न सोच, न शौचालय !

न सोच, न शौचालय !
फाइल तस्बिर।
सुन्नुहोस्

मधेसतिर बाटोमा कथंकदाचित कतै शौचालय पाइहालियो भने पनि त्यहाँ जान सक्ने अवस्था हुँदैन। खुला शौच गर्दा सोको असरले विभिन्न रोग फैलिई मानव जीवन नै जोखिममा पर्ने गरेको छ।

मधेस प्रदेशको ‘आर्थिक राजधानी’ भनिएको वीरगन्ज र प्रदेशको राजधानी जनकपुरधामबीच सार्वजनिक यातायातमा यात्रा तय गर्दा कम्तीमा चार घण्टा जति छ। सडक फराकिलो र चिल्लो भइसकेको छ। यात्रा सहज नै हुन्छ। तर, यो चार घण्टा महिलाका लागि निकै असहज र अप्ठ्यारो हुने गरेको छ। गतसाता वीरगन्जबाट यात्रुवाहक बसमा जनकपुर आउने साइत जुरेको थियो। सँगैको सिटमा बसेकी एक किशोरीबीच बाटोमा केही असहज व्यवहार देखाउन थालिन्। यात्रुका लागि बस कुनै ठाउँमा दुई मिनेट रोक्दा पनि ती किशोरीको आँखा वरिपरि फनफनी घुम्थ्यो।

बस फेरि आफ्नै गतिमा गुडेपछि उनी निराश हुन्थिन्। आखिर उनको समस्या के हो ? बुझ्न चासो भयो। सोध्न पुगेँ, बहिनी के भयो ? केही अप्ठ्यारो छ ? उनले भनिन्, ‘दिदी, यो बाटोमा शौचालय छैनन् ? शौच गर्न बस रुक्दैन ? मेरो त पेट नै फुट्लाजस्तो भइसक्यो।’ रजस्वला भएकी उनलाई शौचालय नभई जाने अवस्था थिएन। तर, लाज र कुनै सिप नदेखेर उनी जेनतेन आफूलाई सम्हालेर बसेकी थिइन्।

बस चढेको करिब दुई घण्टापछि सर्लाहीको जंगल आउनै लाग्दा केहीबेरका लागि बसलाई सडकमा छेऊ लगाइयो। सहचालकले पाँच मिनेट जानोस् है भनेर यात्रीलाई सन्देश दिए। पुरुष यात्रीहरू धमाधम बसबाट ओर्लिएर सडक छेउछाउमै शौच गर्न उभिए। तर, बसमा भएका करिब ६ महिला र मेरो छेउमै बसेकी किशोरी चारैतिर आँखा घुमाउँदै निराश भइन्। सडकको छेउमा रोकिएको गाडी बाहिर निस्किएका महिलाहरू शौच कहाँ गर्ने भनी हैरान थिए। रजस्वला भएकी ती किशोरीलाई त झनै आपत् पर्‍यो।

पुरुषहरू गाडीभित्र छिरिसकेपछि लाजशर्म मारेर केही वयस्क महिला सडक छेउमै शौच गर्न बसे। तर, ती किशोरीलाई खुलामा शौच गर्ने आँट नै भएन। उनी छट्पटिँदै फेरि पनि बसमै चढिन्। बस जनकपुरतर्फ लाग्यो। करिब डेढ घण्टापछि बस डिजेल भर्न पेट्रोलपम्पमा रुक्यो। तर, त्यहाँको शौचालयमा पनि ताल्चा लगाइएको थियो। ती किशोरी आत्तिएर पम्पका कर्मचारीलाई हार–गुहार गर्न पुगिन्। उनीहरूले ताल्चा खोल्दिए। घण्टौंपछि उनी बल्ल शौचालय जान पाइन्।

