सगरमाथा आरोहण अनुमति सुरु, १५ जनाको आरोही समूहले पाए अनुमति
काठमाडौं : यस वर्षको वसन्तकालीन यामको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजदेखि आरोहण अनुमति दिन सुरु गरिएको छ।
पर्यटन विभागका अनुसार यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पहिलो १५ जनाको आरोही समूहले आरोहण अनुमति लिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सगरमाथा आरोहणमा जाने पहिलो आरोही समूहको टिमलिडरलाई आरोहणको अनुमति दिएको पर्यटन विभागले जनाएको छ।
सगरमाथाको एकसहित आजसम्म अन्य विभिन्न हिमाल आरोहणका लागि १० आरोही समूहले अनुमति लिएको विभागका निर्देशक खतिवडाले जानकारी दिए। विभागका अनुसार वसन्तकालीन याममा विभिन्न हिमालका लागि धमाधम आरोहण अनुमति जारी भइरहेको छ। सगरमाथाबाहेक अन्य हिमाल आरोहणका लागि हालसम्म ५३ जनाले अनुमति लिएका छन्।
आरोहीहरूले सुर्मा सरोवर, अन्नपूर्ण, पाङ्ग्री गोलदुम्बा, मनास्लु, थोराङपिक हिमाल आरोहण अनुमति लिएका छन्। अनुमति लिनेमध्ये ३६ पुरुष र १७ महिला छन्। यो वर्षको वसन्तकालीन यामका लागि यही चैत ३ देखि आरोहण अनुमति दिन सुरु गरिएको थियो। वैशाखको तेस्रो सातादेखि सगरमाथा आरोहण सुरु हुन्छ।
वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। यो सिजनमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन्। सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि अहिले आरोहण अनुमति लिएर आरोही गन्तव्यतिर निस्किएका छन्।