निजी क्षेत्रलाई काम गर्ने वातावरण माग

‘राजनीतिक व्यवस्था बदल्यौं तर राजनीति र कर्मचारी तन्त्रमा परिवर्तन आएन,’ उनले भने, ‘हामी पञ्चायत हुँदै गणतन्त्रसम्म आइपुग्यौं तर हाम्रो कर्मचारीतन्त्रको काम गर्ने शैली पञ्चायतकालीन नै छ।’
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले सरकारबाट नीजि क्षेत्रलाई सम्मान नगरिएपनि काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्। सरकारले निजीक्षेत्रको सम्मान नगरेसम्म देश आर्थिक रुपमा सबल हुन नसक्ने पनि उनले बताए।
सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघको छैठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले तीन तहको सरकार चलाउन निजी क्षेत्रको ठूलो सहयोग रहेको सुनाए। एउटा कम्पनी दर्ता गर्न ३ दर्जन सरकारी निकायमा पुगेर हात जोड्दै हिड्नुपर्ने अवस्था रहेको उनले बताए। ‘राजनीतिक व्यवस्था बदल्यौं तर राजनीति र कर्मचारी तन्त्रमा परिवर्तन आएन,’ उनले भने, ‘हामी पञ्चायत हुँदै गणतन्त्रसम्म आइपुग्यौं तर हाम्रो कर्मचारीतन्त्रको काम गर्ने शैली पञ्चायतकालीन नै छ।’
कुनै पनि मुलुकमा राजनीतिक क्रान्ति हुँदा आर्थिक व्यवस्थाका साथै सरकार र कर्मचारीतन्त्रको कार्यशैली बदलिने बताए। तर यहाँ कुनै पनि कार्यशैलीमा परिवर्तन नआएको उनको गुनासो थियो।
उद्योगी व्यवसायीले अहिले पनि राजा महेन्द्रको पालाको २०१९ सालको कानूनको अधिनमा रहेर व्यापार व्यवसाय गर्नुपरेको भन्दै कालोबजारी ऐनजस्ता झण्झटिला कानून तत्काल परिवर्तन गरिनुपर्ने उनको तर्क थियो। ‘हामी अहिले बैंक विरुद्ध आन्दोलनमा छौं तर हाम्रा लागि त्यो भन्दा ठूलो समस्या नीति नियममा देखिएका समस्या छन्,’ उनले भने, ‘अहिले नियामक निकायले बैंकलाई विना लगाम छाडिदिँदा समस्या आएको छ। सरकार र राष्ट्रबैंक निजी क्षेत्रमैत्री हुनु जरुरी छ।’ सरकार र राष्ट्रबैंकले उच्च व्याजदर घटाउन सक्ने बताए।
प्रतिक्रिया दिनुहोस !
