती दुइटा उपाय गरेर लगन नमागी विवाह नै हुँदैन्। त्यसका लागि हामी ८५ जना धामी र २६ जना पण्डित गरेर १ सय ११ जना छौं। सबैले उमेर नपुगेका दुलाह र दुलहीको विवाह नगर्ने सहमति गरिसकेका छौं। हामीले लगन नदिएर बालविवाहको भोज नखाने हो भने कोही कसैले पनि बालविवाह गर्ने आँट गर्दैनन्। 

तिलागुफा नगरपालिकाले कर्णालीमै पहिलो पटक धामीझाँक्री र पण्डितहरूको सम्मेलन नै आयोजना ग¥यो। तिलागुफा नगरपालिका प्रमुअ शंकरप्रसाद उपाध्यायले भने, हामीले नगरपालिकाभरिका धामी र पण्डितलाई नगरपालिकामा सम्मेलन आयोजना गरेर सबैलाई पगडी बाँधी सम्मानसमेत गरेका छौं। उनीहरूको साथ र सहयोगले नगरपालिकाका सबै वडामा बालविवाह रोकिएको छ। विगतका तुलनामा अहिले बालविवाह निकै कम हुँदै गएको छ।

अब पूर्णरूपमा बालविवाह अन्त्य गर्ने अभियानमा छौं। उनका अनुसार तिलागुफा नगरपालिकाले धामी, पण्डित र नगरपालिकाबीच बालविवाह नगर्ने, नगराउने, शिक्षामा छोराछोरीलाई समान अवसर दिने, धामी झाँक्रीहरूले बालविवाह रोक्न बनाएको कार्ययोजना कार्यान्वयन गर्ने, बालविवाहबिरुद्ध सबै एकजुट भएर अभियान सञ्चालन गर्ने, बालविवाह गर्नेलाई कानुनी दायरामा ल्याउने, बालविवाहसम्बन्धीको कानुनको पालना गर्ने, बालविवाहको भोज बहिस्कार गर्ने, विवाहको लगन दिदा जन्मदर्ता पनि हेर्ने र २० वर्ष नपुगेकालाई विवाहको लगन नदिने प्रतिबद्धता पनि गरिएको छ। 

सेभ द चिल्डेन, किर्डाक नेपालद्वारा सञ्चालित सहयात्रा दोस्रो परियोजनाअन्तर्गत बालअधिकार शासन बालसंरक्षण परियोजना संयोजक सरिता खत्रीले पछिल्लो समय तिलागुफामा धामी र पण्डितको साथले बालविवाह निकै कम भएको बताइन्। उनले भनिन्, आर्थिक वर्ष २०७६÷७७ मा तिलागुफामा यो परियोजना सुरुवात गर्दा गरिएको सर्वेक्षणमा जम्मा विवाहमा ५९ प्रतिशत बालविवाह भएको पाइएको थियो। अहिले उक्त बालविवाह १० प्रतिशतमा झरेको छ। यसमा स्थानीय सरकार, गाउँका धामीझाँक्री र विवाह गर्ने पण्डितहरूको सक्रियताले बालविवाह कम गर्न निकै सहयोग पुगेको छ। अबको केही वर्षमा स्थानीय नागरिकहरूको पनि साथ भयो भने बालविवाहमुक्त नगरपालिका घोषणा हुन्छ। बालविवाह कसैले पनि गर्दैनन्। धामीझाँक्री, पण्डित, बालक्लबका कारण तिलागुफामा गत आर्थिक वर्षमा ४५ वटा बालविवाह रोकिए। चालू आर्थिक वर्षमा १० वटा बालविवाह रोकिए। उमेर नपुगी विवाह गर्ने प्रचलन पनि कम भएको छ।

तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले धामीझाँक्री र पण्डितको सहयोगले बालविवाह विरुद्धको अभियान निकै प्रभावकारी भएको बताए। उनले भने, गाउँमा उमेर नपुगेर  गरिने विवाह रोक्न धामीझाँक्री र पण्डितहरू एकजुट भएका छन्। अभिभावक, बालबालिका, धामीझाँक्री र जनप्रतिनिधि सबैको समन्वयबाट बालविवाह रोक्न  तिलागुफा नगरपालिकामा विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालनको भइरहेका छन्। यसले बालविवाह रोक्नका लागि सहयोग पुगेको छ। विगतमा अधिकांश विवाह उमेर नपुगेर हुन्थ्ये। अहिले अधिकांश विवाहहरू उमेर पुगेर नै हुने गरेका छन्। हामीले बालविवाह विरुद्धको रणनीतिक योजना बनाएर त्यसअनुसार १५ प्रतिशत बजेट पनि विनियोजन गरी काम भइरहेको छ। हामीले विवाह गर्ने उमेर पुग्दा पनि विवाह नगरेका ७८ वटा किशोर–किशोरीहरूलाई सम्मान पनि गरेका छौं। 

यस्तै जिल्लाको शुभकालिका गाउँपालिकाका साथै अन्य पालिकाले पनि बालविवाहविरुद्ध धामीझाँक्री र पण्डितहरूलाई सक्रिय बनाउन थालेका छन्। शुभकालिका गाउँपालिकामा मात्र चालू आर्थिक वर्षमा धामी र पण्डितकै सहयोगमा ९८ वटा बालविवाह रोकिएका छन्। 

गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले भनिन्, किर्डाक, सेभ द चिल्डेनले धामीझाँक्री र पण्डितहरूलाई नैे बालविवाहविरुद्धको अभियानमा सक्रिय बनाएपछि हाम्रो पालिकामा बालविवाह न्यूनीकरणमा ठूलो सहयोग पुगेको छ। अब हामी स्थानीय सरकारले पनि यो सकारात्मक कदमलाई निरन्तरता दिएर बालविवाह मुक्त गाउँपालिका बनाउँछौं। यो अभियानमा बालक्लब, धामीझाँक्री, पण्डित र स्थानीय सरकारको सहकार्य निरन्तर रहनेछ। 

बालविवाहबिरुद्धको अभियानमा सक्रिय तिलागुफामा धाँमीझाँक्री र पण्डितहरू।   ि अन्नपूर्ण  
अहिले कालिकोटमा बालविवाह रोक्नका लागि धामीझाँक्री र विवाह गर्ने पण्डित नै सक्रिय हुन थालेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.