१० वर्ष नपुग्दै ५४ हजार जनाको विवाह, झण्डै ८० लाख अविवाहित
काठमाडौंः नेपालको जनगणना २०७८ अनुसार १० वर्ष नपुग्दै विवाह गर्नेको संख्या अझै धेरै रहेको पाइएको छ। १० वर्ष उमेर नपुग्दै ५४ हजार तीन सय ४८ जनाको विवाह भएको देखिएको छ। जसअन्तर्गत ४५ हजार ७७३ जना महिला र ८ हजार ५७५ पुरुष रहेका छन्।
यसैगरी देशभर झण्डै ८० लाख जनाले विवाह नगरेको देखिएको छ। जसमध्ये पुरुष ४४ लाख २ हजार ९६२ र महिला ३५ लाख ३३ हजार ३६ रहेका छन्। यो वैवाहिक स्थिति अनुसारको जनसंख्या हो।
यस्तै १ करोड ४८ लाख ९ हजार २९४ जनाले विवाह गरेका छन्। विवाह गरेका पुरुष ६८ लाख १० हजार ४२ र महिला ७९ लाख ९९ हजार २५२ जना रहेको जनगणनामा उल्लेख छ।
यस जनगणनामा देशका हरेक परिवारमा अक्सर बसोबास गर्ने १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरूको वैवाहिक स्थिति सम्बन्धी प्रश्न समावेश गरिएको थियो।
सो अनुसार प्राप्त नतिजाले १० वर्ष वा सोभन्दा बढी उमेरका कुल २ करोड ३९ लाख ५८ हजार ८६८ जनामध्ये ३३.१ प्रतिशत अविवाहित रहेका छन्।
१० वर्षभन्दा माथिल्लो उमेरका पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत अविवाहित रहेको पाइएको छ। १० वर्ष माथिका व्यक्तिहरूमध्ये ६१.८ प्रतिशत विवाहित देखिएको छ।