हुन त नेपाल २०७६ असोज १३ मै खुला दिसामुक्त भइसकेको छ। तर, महिलाका लागि निकै कष्टकर हुने गरेको छ। यात्रामा निस्कँदा प्यास लागे पनि महिलाले पानी नै नपिएर बस्नुपर्ने अप्ठ्यारा छन्। दिसा–पिसाब रोकेर राख्दा यसले शरीरमा निकै अप्ठ्याराहरू निम्त्याउँछ। नेपालमा लामो यात्रा होस् वा छोटो, ‘रिफ्रेसमेन्ट सेन्टर’ कतै देखिँदैनन्। लामो यात्राको क्रममा बाटोमा होटलहरू सजिलै भेटिन्छन्। बाहिरबाट हेर्दा नै अति फोहोर र भित्र छिर्दा साससमेत फेर्न गाह्रो हुने शौचालयहरू महिलाले जेनतेन प्रयोग गर्नुपर्ने बाध्यता छ। चर्पी अनिवार्य सफा राख्नुपर्नेमा न त यात्रु, न व्यवसायी न सम्बन्धित कसैको पनि गम्भीर ध्यान जान सकेको छैन।

स्वस्थ्य मानवका लागि जति पौस्टिक एवं सन्तुलित आहारको आवश्यकता पर्छ। शौचका लागि निश्चित अनि सुरक्षित स्थानको त्यत्ति नै जरुरी छ। विडम्बना ! करोडौं, अर्बौं रुपैयाँ भौतिक पूर्वाधार निर्माणका लागि खर्चने तीन तहका सरकारले शौचालय व्यवस्थापनतर्फ कुनै ध्यान दिएका छैनन्। महिनावारी र गर्भवती महिलाले यात्राको क्रममा शौचालयको अभाव हुँदा ठूलो सकस बहोर्नुपरेको छ। खुला शौच गर्दा सोको असरले विभिन्न रोग फैलिई मानव जीवन नै जोखिममा पर्ने गरेको छ। यसलाई सम्बन्धित पक्षले गम्भीर रूपमा सोच्नु आवश्यक छ। मधेसतिर बाटोमा कथंकदाचित कतै शौचालय पाइहालियो भने पनि त्यहाँ जान सक्ने अवस्था हँुदैन। दिसापिसाब गर्दा शौचालय फोहोर छ भने पनि त्यसबाट संक्रमणजन्य रोगहरू लाग्न सक्छन्। 

फोहोर शौचालयको प्रयोगले झाडापखाला, आउँ, हैजा, टाइफाइडलगायत संक्रमणजन्य रोगहरूको सम्भावना पनि प्रबल हुन्छ। फोहोरबाट हुने संक्रमणजन्य रोगको पहिलो कारण शौचालयको फोहोर नै हो। जहाँ व्यवस्थित र सफा शौचालय हुँदैन, त्यहाँ सरुवा रोगको महामारी फैलिने जोखिम सधैं उच्च रहन्छ। सरुवा रोगको असर, रोकथाम र सचेतनाका लागि सबैभन्दा पहिला शौचालय सफा र व्यवस्थित हुनु आवश्यक छ। तबमात्र मानव स्वास्थ्य गुणस्तरीय हुन्छ।

सरसफाइ र शौचालयको व्यवस्था मानव सभ्यताको सूचक भएकाले यसलाई देशका सबै सहरमा अवश्य तीनै तहको सरकारले आवश्यक व्यवस्था मिलाउन आवश्यक छ। दुर्भाग्य, मानवको जनजीविकासँग सरोकार राख्ने विषयमा कुनै सरोकार भएको देखिँदैन। शौचालय अभावको मारमात्रै यात्राको क्रममा नभई हामीकहाँ पर्यटकीय थलोहरू, सार्वजनिक स्थलहरू, सरकारी अस्पताल र कार्यालय साथै विभिन्न सार्वजनिक निकायहरूमा त्यत्ति नै छ। प्रत्येक निर्वाचनमा विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवार बन्न लागेकाहरूले लामा प्रतिबद्धता पत्र सार्वजनिक गर्छन्। तर, सामान्य व्यक्तिको जीवनलाई प्रतिदिन प्रभावित गर्ने शौचालय र खानेपानीका विषय आदिलाई महत्त्व दिइन्न। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.