जनगणनाको सुखद सन्देश

जनगणनाको सुखद सन्देश
सुन्नुहोस्

नेपाल जनसांख्यिक लाभांश उपभोग गर्ने समयमा छ।

राष्ट्रिय जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ देखाएको छ। २०६८/७८ को दशकमा जनसंख्याको वार्षिक वृद्धिदर ०.९२ प्रतिशत देखिएको छ। उक्त अवधिमा २६ लाख ७ हजार ७४ नेपाली थपिएका छन्। यसले नेपाललाई एउटा सुन्दर र सम्भावनायुक्त देशका रूपमा चिनाएको छ। यहाँ केही भएन भनेर नकारात्मक भाव मात्र राख्नेका लागि सुखद सन्देश दिएको छ।

उल्लेख्य मात्रामा प्रजननदरमा कमी, मृत्युदरमा गिरावट, स्वास्थ्य सेवाको विस्तार, शैक्षिक स्तरमा वृद्धि, रोजगारीको उपलब्धता आदि कारणले जन्मदर घटेको छ। जसले गर्दा बालबालिकाको संख्या घट्यो, युवाको बढ्यो। ज्येष्ठ उमेरको संख्या पनि क्रमशः बढेको देखिएको छ। 

जनसंंखिक बनावटमा युवाको बाहुल्य हुनु नेपाली धर्तीमा देखिएको चाँदीको घेरा हो। इतिहासमा कहिले पनि युवा अर्थात् सक्रिय (काम गरी खान सक्ने) उमेरको संख्या यति धेरै थिएन। तर, यसपटक सक्रिय उमेर (१५÷५९ वर्ष) समूहको जनसंख्या १ करोड ८० लाख ७१ हजार ६ सय ८५ पुगेको छ। यो भनेको ६१.९ प्रतिशत हो। अघिल्लो जनगणनामा यो अनुपात ५६.९ प्रतिशत थियो। काम गरी खान सक्ने उमेरको संख्या १० वर्षमा ५ प्रतिशतले बढ्नु सकारात्मक र आशलाग्दो संकेत हो। 

धेरै देशले जन्मदर, मृत्युदर घटेको, युवा र सक्रिय जनसंख्या बढेको बेला नै विकास र समृद्धि हासिल गरेका छन्। जनसंख्यामा बालबालिका र ज्येष्ठभन्दा युवाको संख्या बढेको अवस्थालाई जनसांख्यिक लाभांशको समय भनिन्छ। नेपाल त्यस्तै लाभांशको उपभोग गर्ने समयमा छ। जन्मदर र मृत्युदरमा ऐतिहासिक गिरावट आएको छ। तीव्र गतिमा प्रजननदरको गिरावटले द्रुत आर्थिक विकासका नयाँ अवसर सिर्जना गर्दछ। अहिलेको करिब ६२ प्रतिशत जनसंख्या त्यस्तै एउटा अवसर हो। जुन चाँदीको घेरा बनेर नेपालको धर्तीमा बसेको छ। अहिले न्यून आश्रित जनसंख्या भएको समय हो। यस्तै समयमा कोरिया, जापान, मलेसियाजस्ता देशले विकासमा फड्को मारेका हुन्। 

जापानसँग नेपालबीच धेरै कुरामा मेल खाँदैन। जनसांख्यिक बनावटका विषयमा भने धेरै कुरा मेल खान्छन्। त्यसैले चाँदीको घेराका रूपमा रहेको जनसंख्याको यो ढिक्कालाई नेपालले पूर्णरूपमा सदुपयोग गर्नुपर्छ। 

सन् १९९१ को जनगणनामा पहिलो पटक ५–९ वर्षभन्दा ०–४ वर्ष उमेर समूहको जनसंख्या कम्ती देखिएको हो। त्यसबेला ०–४ वर्ष उमेर समुहको जनसंख्या १४.६५  हुँदा ५–९ वर्षको १५.१५ प्रतिशत थियो। जबकि सन् २०२१ मा भएको जनगणनाअनुसार ०—४ वर्ष उमेर समूह ८.४ प्रतिशत मात्र छ। यसले जन्मदरको आकार सानो भएको पुष्टि गर्छ। शुक्रबार प्रकाशित तथ्यांकअनुसार जनसांख्यिक बनावटको सबभन्दा ठूलो मात्रा १०–१४ र १५–१९ वर्षको जनसंख्यामा छ। जसमा क्रमशः १०–१४ वर्षको १० र १५–१९ वर्षको १०.२ प्रतिशत छ। यो जनसंख्या ५५–५९ वर्ष नपुग्दासम्म उत्पादनशील र आर्थिक रूपमा सक्रिय हुन्छ। जनसंख्याको यो एउटा सुन्दर पक्ष हो।   

विज्ञका अनुसार सन् १९९२ देखि युवाको संख्या वृद्धिको लक्षण देखिएको हो। जसलाई जनसांख्यिक लाभांश भनिन्छ। यो समय जापानमा ५५ वर्ष थियो। नेपालमा पनि १९९२ देखि २०४७ सम्म गरी ५५ वर्ष जनसांख्यिक लाभांशको समय छ भन्ने गरिन्छ। त्यसपछि हाम्रो समाज बुढ्यौलीतर्फ प्रवेश गर्दछ। हामीले जनसांख्यिक लाभांश अर्थात् युवा जनसंख्याको बाहुल्य भएको समयको २९ वर्ष गुजारेका छौं। अब २५–२६ वर्ष अवधिमा युवा जनसंख्यालाई उपभोग गरेर सबै आर्थिक सूचकलाई उच्च बिन्दुमा पुर्‍याउनुपर्छ। त्यसपछिका वर्षमा ज्येष्ठ नागरिकको जनसंख्या उच्च हुन्छ। ​​​​​​त्यसबेला वृद्धआश्रित अनुपात उच्च बिन्दुमा पुगेको हुन्छ। हरेक युवाले उपार्जन गरेको आर्थिक स्रोत घरका ज्येष्ठ सदस्यको लालनपालनमा खर्च हुन्छ। यस्तो बेला आर्थिक उत्पादनमा ठूलो रकम लगाउन सकिँदैन। त्यसैले अहिले नै देश विकासमा मानव स्रोतको भरपुर उपयोग गर्नुपर्छ। समयले नेपाललाई यस्तो अवसर दिएको छ जसलाई गुमाए ‘सुनौलो युग’ भनेर चिनिने जनसांख्यिक लाभांशको समय यत्तिकै खेर जानेमा द्विविधा छैन।

(अधिकारी जनसंख्यासम्बन्धी अनुसन्धानकर्ता हुन्।) 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.